Skip to content
Opens in a new window
Listen to this chapter • 9:17

[1] राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्ना निवासी थिइन्।

[2] यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे।

[3] याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।

[4] यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको, दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनीहरूले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।

[5] राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।

[6] चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।

[7] तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागे। तिनीहरू अराबातिर भागे;

[8] तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेना तिनीबाट अलग भएर छरपस्ट भएका थिए;

[9] र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ बेबिलोनका राजाले सिदकियाहमाथि दण्डको घोषणा गरे।

[10] त्यहाँ रिब्लामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाको अगाडि मारे; तिनले यहूदाका सबै अधिकारीहरूलाई पनि मारे।

[11] त्यसपछि तिनले सिदकियाहका आँखाहरू निकालिदिए; अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे, जहाँ तिनले सिदकियाहको मृत्यु नहोउन्जेलसम्म उनलाई झ्यालखानामा राखे।

[12] बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा, राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान जसले बेबिलोनका राजाको सेवा गर्थे, यरूशलेममा आए।

[13] तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए।

[14] बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका सबै पर्खालहरू भत्काइदिए।

[15] अङ्गरक्षकहरूका सेनापति नबूजरदानले केही गरिब मानिसहरू र सहरमा बाँकी रहेकाहरू, साथै सिपालु कारिगरहरू र बेबिलोनका राजाको पछि लाग्ने मानिसहरूलाई कैदी बनाएर निर्वासनमा लगे।

[16] तर नबूजरदानले देशमा बाँकी रहेका केही अति गरिब मानिसहरूचाहिँ दाखबारी र खेतबारीहरूमा काम गर्नलाई त्यहीँ छोडिदिए।

[17] बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र सबै काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।

[18] तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदो काट्ने कैँचीहरू, छर्कने बाटाहरू, थाल बटुकाहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामग्रीहरू लगे।

[19] राजकीय अङ्गरक्षकका सेनापतिले बाटाहरू, धूपदानीहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, थाल बटुकाहरू र अर्घबलिको निम्ति प्रयोग गरिने बाटाहरू—निखुर सुन र चाँदीले बनिएका सबै सामग्रीहरू तिनीहरूले लगे।

[20] ती दुई स्तम्भहरू, खड्कुँलो र त्यसका मुन्तिर भएका काँसाका बाह्र वटा साँढेहरू र याहवेहको मन्दिरको निम्ति सोलोमन राजाले बनाएका गुड्ने आधारहरूबाट जम्मा गरिएका काँसाहरू जसको वजन जोखेर जोख्न नसकिने थिए।

[21] प्रत्येक स्तम्भ अठार क्यूबिट अग्लो र त्यसको गोलाइ बाह्र क्यूबिटको थियो। प्रत्येक खम्बा चार अङ्गुल बाक्लो मोटाइ र त्यो बीचमा खोक्रो थियो।

[22] एउटा खम्बाको टुप्पोमा भएको काँसाको टुप्पो पाँच क्यूबिट अग्लो थियो। अनि चारैतिर काँसाका जाली र दारिमको बुट्टाले वरिपरि सिँगारिएको थियो। अर्को खम्बा पनि त्यस्तै दारिम बुट्टाले सजिएको थियो।

[23] त्यस खम्बाको छेउ-छेउमा छयानब्बे वटा दारिमको बुट्टाहरू थिए; चारैतिरका जालीमाथि भएका दारिमका बुट्टाहरूको संख्या एक सय थियो।

[24] अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।

[25] सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र सात जना राजकीय सल्‍लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने प्रमुख अधिकारी प्रधान सचिवसहित, सहरमा भेट्टाइएका साठी जना मानिसहरूलाई पनि लगे।

[26] सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे, र बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।

[27] त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।

[28] नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यही हो: सातौँ वर्षमा, 3,023 यहूदीहरू;

[29] नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा यरूशलेमबाट 832 मानिसहरू;

[30] तिनको शासनकालको तेईसौँ वर्षमा, राजकीय अङ्गरक्षका सेनापति नबूजरदानद्वारा 745 यहूदीहरू निर्वासनमा लगिए। त्यतिखेर जम्मा मानिसहरू 4,600 जना थिए।

[31] यहूदाका राजा यहोयाकीनलाई निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदक बेबिलोनको राजा भएको वर्षमा तिनले बाह्रौँ महिनाको पच्‍चीसौँ दिनमा यहूदाका राजा यहोयाकीनलाई निकाले र झ्यालखानाबाट मुक्त गरिदिए।

[32] तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्‍लो दर्जाको सम्मानको आसन दिए।

[33] यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।

[34] बेबिलोनका राजाले यहोयाकीनको जीवनकालभरि तिनको मृत्यु नहुन्जेल दिन प्रतिदिन नियमित भत्ता दिए।

यर्मिया — Chapters