[1] तीन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
[2] विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
[3] जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
[4] येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ ? मेरो समय अझ आइसकेको छैन ।”
[5] उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्नुहुन्छ, त्यही गर” ।
[6] त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए ।
[7] येशूले तिनीहरूलाई भन्नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
[8] तब उहाँले नोकरहरूलाई भन्नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।
[9] मुख्य व्यक्तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए
[10] र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”
[11] गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे ।
[12] यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।
[13] यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।
[14] उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।
[15] त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।
[16] परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”
[17] उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोशले मलाई जलाउँछ ।”
[18] तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न देखाउँछौ ?”
[19] येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तीन दिनमा म यसलाई खडा गर्नेछु ।”
[20] तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तीन दिनमा बनाउने ?”
[21] तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।
[22] त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्नुभएको यो कुरा उहाँका चेलाहरूले सम्झे र तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको यो भनाइमाथि विश्वास गरे ।
[23] उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्नहरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्वास गरे ।
[24] तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्नुहुन्थ्यो,
[25] किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्ने उहाँ जान्नुहुन्थ्यो ।