Skip to content
Opens in a new window
Listen to this chapter • 5:39

[1] यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्‍यकाको अर्कोपट्टि जानुभयो । त्‍यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।

[2] उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्‍यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्‍यस बगैँचामा जानुहुन्‍थ्यो ।

[3] अनि मुख्य पूजाहारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्‍यहाँ आए ।

[4] के भइरहेको थियो भनी सबै थोक जान्‍नुहुने येशू अगाडि आउनुभयो र भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ ?”

[5] तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।

[6] त्‍यसैले, जब येशूले “म उही हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि भूइँमा लोटे।

[7] अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”

[8] येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें, म उही हुँ । त्‍यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”

[9] यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा हुनको निम्ति थियो ।

[10] तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्‍यो थुतेर प्रधान पूजाहारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए । त्‍यस नोकरको नाम माल्खस थियो ।

[11] येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र ?”

[12] त्‍यसैले, सिपाहीहरूको समूह, कप्‍तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।

[13] तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्‍यस वर्षका प्रधान पूजाहारी थिए ।

[14] मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्‍छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।

[15] सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्‍यसै गरे । ती चेलाको प्रधान पूजाहारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पूजाहारीका आँगनभित्र पसे ।

[16] तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए । त्‍यसैले, प्रधान पूजाहारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकामा बस्ने स्त्रीसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए ।

[17] तब ढोकामा बस्ने स्त्रीले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्‍ये एक जना होइनौ र ?” तिनले भने, “म होइनँ ।”

[18] अब नोकरहरू र अधिकारीहरू त्‍यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैलाई न्‍यानो बनाइराखेका थिए । आफूलाई न्‍यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए ।

[19] प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।

[20] येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैं मन्‍दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन ।

[21] तपाईंहरूले मलाई किन सोध्‍नुहुन्‍छ ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्‍दछन् ।”

[22] जब येशूले यो कुरा भन्‍नुभयो, त्‍यहाँ उभिरहेकाहरूमध्‍ये एक जनाले येशूलाई एक मुक्‍का हाने, र भने, “के प्रधान पूजाहारीलाई जवाफ दिने तेरो तरिका त्‍यही हो ?”

[23] येशूले त्‍यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्‍यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ ?”

[24] अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए ।

[25] अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्‍यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्‍यसका चेलाहरूमध्‍येका एक जना होइनौ ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ ।”

[26] अनि प्रधान पूजाहारीका नोकरहरूमध्‍ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र ?”

[27] पत्रुसले फेरि इन्कार गरे र तुरुन्‍तै भाले बास्यो ।

[28] त्‍यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्‍यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्‍यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाडको भोज खान सकून् ।

[29] त्‍यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ ?”

[30] तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ ।”

[31] त्‍यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्‍याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्‍युदण्ड दिनु हाम्रो लागि न्‍यायसङ्‌गत छैन ।

[32] उहाँको मृत्‍यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्‌केत गरेर भन्‍नुभएको उहाँको वचन पूरा होस् भनेर यसो भएको थियो ।

[33] त्‍यसपछि पिलातस फेरि राज्‍यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ ?”

[34] येशूले जवाफ दिनुभयो, “तपाईं आफैले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो ?”

[35] पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र ? तिम्रा आफ्‍नै मानिसहरू र तिम्रा मुख्य पूजाहारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन् । तिमीले के गर्‍यौ ?”

[36] येशूले जवाफ दिनुभयो, “मेरो राज्‍य यो संसारको होइन । यदि मेरो राज्‍य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा पर्नेथिइनँ। तर मेरो राज्‍य यस संसारको होइन ।”

[37] तब पिलातसले उहाँलाई भने, “त्‍यसो भए तिमी राजा नै हौ त ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्‍छ । म यही उद्देश्‍यको निम्ति जन्‍मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्‍यको गवाही दिऊँ । सत्‍यको पक्षमा हुने सबैले मेरो सोर सुन्‍छन् ।”

[38] पिलातसले उहाँलाई भने, “सत्‍य के हो ?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिनँ ।”

[39] तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्‍यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ ?”

[40] तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” बारब्बाचाहिँ एक डाँकू थिए ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters