Skip to content
Opens in a new window
Listen to this chapter • 8:31

[1] यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो ।

[2] एउटा ठूलो भीडले उहाँलाई पच्‍छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए ।

[3] येशू पर्वतमाथि जानुभयो, र त्‍यहाँ उहाँका चेलाहरूसँग बस्‍नुभयो ।

[4] (यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )

[5] येशूले माथितिर हेर्नुभयो र एउटा ठूलो भीड आफूतर्फ आइरहेको देख्‍नुभयो, अनि उहाँले फिलिपलाई भन्‍नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने ?”

[6] (तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभएको थियो, किनकि उहाँ आफैले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैलाई थाहा थियो ।)

[7] फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।”

[8] चेलाहरूमध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियासले येशूलाई भने,

[9] “यहाँ एक जना केटोसँग जौका पाँच वटा रोटी र दुई वटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्‍छन् र ?”

[10] येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ ।” (त्‍यस ठाउँमा धेरै घाँस थियो ।) त्‍यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।

[11] तब येशूले रोटी लिनुभयो र धन्‍यवाद चढाउनुभएपछि उहाँले त्‍यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्‍यसै गर्नुभयो ।

[12] जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”

[13] यसैले तिनीहरूले बटुले, र पाँच वटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्‍ह डाला भरे ।

[14] जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्न‍हरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यो संसारमा आउनुपर्ने अगमवक्‍ता हुनुहुन्‍छ ।”

[15] जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्‍नुभयो ।

[16] जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।

[17] तिनीहरू एउटा डुङ्‌गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्‍यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।

[18] र ठूलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।

[19] जब तिनीहरू डुङ्‌गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्‌गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।

[20] तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ ।”

[21] तब तिनीहरू उहाँलाई डुङ्‌गामा ल्याउन तत्पर भए, र डुङ्‌गा जमिनमा तुरुन्‍तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।

[22] अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भीडले त्‍यहाँ त्‍यो एउटा डुङ्‌गाबाहेक अरू कुनै पनि डुङ्‌गा थिएन, र त्‍यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्‍यहाँबाट गएका थिए भन्‍ने देखे ।

[23] तापनि प्रभुले धन्‍यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्‌गाहरू त्‍यहाँ थिए ।

[24] जब त्‍यस भीडले न त येशू न उहाँका चेलाहरू नै त्‍यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफै डुङ्‌गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।

[25] तिनीहरूले उहाँलाई त्‍यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो ?”

[26] येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।

[27] नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्‍त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”

[28] तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ ?”

[29] येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।”

[30] यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ ? तपाईंले के गर्नुहुनेछ ?

[31] हाम्रा पिता-पूर्खाहरूले उजाड-स्थानमा मन्‍न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो’ ।”

[32] तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्‍छ ।

[33] किनकि परमेश्‍वरको रोटी त्‍यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ ।”

[34] यसैले तिनीहरूले उहाँलाई भने, “हजुर, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”

[35] येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्‍यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्‍वास गर्छ त्‍यो कहिल्यै तिर्खाउनेछैन ।

[36] तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनें र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।

[37] पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्‍चय नै त्‍यसलाई बाहिर फ्याँक्‍नेछैनँ ।

[38] किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्‍छा पूरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई हो ।

[39] र मलाई पठाउनुहुनेको इच्‍छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्‍ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्‍त्‍यको दिनमा जीवित पारूँ ।

[40] किनकि मेरा पिताको इच्‍छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्‍त जीवन पाऊन् र अन्‍तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।”

[41] तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”

[42] तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्‍छौँ ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ ?”

[43] येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”

[44] मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्‍यसलाई अन्‍तिम दिनमा म जीवित पार्नेछु ।

[45] अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।

[46] परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।

[47] साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्‍यससँग अनन्‍त जीवन हुन्‍छ ।

[48] म जीवनको रोटी हुँ ।

[49] तिमीहरूका पिताहरूले मरुभूमिमा मन्‍न खाए, र तिनीहरू मरे ।

[50] यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्‍यो नमरोस् ।

[51] स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्‍छ भने, त्‍यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।”

[52] यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ ?”

[53] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैमा जीवन हुनेछैन ।

[54] मेरो शरीर खाने र रगत पिउनेसँग अनन्‍त जीवन हुन्‍छ र त्‍यसलाई अन्‍त्‍यको दिनमा म जीवित पार्नेछु ।

[55] किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो ।

[56] मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु ।

[57] जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ ।

[58] स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरे जस्‍तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।”

[59] तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्‍नुभयो ।

[60] यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्‍वीकार गर्न सक्छ ?”

[61] उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ ?”

[62] त्‍यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि ?

[63] जीवन दिनुहुने त आत्मा नै हुनुहुन्‍छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।

[64] तैपनि तिमीहरूमध्‍ये कति जनाले विश्‍वास गर्दैनौ ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो ।

[65] उहाँले भन्‍नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनें ।”

[66] यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् ।

[67] तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्‍छौ त ?”

[68] सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु ? अनन्‍त जीवनको वचन तपाईंसँग छ ।

[69] र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ भनी हामीले जानेका छौँ ।”

[70] येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्‍ये एक जनाचाहिँ दुष्‍ट छ ?”

[71] अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्‍ये एक जना उही नै थियो ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters