Skip to content
Opens in a new window
Listen to this chapter • 4:28

[1] हप्‍ताको पहिलो दिन सबेरै अँध्‍यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्‌गा हटाइएको देखिन् ।

[2] यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्‍दैनौं।”

[3] तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए ।

[4] तिनीहरू दुवै जना सँगसँगै दौडे, अर्का चेला चाँडै पत्रुस भन्‍दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे ।

[5] तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।

[6] सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्‍यहाँ सुतीका कपडाहरू पडिरहेका देखे,

[7] अनि उहाँको शिरको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै पट्‌ट्‌याइएको थियो ।

[8] त्‍यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे ।

[9] त्‍यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेका थिएनन् ।

[10] यसकारण चेलाहरू फेरि घर गए ।

[11] तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।

[12] तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन् ।

[13] तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”

[14] जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्‍यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्‍छ भनी तिनले चिनिनन् ।

[15] येशूले तिनलाई भन्‍नुभयो, “ए नारी ! तिमी किन रोइरहेकी छ्यौ ? तिमी कसलाई खोज्दै छ्यौ ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “हजुर, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”

[16] येशूले तिनलाई भन्‍नुभयो, “मरियम !” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्‍छ, “गुरु” ) ।

[17] येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”

[18] मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्‍नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखें।”

[19] हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्‍यसका ढोकाहरू बन्‍द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति !”

[20] जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।

[21] तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्‍यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”

[22] जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि श्वास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ ।

[23] तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्‍छन्; जसका पापहरू तिमीहरू क्षमा गर्दैनौ, ती क्षमा हुने छैनन्।”

[24] येशू आउनुहुँदा बाह्र जना चेलामध्‍ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन् ।

[25] पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौं” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्‍यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”

[26] आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्‍द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति !”

[27] त्‍यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”

[28] थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर !”

[29] येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्‍य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन् ।”

[30] यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो,

[31] तर यी चाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters