Skip to content
Opens in a new window
Listen to this chapter • 4:59

[1] “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्‍यो मानिस चोर र डाँकू हो ।

[2] ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।

[3] ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्‍छ । भेडाहरूले उसको सोर सुन्‍छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्‍छन् ।

[4] उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्‍छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।”

[5] तिनीहरूले अपरिचित मानिसलाई पछ्याउनेछैनन्, बरु तिनीहरू त्‍योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितको सोर चिन्‍दैनन् ।”

[6] येशूले यो दृष्‍टान्‍त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।

[7] त्‍यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, म नै भेडाहरूको ढोका हुँ ।”

[8] म भन्‍दा अगि आउनेहरू सबै चोर र डाँकू हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।

[9] म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्‍यो बचाइनेछ; त्‍यो भित्र र बाहिर जानेछ र त्‍यसले चर्ने मैदान भेट्टाउनेछ ।

[10] यदि चोरले नचोर्ने, नमार्ने र नष्‍ट नगर्ने भए, त्‍यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।

[11] म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्‍यान पनि दिन्‍छ ।

[12] भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्‍यसका भेडाहरू हुँदैनन् । त्‍यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्‍छन् र तिनीलाई तितर बितर पार्छन् ।

[13] त्‍यो भाडामा लिएको हुनाले भाग्छ र त्‍यसले भेडाहरूको हेरचाह गर्दैन ।

[14] म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्‍छु र मेरा आफ्नाले मलाई चिन्‍छ्न् ।

[15] पिताले मलाई चिन्‍नुहुन्‍छ र म पितालाई चिन्‍छु र मेरा भेडाहरूका लागि म मेरो ज्‍यान पनि दिन्‍छु ।

[16] मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्‍यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् ।

[17] त्‍यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्‍छः म मेरो ज्‍यान पनि दिन्‍छु, ताकि मैले यसलाई फेरि लिन सकूँ ।

[18] यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफै अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”

[19] यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो ।

[20] तिनीहरूमध्‍ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्‍छौ ?”

[21] अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्‍तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र ?”

[22] त्‍यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।

[23] यो हिउँदको समय थियो र येशू मन्‍दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो ।

[24] तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।”

[25] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।

[26] तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।

[27] मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्, म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्याउँछन् ।

[28] म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन ।

[29] तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबै भन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।

[30] म र पिता एक हौँ ।”

[31] तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्‌गाहरू टिपे ।

[32] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्‌गाले हान्‍दै छौ ?”

[33] यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्‌गाले हान्‍दै छैनौँ, तर ईश्‍वर-निन्‍दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैलाई परमेश्‍वर बनाइरहेका छौ ।”

[34] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनें, ‘तिमीहरू देवहरू हौ’ भन्‍ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन ?”

[35] यदि उहाँले तिनीहरूलाई देवहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो ? (अनि धर्मशास्‍त्रलाई भङ्‌ग गर्न सकिँदैन ।)

[36] तिमीहरू उहाँको बारेमा के भन्दछौ जसलाई पिताले पवित्र तुल्याएर संसारमा पठाउनुभएको छ, मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्‍दा गरिरहेको छस्’ भन्‍छौ ?

[37] यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर ।

[38] तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्‍छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”

[39] तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।

[40] उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्‍यहीँ रहनुभयो ।

[41] धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्‍य रहेछन् ।”

[42] त्‍यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters