Skip to content
Opens in a new window
Listen to this chapter • 4:34

[1] तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

[2] तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।

[3] तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् ।

[4] मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्‍यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ ।

[5] तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्‍छ ?’ भनी मलाई सोध्दैनौ ।

[6] तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ ।

[7] म तिमीहरूलाई साँचो भन्‍दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।

[8] जब सल्लाहकार आउनुहुन्‍छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्‍यायको बारेमा गलत साबित गर्नुहुनेछ–

[9] पापको बारेमा, किनभने तिनीहरूले ममा विश्‍वास गर्दैनन्;

[10] धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्‍त तिमीहरूले मलाई देख्‍नेछैनौ;

[11] अनि न्‍यायको बारेमा, किनकि यस संसारको शासकको न्‍याय गरिएको छ ।

[12] मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ ।

[13] तर जब उहाँ अर्थात् सत्‍यको आत्मा आउनुहुन्‍छ, उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।

[14] उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्‍यहीबाट लिनुहुन्‍छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ ।

[15] पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्‍यहीबाट लिनुहुन्‍छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।

[16] अब उप्रान्‍त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।

[17] तब उहाँका चलाहरूमध्‍ये केहीले एक आपसमा भने “‘अब उप्रान्‍त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो ?”

[18] त्‍यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको ? उहाँले केको बारेमा बताउँदै हुनुहुन्‍छ ? सो हामी जान्‍दैनौ ।”

[19] तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनें ‘अब उप्रान्‍त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।”

[20] म तिमीहरूलाई साँचो साँचो भन्‍दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्‍दमा बद्‌लिनेछ ।

[21] जब स्‍त्रीले जन्‍म दिन्‍छिन्, तिनी निराश हुन्‍छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्‍माउँछिन्, संसारमा एक बालक जन्‍मिएको छ भन्‍ने आनन्‍दले तिनलाई पीडाको सम्झना हुँदैन ।

[22] त्‍यसैले तिमीहरू पनि अहिले निराश हुन्‍छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्‍द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।

[23] त्‍यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।

[24] अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्‍द पूर्ण होस् ।

[25] मैले तिमीहरूलाई यी कुराहरू आलङ्‌कारिक भाषामा भनेको छु, तर मैले आलङ्‌कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउने समय आउँदै छ ।

[26] त्‍यस दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्‍दिनँ,

[27] किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्‍छ ।

[28] म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।”

[29] उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्‍छ अनि तपाईंले अस्पष्ट भाषा प्रयोग गरिरहनुभएको छैन ।

[30] अब हामी जान्‍दछौँ, कि तपाईं सबै थोक जान्नुहुन्‍छ, अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन । त्‍यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।”

[31] येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ ?

[32] हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्‍यो समय आइसकेको छ । तरै पनि म एक्लो छैनँ, किनभने पिता मसँग हुनुहुन्‍छ ।

[33] मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्‍ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्‍छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters