Skip to content
Opens in a new window
Listen to this chapter • 6:32

[1] निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्‍युबाट जीवित पार्नुभएका लाजरस थिए ।

[2] त्‍यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको भोजन तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्‍ये एक जना थिए ।

[3] तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्‍यो घर अत्तरको सुगन्धले भरियो ।

[4] उहाँका चेलाहरूमध्‍ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्‍यसले भन्‍यो,

[5] “यो अत्तर तीन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन ?”

[6] त्‍यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्‍यो चोर भएकोले भनेको हो । त्‍यससँग पैसाको थैलो हुन्‍थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।

[7] येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्‍यो राख्‍न देऊ ।

[8] गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन्, तर म तिमीहरूसँग सधैं हुनेछैनँ ।”

[9] अब यहूदीहरूको ठूलो भीडले येशू त्‍यहाँ हुनुहुन्‍छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्‍युबाट जीवित पार्नुभएको थियो ।

[10] मुख्य पूजाहारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।

[11] किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएका थिए र येशूमा विश्‍वास गरेका थिए ।

[12] अर्को दिन चाडमा ठूलो भीड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्‍छ भन्‍ने तिनीहरूले सुने,

[13] तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना ! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्‍यको हुनुहुन्‍छ ।”

[14] येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्‍यसमाथि चढ्नुभयो, जस्‍तो यो लेखिएको थियो,

[15] “सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्‍छ ।”

[16] उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।

[17] उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्‍युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भीडले गवाही दियो ।

[18] यही कारणले गर्दा पनि भीडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न‍ गर्नुभयो भन्‍ने तिनीहरूले सुने ।

[19] यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्‍यसको पछि लागेको छ ।”

[20] अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्‍ये केही ग्रीकहरू पनि थिए ।

[21] यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “हजुर, हामी येशूलाई भेट्न चाहन्‍छौँ ।”

[22] फिलिपले गएर अन्‍द्रियासलाई भने । अनि अन्‍द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।

[23] येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।

[24] साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, गहुँको दाना जबसम्म माटोमा परेर मरेन भने, त्यो आफै एउटै रहन्‍छ, तर यदि त्‍यो मर्यो भने त्यसले धेरै फल फलाउनेछ ।

[25] जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्‍यसले त्‍यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्‍यसले यो अनन्‍त जीवनको लागि सुरक्षित राख्‍नेछ ।

[26] यदि कसैले मेरो सेवा गर्छ भने, त्‍यसले मलाई पछ्याओस्, र म जहाँ हुन्‍छु त्‍यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्‍यसको आदर गर्नुहुनेछ ।

[27] अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस् ? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।

[28] हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”

[29] तब उहाँको छेउमा उभिने भीडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्‍यो भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।”

[30] येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।”

[31] अब यो संसारको न्‍याय हुन्‍छ, अब यस संसारको शासक फ्याँकिनेछ ।

[32] अनि जब म पृथ्वीबाट उचालिन्‍छु, म सबैलाई आफूतिर खिँच्‍नेछु ।”

[33] कस्तो किसिमको मृत्‍यु मर्दै हुनुहुन्‍छ भन्‍ने सङ्‌केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।

[34] भीडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौं, कि ख्रीष्‍ट सधैं रहनुहुनेछ । तपाईं कसरी भन्‍नुहुन्‍छ, ‘मानिसका पुत्र उचालिनुपर्छ ?’ यो मानिसका पुत्र को हो ?”

[35] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्‍योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्‍योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्‍यो कहाँ जाँदै छ भनी त्‍यसलाई थाहा हुँदैन ।

[36] तिमीसँग ज्‍योति हुँदा नै त्‍यो ज्‍योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्‍योतिको सन्‍तान हुन सक ।” येशूले यी कुराहरू भन्‍नुभयो र त्‍यसपछि उहाँ त्‍यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्‍नुभयो ।

[37] तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् ।

[38] यशैया अगमवक्‍ताको वचन पूरा होस् भनेर यसो भएको थियो । तिनी भन्‍दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ ?”

[39] यसैकारण, तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,

[40] “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”

[41] यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।

[42] तरै पनि शासकहरूमध्‍ये धेरैले येशूमा विश्‍वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।

[43] तिनीहरूले परमेश्‍वरबाट आउने प्रशंसा भन्‍दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।

[44] येशूले ठूलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्‍यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,

[45] र जसले मलाई देख्‍छ त्‍यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”

[46] म संसारमा ज्‍योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्‍यो अन्धकारमा नरहोस् ।

[47] यदि कसैले मेरो वचन सुन्‍छ, तर त्‍यसको पालना गर्दैन भने म त्‍यसको न्‍याय गर्दिनँ, किनकि म संसारको न्‍याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।

[48] जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्‍यसको न्‍याय गर्ने एक जना हुनुहुन्‍छः मैले बोलेको मेरो वचनले नै अन्‍त्‍यको दिनमा त्‍यसको न्‍याय गर्नेछ ।

[49] किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्‍छ, जसले मैले के बोल्ने र के भन्‍ने विषयमा आज्ञा दिनुभएको छ ।

[50] म जान्‍दछु, कि उहाँको आज्ञा अनन्‍त जीवन हो । त्‍यसैले, म त्‍यही भन्‍छुः पिता मसँग जस्‍तो बोल्नुभएको छ, म त्‍यस्तै बोल्दछु।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters