Skip to content
Opens in a new window
Listen to this chapter • 6:33

[1] लाजरस नाम गरेका मानिस बिरामी थिए । तिनी तिनकी दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए ।

[2] यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।

[3] यी दुई दिदी-बहिनीले येशूलाई बोलाउन पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई प्रेम गर्नुहुन्‍छ तिनी बिरामी छन् ।”

[4] जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिरामीले मृत्‍युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”

[5] येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्‍थ्यो ।

[6] त्‍यसैले, जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, उहाँ अरू दुई दिन त्‍यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्‍थ्यो ।

[7] यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।”

[8] चेलाहरूले उहाँलाई भने, “रब्बी, भर्खरै मात्र यहूदीहरूले तपाईंलाई ढुङ्‌गा हान्‍न खोजिरहेका थिए र तपाईं फेरि त्‍यहीँ फर्केर जाँदै हुनुहुन्‍छ ?”

[9] येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्‍यालो हुँदैन र ? यदि कोही दिनको समयमा हिँड्छ भने त्‍यसलाई ठेस लाग्दैन, किनकि त्‍यसले यस संसारको उज्‍यालोको सहायताले देख्छ ।

[10] तापनि त्‍यो राति हिँड्छ भने त्‍यसलाई ठेस लाग्छ, किनकि त्‍यसमा उज्‍यालो हुँदैन ।”

[11] उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”

[12] यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन् ।”

[13] अहिले येशूले तिनको मृत्‍युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको छ भन्‍ने तिनीहरूले सोचे ।

[14] त्‍यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेको छ ।

[15] म त्‍यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । हामी तिनीकहाँ जाऔँ ।”

[16] दिदुमस भनिने थोमाले उनका सङ्‌गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।”

[17] जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।

[18] बेथानिया यरूशलेमबाट नजिकै करिब तिन किलोमिटर दुरीमा पर्थ्यो ।

[19] धेरै यहूदीहरू मरियम र मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्‍त्वना दिन आएका थिए ।

[20] जब मार्थाले येशू आउँदै हुनुहुन्‍छ भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिँ घरमा नै बसिरहेकी थिइन् ।

[21] त्‍यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएन।

[22] म जान्‍दछु, कि अहिले पनि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्‍छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।”

[23] येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”

[24] मार्थाले उहाँलाई भनिन्, “म जान्‍दछु, कि तिनी अन्‍त्‍यको दिनको पुनरुथानमा फेरि जीवित भइ उठ्नेछ।”

[25] येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्‍यो मरे तापनि जीवित हुनेछ ।

[26] जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्‍यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्छ्यौ ?”

[27] तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्‍वरका पुत्र अर्थात् ख्रीष्‍ट हुनुहुन्‍छ ।”

[28] जब तिनले यो भनिन्, तिनी त्‍यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्‍यू यहाँ हुनुहुन्‍छ र तिमीलाई बोलाउँदै हुनुहुन्‍छ ।”

[29] जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।

[30] येशू अझै पनि त्‍यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्‍यही ठाउँमा हुनुहुन्‍थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।

[31] त्‍यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्‍त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे ।

[32] त्‍यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।”

[33] जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो ।

[34] उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”

[35] येशू रुनुभयो ।

[36] त्‍यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति प्रेम गर्नुहुन्‍थ्यो !”

[37] तर तिनीहरूमध्‍ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो र ?”

[38] त्‍यसपछि फेरि येशू आत्मामा आफै अति विचलित हुनुभयो, र चिहानतिर जानुभयो । यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्‌गाले ढाकेको थियो ।

[39] येशूले भन्‍नुभयो, “ढुङ्‌गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।”

[40] येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ ?”

[41] त्‍यसैले, तिनीहरूले ढुङ्‌गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्‍नुभयो, “हे पिता, मेरो बिन्‍ती सुन्‍नुभएकोमा म तपाईंलाई धन्‍यवाद दिन्‍छु ।

[42] म जान्‍दथेँ, तपाईंले मेरो बिन्‍ती सधैं सुन्‍नुहुन्‍छ, तर मेरो वरिपरि उभिरहेका यो भीडको कारण मैले यो भनें, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।”

[43] उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठूलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर निस्की आऊ !”

[44] मरेको मानिस बाहिर निस्की आयो, त्‍यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्‍यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसलाई खोलिदेओ, र त्‍यसलाई जान देओ ।”

[45] त्‍यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे ।

[46] तर तिनीहरूमध्‍ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए ।

[47] त्‍यसपछि मुख्य पूजाहारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने ? यस मानिसले धेरै चिह्न‍हरू गरिरहेछ ।

[48] यदि हामीले यसलाई यसरी नै छोडिदियौं भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो पवित्रस्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन् ।”

[49] तैपनि तिनीहरूमध्‍ये कैयाफा नामका मानिस जो त्‍यस वर्ष प्रधान पूजाहारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्‍दैनौ ।

[50] सम्पूर्ण राष्‍ट्र नै नष्‍ट हुनु भन्‍दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्‍दैनौ ।”

[51] अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्‍यस वर्षका प्रधान पूजाहारी भएको कारणले येशू राष्‍ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए ।

[52] राष्‍ट्रको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्‍तानहरूसँगै एक होऊन् भनेर पनि हो ।

[53] त्‍यसैले, त्‍यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले ।

[54] येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन, तर उहाँ त्‍यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्‍यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो ।

[55] अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै जना आफैलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए ।

[56] तिनीहरूले येशूलाई खोजिरहेका थिए । तिनीहरू मन्‍दिरमा खडा भइरहँदा एक-आपसमा भन्‍दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ ? उनी चाडमा आउने छैनन् र ?”

[57] अहिले मुख्य पूजाहारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्‍थ्यो भनी जान्‍दथ्यो भने, त्‍यसले त्‍यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters