[1] अब निस्तार चाड र अखमीरी रोटीको चाड आउन दुई दिन मात्र थियो, अनि मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई धूर्ततापूर्वक पक्रेर मार्ने मौका खोजिरहेका थिए।
[2] तिनीहरूले भने, “तर चाडको समयमा त होइन, नत्र ता मानिसहरूले दङ्गा मच्चाउलान्।”
[3] जुन बेला उहाँ बेथानीमा, सिमोन कोरीको घरमा खान बस्नुभएको थियो, एउटी स्त्री संगमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् अनि त्यो अत्तर उहाँको शिरमा खन्याइन्।
[4] त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको?
[5] यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे।
[6] येशूले भन्नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? यसले मेरो लागि एउटा असल काम गरेकी छ।
[7] गरिबहरू त सधैं तिमीहरूसित हुनेछन्, अनि तिमीहरूले तिनीहरूलाई जहिले चाहे पनि सहायता गर्न सक्छौ। तर मलाई त तिमीहरूले सधैं पाउनेछैनौ।
[8] यसले जे गर्न सक्थी, त्यो गरेकी छ। यसले त मेरो शरीरमा अत्तर खन्याएर मेरो दफनको तयारी अघिबाटै गरेकी छ।
[9] म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिनेछ, यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनाको निम्ति भनिनेछ।”
[10] अनि बाह्रजनामध्येको एकजना यहूदा इस्करियोत मुख्य पूजाहारीहरूकहाँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई गयो।
[11] यसकारण तिनीहरू यो सुनेर खुशी भए अनि त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
[12] अखमीरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंको निम्ति निस्तार चाडको भोज तयार पारौं भन्ने तपाईं चाहनुहुन्छ?”
[13] यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुईजनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “शहरभित्र जाओ, अनि गाग्रोमा पानी बोकिरहेको एकजना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ।
[14] त्यो जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुना कोठा कहाँ छ, कहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’
[15] उसले तिमीहरूलाई माथिल्लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहीं हाम्रो लागि तयार गर।”
[16] ती चेलाहरू शहरभित्र गए, अनि येशूले तिनीहरूलाई भन्नुभएझैं भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।
[17] जब साँझ पर्यो, येशू बाह्रै जनासित आइपुग्नुभयो।
[18] जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले, अर्थात् मसित खाइरहनेहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”
[19] तिनीहरू दुःखित भए, अनि हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्चय म ता होइनँ?”
[20] उहाँले भन्नुभयो, “त्यो बाह्रजनामध्येको एक हो, जसले रोटी थालमा मसित चोप्दछ।
[21] मानिसका पुत्र ता उनको विषयमा लेखिएअनुसार नै जानेछन्, तर धिक्कार त्यस मानिसलाई जसले, मानिसको पुत्रलाई धोका दिनेछन्! त्यो ता नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
[22] जब उहाँहरू खाइरहनुभएको थियो, येशूले रोटी लिएर धन्यवाद दिनुभयो, अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “यो लेओ; यो मेरो शरीर हो।”
[23] त्यसपछि उहाँले कचौरा लिनुभयो, धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो, अनि तिनीहरू सबैले त्यसबाट पिए।
[24] तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैको लागि बहाइन्छ।
[25] म साँच्चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जबसम्म परमेश्वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ।”
[26] एउटा भजन गाइसक्नुभएपछि, उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
[27] येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालालाई हिर्काउनेछु, अनि भेडाहरू तितरबितर हुनेछन्।’
[28] तर म जीवित भई उठेपछि, म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।”
[29] पत्रुसले घोषणा गरे, “सबैले त्यागे तापनि म त्याग्नेछैनँ।”
[30] येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आजै राती दुईपल्ट भाले बास्नुअघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
[31] तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले पनि त्यसै भने।
[32] त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीं बस।”
[33] उहाँले पत्रुस, याकोब र यूहन्नालाई आफूसित लानुभयो, अनि उहाँ शोकित र विचलित हुनुभयो।
[34] उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण दुःखले मरेतुल्य भएको छ। यहीं बस, अनि जागा रहो।”
[35] अलि पर गईकन, उहाँले भुइँमा घोप्टेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो।
[36] उहाँले भन्नुभयो, “हे अब्बा, पिता, तपाईंबाट सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छाअनुसार होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
[37] तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, अनि तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी निदाइरहेका छौ? के तिमी एक घण्टा पनि जागा रहन सकेनौ?
[38] जागा रहो अनि प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा त तयार छ, तर शरीर कमजोर छ।”
[39] उहाँ फेरि पर जानुभयो र त्यही प्रार्थना गर्नुभयो
[40] जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। तिनीहरूले उहाँलाई के भन्ने हो जानेनन्।
[41] उहाँ तेस्रोपल्ट फर्किआउनुभयो, अनि तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका अनि विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसका पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछन्।
[42] उठ! हामी जाऔं! हेर मलाई पक्राइदिने आउँदैछ!”
[43] उहाँ बोल्नुहुँदाहुँदै, बाह्रजनामध्येको एकजना, यहूदा देखा पर्यो। ऊसित मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूद्वारा पठाइएको भीड तरवार र लाठीहरू लिएर आएको थियो।
[44] अब त्यस धोकेबाजले तिनीहरूसित एउटा सङ्केत मिलाएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र अनि सुरक्षासाथ लैजाओ।”
[45] यहूदा तुरुन्तै येशूकहाँ गयो, अनि “गुरु!” भनेर उहाँलाई म्वाइँ खायो।
[46] अनि ती मानिसहरूले येशूलाई पक्रे, र गिरफ्तार गरे।
[47] तब त्यहाँ छेउमा उभिरहनेहरूमध्ये एक जनाले तरवार झिकेर प्रधान पूजाहारीको सेवकलाई प्रहार गर्यो र उसको कान च्वाट्टै काटिदियो।
[48] येशूले भन्नुभयो, “के मैले राजद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू तरवार र लाठीहरू लिएर मलाई पक्रन आउनुभयो?
[49] म ता दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, अनि तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनालाई यसो भएको हो।”
[50] तब सबैले उहाँलाई त्यागेर भागे।
[51] एकजना सुती लुगामात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते,
[52] त्यो आफ्नो लुगा छोडेर नाङ्गै भाग्यो।
[53] तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, अनि सबै मुख्य पूजाहारीहरू, प्रधानहरू अनि व्यवस्थाका शिक्षकहरू एकसाथ आए।
[54] पत्रुसले उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पूजाहारीको चोकसम्मै गए। त्यहाँ तिनले सिपाहीहरूसित बसेर आगो ताप्नथाले।
[55] मुख्य पूजाहारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नको लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए, तर तिनीहरूले एउटै पनि पाएनन्।
[56] धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूका बयान आपसमा मिलेन।
[57] तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए:
[58] “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर म बनाउनेछु’ भनेको हामीले सुन्यौं।”
[59] तर तिनीहरूका गवाही पनि आपसमा मिलेन।
[60] तब प्रधान पूजाहारीले तिनीहरूका सामुन्ने उभिएर येशूलाई सोधे, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”
[61] तर येशू चूप रहनुभयो, अनि केही जवाफ दिनुभएन। प्रधान पूजाहारीले फेरि उहाँलाई सोधे, “के तँ परमधन्यका पुत्र ख्रीष्ट होस्?”
[62] येशूले भन्नुभयो, “म हुँ, अनि तपाईंहरूले मानिसका पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसिरहेका र आकाशका बादलहरूमा आइरहेका देख्नुहुनेछ।”
[63] प्रधान पूजाहारीले आफ्ना वस्त्रहरू च्याते अनि सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो?
[64] तिमीहरूले ईश्वरनिन्दा सुनिहाल्यौ। तिमीहरूको के विचार छ?” तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए।
[65] तब कसैले उहाँलाई थुक्न थाले; तिनीहरूले उहाँका आँखा छोपिदिए, मुक्का लगाए, र भने, “अगमवाणी गर!” अनि सिपाहीहरूले उहाँलाई लगेर पिट्न थाले।
[66] त्यस बेला पत्रुस तल चोकमा हुँदा, प्रधान पूजाहारीका सेविकाहरूमध्ये एउटी त्यहाँ आई।
[67] जब त्यसले पत्रुसलाई आगो तापिरहेको देखी, त्यसले तिनलाई ध्यानसित हेरी। तब त्यसले भनी, “तिमी पनि नासरतका येशूसित थियौ।”
[68] तर तिनले अस्वीकार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म ता केही जान्दिनँ।” अनि तिनी बाहिरको मूलढोकातिर गए।
[69] जब त्यस सेविकाले तिनलाई त्यहाँ देखी, त्यसले त्यहाँ उभिरहेकाहरूलाई फेरि भनी, “यो मानिस तिनीहरूमध्येकै एकजना हो।”
[70] तिनले फेरि पनि इन्कार गरे। केही समय बितेपछि, त्यहाँ छेउमा उभिनेहरूले पत्रुसलाई भने, “निश्चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिमी गालीली हौ।”
[71] तिनले आफूलाई धिक्कार्दै शपथ खाएर भने, “म तिमीहरूले भनिरहेको मानिसलाई चिन्दिनँ।”
[72] तुरुन्तै भाले दोस्रोपल्ट बास्यो। तब पत्रुसले उनलाई येशूले भन्नुभएको त्यो वचन सम्झे: “दुईपल्ट भाले बास्नुअघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” अनि तिनी धुरुधुरु रोए।