Skip to content
Opens in a new window
Listen to this chapter • 5:09

[1] अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्‍थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्‍त्‍यसम्मै प्रेम गर्नुभयो ।

[2] अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।

[3] येशूले जान्‍नुहुन्‍थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्‍थ्यो ।

[4] उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍त्र फुकाल्नुभयो । त्‍यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।

[5] त्‍यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।

[6] उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्‍छ ?”

[7] येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”

[8] पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।”

[9] सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।”

[10] येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्‍यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्‍यो पूर्ण रूपमा शुद्ध हुन्‍छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना त छैनौ ।”

[11] (किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो, त्‍यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )

[12] त्‍यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्‍दछौ ?”

[13] तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्‍छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्‍यही हुँ ।

[14] तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।

[15] किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरे जस्‍तै गर्न सक ।

[16] साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, नोकर आफ्नो मालिक भन्‍दा ठूलो हुँदैन न त समाचारवाहक त्‍यसलाई पठाउने भन्‍दा ठूलो हुन्‍छ ।

[17] यदि तिमीहरूले यी कुराहरू जान्‍यौ, र ती गर्‍यौ भने तिमीहरू धन्‍यका हुनेछौ ।

[18] म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्‍छु, तर यो यसैले हो, कि धर्मशास्‍त्र पूरा होस्ः जसले मेरो रोटी खायो, त्‍यसले नै ममाथि लात उठायो ।

[19] म यो घटनअगि नै तिमीहरूलाई भन्‍छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।

[20] म साँचो, साँचो तिमीहरूलाई भन्‍दछु, जसले मैले जसलाई पठाउँछु त्‍यसलाई ग्रहण गर्छ, त्‍यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्‍यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।

[21] जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूमध्‍ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”

[22] उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्‍छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।

[23] उहाँका चेलाहरूमध्‍ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्‍थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।

[24] यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्‍ये कसको बारेमा भन्‍दै हुनुहुन्‍छ, हामीलाई भन ।”

[25] त्‍यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो ?”

[26] त्‍यसपछि येशूले जवाफ दिनुभयो, “त्‍यो त्‍यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्‍छु ।” त्‍यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो ।

[27] र रोटी दिइसक्‍नुभएपछि शैतान त्‍यसभित्र पस्यो । त्‍यसैले, येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”

[28] अब उहाँले त्‍यसलाई किन यसो भन्‍नुभएको भन्‍ने त्‍यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।

[29] केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्‍यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्‍यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे ।

[30] जब यहूदाले रोटी खायो, त्‍यो तुरुन्‍तै त्‍यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो ।

[31] जब यहूदा त्‍यहाँबाट गयो, येशूले भन्‍नुभयो, “मानिसका पुत्रलाई महिमित तुल्याइन्‍छ, र उसमा परमेश्‍वरलाई महिमित तुल्याइन्‍छ ।

[32] परमेश्‍वरले आफैमा उसलाई महिमित पार्नुहुनेछ र उहाँले उसलाई तुरुन्‍तै महिमित तुल्याउनुहुनेछ ।

[33] साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैं, अहिले म तिमीहरूलाई यो पनि भन्‍छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्‍यहाँ तिमीहरू आउन सक्दैनौ ।’

[34] म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्‍यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।

[35] यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्‍यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।

[36] सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्‍छ ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”

[37] पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ ? म तपाईंको लागि मेरो ज्‍यान पनि दिनेछु ।”

[38] येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्‍यान नै दिनेछौ त ? साँचो, साँचो म तिमीलाई भन्‍दछु, कि तिमीले मलाई तीन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ ।”

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters