Skip to content
Opens in a new window
Listen to this chapter • 4:21

[1] “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।

[2] मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्‍यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।

[3] म जान्‍छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैसँग लानेछु, ताकि जहाँ म हुन्‍छु तिमीहरू पनि त्‍यहाँ हुनेछौ ।

[4] तिमीहरूले म जहाँ गइरहेको त्‍यो बाटो चिन्‍छौ ।”

[5] थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्‍छ, हामी जान्‍दैनौँ; हामीले बाटो कसरी चिन्‍ने ?”

[6] येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।

[7] यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”

[8] फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्‍यो नै हामीलाई पर्याप्‍त हुनेछ ।”

[9] येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्‍दैनौ ? जसले मलाई देखेको छ त्‍यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ ?”

[10] म पितामा छु र पिता ममा हुनुहुन्‍छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।

[11] म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर ।

[12] साँचो, साँचो, म तिमीहरूलाई भन्‍दछु, जसले ममाथि विश्‍वास गर्छ त्‍यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्‍यसले यी भन्‍दा पनि ठूल्ठूला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।

[13] तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।

[14] यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।

[15] यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।

[16] अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो

[17] सत्‍यका आत्मा हुनुहुन्‍छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्‍दैन । तर तिमीहरू उहाँलाई चिन्‍दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्‍छ र तिमीहरूमा हुनुहुनेछ ।

[18] म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।

[19] तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ। किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।

[20] त्‍यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

[21] जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्‍यही हो, अनि जसले मलाई प्रेम गर्छ त्‍यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्‍यसलाई प्रेम गर्नेछु र म आफै त्‍यसकहाँ देखा पर्छु ।”

[22] यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफै देखा पर्नुहुन्‍छ र संसारको निम्ति चाहिँ देखा पर्नुहुन्‍न ?”

[23] येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्‍यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्‍यसकहाँ आउनेछौँ र त्‍यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”

[24] जसले मलाई प्रेम गर्दैन, त्‍यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।

[25] म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

[26] तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।

[27] म तिमीहरूसँग शान्‍ति छोड्छु; म तिमीहरूलाई मेरो शान्‍ति दिन्‍छु । संसारले जसरी दिन्‍छ त्‍यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।

[28] मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता म भन्‍दा महान् हुनुहुन्‍छ ।

[29] अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।

[30] म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्‍यसको ममाथि केही शक्‍ति छैन,

[31] तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्‍तो आज्ञा गर्नुभएको छ म त्‍यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters