Skip to content
Opens in a new window
Listen to this chapter • 3:41

[1] म साँचो दाख हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्‍छ ।

[2] ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्‍छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्‍छ, ताकि यसले अझ धेरै फल फलाओस् ।

[3] मैले तिमीहरूलाई भनेको सन्‍देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ ।

[4] ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैले फल फलाउन सक्दैन, त्‍यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।

[5] म दाखको बोट हुँ, र तिमीहरू त्‍यसका हाँगाहरू हौ । जो ममा रहन्‍छ र म त्‍यसमा रहनेछु, त्‍यसले धैरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही पनि गर्न सक्दैनौ ।

[6] यदि कोही ममा रहँदैन भने त्‍यसलाई हाँगालाई झैं फालिन्‍छ र त्‍यो सुक्‍छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्‍छ ।

[7] यदि तिमीहरू ममा रह्यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्‍छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।”

[8] मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ ।

[9] जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्‍यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो ।

[10] तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्‍यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।

[11] मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्‍द तिमीहरूमा होस् र तिमीहरूको आनन्‍द पूर्ण होस् ।

[12] यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें तिमीहरूले एक अर्कालाई त्‍यसरी नै प्रेम गर ।

[13] आफ्नो मित्रको लागि आफ्नो ज्‍यानै दिनु भन्‍दा अर्को कुनै महान् प्रेम छैन ।

[14] यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।

[15] म तिमीहरूलाई नोकरहरू भन्‍दिनँ, किनकि त्‍यसका मालिकले के गरिरहेछ सो नोकरले जान्‍दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु ।

[16] तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, र तिमीहरूलाई नियुक्‍त गरें, ताकि तिमीहरू जाओ, र फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ । त्‍यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।

[17] म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।

[18] यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।

[19] यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैं प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनें, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।

[20] मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्‍यसको मालिक भन्‍दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”

[21] तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्‍दैनन् ।

[22] यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।

[23] जसले मलाई घृणा गर्छ, त्‍यसले मेरा पितालाई पनि घृणा गर्छ ।

[24] यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।

[25] तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’

[26] जब सल्लाहकार आउनुहुन्‍छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्‍यको आत्मा जो पिताबाट आउनुहुन्‍छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।

[27] तिमीहरूले पनि गवाही दिइरहेका छौ, किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters