[1] उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागे र बेथानीमा आउनुभयो, येशूले आफ्ना चेलाहरूमध्ये दुईजनालाई
[2] यसो भन्दै पठाउनुभयो, “तिमीहरूका सामुन्नेको गाउँमा जाओ; र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
[3] यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, अनि केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ ”
[4] तिनीहरू गए अनि सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउँदै गर्दा,
[5] त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?”
[6] तिनीहरूले येशूले भन्नुभएझैं जवाफ दिए; अनि ती मानिसहरूले तिनीहरूलाई जानदिए।
[7] जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, अनि तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, उहाँ त्यसमाथि बस्नुभयो।
[8] धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिँदै गए, अनि अरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए।
[9] ती अघि-अघि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे, “होसन्ना!” “उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!”
[10] “हाम्रा पिता दाविदको आउने राज्य धन्यको हो!” “परमधाममा होसन्ना!”
[11] येशू यरूशलेममा पसेर मन्दिरमा जानुभयो। उहाँले चारैतिर सब कुरा हेर्नुभयो, तर अबेर भइसकेकोले उहाँ बाह्रजनासित बेथानीमा जानुभयो।
[12] भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदैगर्दा येशू भोकाउनुभयो।
[13] केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन, किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन।
[14] तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अबदेखि उसो तँबाट कसैले फल नखाओस्।” अनि उहाँका चेलाहरूले उहाँले यसो भन्नुभएको सुनेका थिए।
[15] यरूशलेम पुगेपछि येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, अनि त्यहाँ किनबेच गर्नेहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो।
[16] अनि मन्दिरका चोकहरूबाट व्यापारका सामानहरू यताउता लान दिनुभएन।
[17] अनि उहाँले तिनीहरूलाई सिकाउनुहुँदा, यसो भन्नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूको लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको ओडार’ बनाएका छौ।”
[18] मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूले यो सुने, अनि उहाँलाई मार्ने उपाय खोज्न थाले; किनकि सम्पूर्ण भीड उहाँका शिक्षामा छक्क परेको हुनाले तिनीहरू उहाँदेखि डराउँथे।
[19] साँझ परेपछि येशू र उहाँका चेलाहरू शहरबाहिर जानुभयो।
[20] बिहान उहाँहरू जाँदै गर्नुहुँदा, उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैदेखि सुकेको देख्नुभयो!
[21] पत्रुसले सम्झिए अनि येशूलाई भने “हे गुरु, हेर्नुहोस्! तपाईंले सराप्नुभएको अञ्जीरको रूख त सुकेछ!”
[22] येशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
[23] म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ अनि आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ त्यो पूरा हुन्छ भनेर विश्वास गर्यो भने, यो उसको लागि गरिनेछ।
[24] यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै मागे तापनि तिमीहरूले ती पायौ भनी विश्वास गर, अनि त्यो तिमीहरूको हुनेछ।
[25] अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने, उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गरिदिऊन्।
[26] तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।”
[27] उहाँहरू फेरि यरूशलेममा आइपुग्नुभयो, अनि येशू मन्दिरका चोकहरूमा हिँडिरहनुभएको बेला मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरू उहाँकहाँ आए।
[28] तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि यी कुराहरू गर्नु भनी तिमीलाई यो अधिकार कसले दियो?”
[29] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई जवाफ देओ, अनि म तिमीहरूलाई म कसको अधिकारले यी कुराहरू गरिरहेको छु भनेर भन्नेछु।
[30] यूहन्नाको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाट? मलाई भन!”
[31] तब तिनीहरूले आपसमा बहस गरे, अनि भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौं भने, उनले हामीलाई ‘त्यसो भए तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ?’ भनी भन्नेछन्।
[32] तर यदि हामीले ‘मानिसहरूबाट’ भनौं भने” (तिनीहरू मानिसहरूदेखि डराउँथे, किनकि हरेकले यूहन्नालाई साँच्चै अगमवक्ता भनी मान्थे।)
[33] त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौं।” अनि येशूले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ।”