Skip to content
Opens in a new window
Listen to this chapter • 6:11

[1] तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।

[2] सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए ।

[3] तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।

[4] तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।”

[5] त्‍यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्‍त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर !”

[6] जब मुख्य पूजाहारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्‍यसलाई क्रुसमा टाँग्नुहोस्, त्‍यसलाई क्रुसमा टाँग्नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”

[7] यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्‍यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”

[8] जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,

[9] अनि तिनी फेरि राज्‍यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।

[10] तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन ?”

[11] येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्‍यसको पाप अझ ठूलो हुन्‍छ ।”

[12] यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्‍दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैलाई राजा तुल्याउँछ, त्‍यो कैसरको विरुद्ध बोल्छ ।”

[13] जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्‌गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्‍याय आसनमा बसे ।

[14] निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्‍छ !”

[15] तिनीहरू ठूलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो ?” मुख्य पूजाहारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”

[16] तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।

[17] तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रुस आफै बोकी, “खप्‍परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्‍छ ।

[18] त्‍यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।

[19] पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे । त्‍यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा ।

[20] यहूदीहरूमध्‍ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह हिब्रू, ल्याटिन र ग्रीकमा लेखिएको थियो ।

[21] तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्‍नुहोस् ।”

[22] पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ ।”

[23] सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए । हरेक सिपाहीको लागि एक-एक भाग पर्‍यो र लबेदा पनि । अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो ।

[24] तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्‍यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्‍त्रको वचन पूरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले ।”

[25] सिपाहीहरूले यी कुराहरू गरे । येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए ।

[26] जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा !”

[27] तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा !” त्‍यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे ।

[28] यसपछि येशूले सबै थोक पूरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पूरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”

[29] अमिलो मद्यले भरिएको एउटा भाँडा त्‍यहाँ राखिएको थियो । त्‍यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए ।

[30] जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्‍याग्‍नुभयो ।

[31] यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्‍ने हेतुले (किनकि शबाथ महत्त्‍वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे ।

[32] तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचिदिए ।

[33] जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्‍यु अगि नै भइसकेको देखे । त्‍यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन् ।

[34] तापनि सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो ।

[35] जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्‍य छ । तिनले भनेको सत्‍य हो भनी तिनी जान्‍दछन्, र तिमीहरूले विश्‍वास गर ।

[36] यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पूरा होस्, “उहाँको एउटै पनि हड्‌डी भाँचिनेछैन ।”

[37] फेरि, अर्को धर्मशास्‍त्रले भन्‍छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”

[38] यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्‍यसकारण योसेफ आए, र उहाँको शरीर लगे ।

[39] निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तीस किलो मूर्र र एलवाको मिश्रण ल्याए ।

[40] त्‍यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे ।

[41] अब उहाँलाई क्रुसमा झुण्ड्‌याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्‍यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्‍तिलाई गाडिएको थिएन ।

[42] यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्‍यसैमा राखे ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters