[1] “यदि कुनै मानिसले आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद गर्यो र स्त्रीले त्यसलाई छोडेर अर्को मानिससित विवाह गरी भने, के त्यो पतिले त्यस स्त्रीलाई फेरि फर्काएर ल्याउँछ र? यसो गर्दा के देश पूर्ण रूपले अशुद्ध हुँदैन र? तर तँ धेरै प्रेमीहरूसित एक वेश्याझैँ बसेकी छेस्, अर्थात् के अब तँ मकहाँ फर्केर आउन सक्छेस्?” याहवेह घोषणा गर्नुहुन्छ।
[2] “बाँझो पहाडहरूतिर आँखा उठाएर हेर्। के तैँले कुकर्म नगरेको कुनै ठाउँ छ? मरुभूमिमा डुलुवा बसेझैँ, तँ बाटोको छेउतिर प्रेमिकाहरूको प्रतीक्षामा बसिस्। तैँले देशलाई तेरो व्यभिचार र दुष्टताले भ्रष्ट पारेकी छेस्।
[3] यसकारण झरी रोकिएको छ; अनि वसन्त ऋतुको वर्षा आएकै छैन। तापनि तँ लाज नभएकी वेश्याजस्तै देखिन्छेस्; तँ लाजले भुतुक्क हुँदिनस्।
[4] के तैँले मलाई भर्खरै यसरी पुकारिनस्, ‘मेरा पिता, मेरा युवावस्थादेखिको साथी,
[5] के तपाईं सधैँ रिसाइरहनुहुनेछ? के तपाईंको क्रोध सदासर्वदा रहिरहनेछ?’ तैँले यसरी कुरा गर्छेस्, तर तैँले सक्ने सबै दुष्ट्याइँ गर्छेस्।”
[6] राजा योशियाहको शासनकालमा याहवेहले मलाई भन्नुभयो, “इस्राएलले कस्तो विश्वासघाती काम गरेको छ, के तैँले देखेको छस्? इस्राएल प्रत्येक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएर त्यसले त्यहाँ व्यभिचार गरेकी छे।
[7] इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्वासी बहिनी यहूदाले यो कुरा देखी।
[8] मैले अविश्वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी।
[9] किनकि इस्राएलको अनैतिक चरित्र त्यसको निम्ति केहीजस्तो लागेन, त्यसले ढुङ्गा र काठसित व्यभिचार गरेर देशलाई बिटुलो पारेकी छे।
[10] यी सबै कुरा भएर पनि त्यसकी विश्वासघाती बहिनी यहूदा मतिर सम्पूर्ण हृदयले होइन, तर त्यसले फर्केको बहाना मात्र गरेकी छे,” याहवेह घोषणा गर्नुहुन्छ।
[11] याहवेहले मलाई भन्नुभयो, “अविश्वासी इस्राएल अविश्वासी यहूदाभन्दा बढी धर्मी छ।
[12] जा, उत्तरतिर यो सन्देश घोषणा गर्: “याहवेह भन्नुहुन्छ: ‘अविश्वासी इस्राएल फर्की, म तँलाई फेरि रिसाएको आँखाले हेर्नेछैनँ; किनकि म विश्वासयोग्य छु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘म सधैँभरि रिसाउनेछैनँ।
[13] तैँले आफ्नो दोष मात्र स्वीकार गर्, तँ याहवेह तेरा परमेश्वरको विरुद्धमा विरोधी भएकी छेस्; अनि तैँले आफ्नो प्रेम हरेक झ्याम्म परेको रूखमुनि विदेशी देवी-देवताहरूलाई बाँडिदिएकी छेस्; अनि मेरा आज्ञापालन गरेकी छैनस्,’ याहवेह घोषणा गर्नुहुन्छ।”
[14] याहवेह घोषणा गर्नुहुन्छ, “हे अविश्वासी मानिसहरू हो, फर्क! किनकि म तिमीहरूको पति हुँ। म तिमीहरूलाई एउटा सहरबाट एक जनालाई र एउटा वंशबाट दुई जना गरेर छान्नेछु—अनि म तिमीहरूलाई सियोनमा ल्याउनेछु।
[15] त्यसपछि म तिमीहरूलाई मेरो हृदयअनुसारको गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझकासाथ डोर्याउनेछन्।
[16] ती दिनहरूमा, जब देशमा तिमीहरूको संख्या धेरै बढ्नेछ,” तब याहवेह घोषणा गर्नुहुन्छ, “मानिसहरूले ‘याहवेहको करारको सन्दुक’ भनेर फेरि कहिल्यै भन्नेछैनन्, न त फेरि कहिल्यै याद गर्नेछन्; त्यो तिनीहरूका मनमा सम्झनास्वरूप कहिल्यै आउनेछैन, न त त्योजस्तै फेरि अर्को कहिल्यै बनाइनेछ।
[17] त्यस बेला मानिसहरूले यरूशलेमलाई याहवेहको सिंहासन भन्नेछन्; अनि सबै जातिका मानिसहरू याहवेहको नामलाई आदर गर्न यरूशलेममा भेला हुनेछन्। तिनीहरू फेरि आफ्ना दुष्ट हृदयको हठीपनाको पछि लाग्नेछैनन्।
[18] ती दिनहरूमा यहूदाका घराना, इस्राएलको घरानासित मिल्नेछ; अनि तिनीहरू एकसाथ उत्तरी देशबाट मैले उत्तराधिकारको रूपमा तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा आउनेछन्।
[19] “म याहवेह आफैँले भनेको हुँ, “ ‘म कति खुशीसाथ तिमीहरूलाई मेरो छोराछोरीहरूजस्तै व्यवहार गर्नेथिएँ; अनि तिमीहरूलाई अति असल देश, मेरो राष्ट्रमा सबैभन्दा सुन्दर उत्तराधिकार दिनेथिएँ।’ तिमीहरूले मलाई ‘पिता’ भनी बोलाउनेछौ, र मलाई पछ्याउन छोड्नेछैनौ भनी सोचेको थिएँ।
[20] तर आफ्नो पतिप्रति अविश्वासी रहेकी पत्नीझैँ, हे इस्राएलका घराना हो, तिमीहरू मप्रति अविश्वासी भएका छौ,” याहवेह घोषणा गर्नुहुन्छ।
[21] नाङ्गा डाँडाहरूमा एउटा रोदन सुनिन्छ; इस्राएलका मानिसहरूका रुवाइ र दयाका निम्ति पुकाराको सोर, किनकि तिनीहरू कुबाटोतिर लागेका छन्; अनि याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेका छन्।
[22] “हे अविश्वासी मानिसहरू हो, फर्क! म तिमीहरूका विश्वासघाती हृदयलाई निको पार्नेछु।” “हजुर, हामी तपाईंकहाँ फर्केर आउनेछौँ; किनकि तपाईं नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।”
[23] “निश्चय नै डाँडाहरूमा मूर्तिपूजाको होहल्ला छ, र पर्वत एउटा छल हो; निश्चय नै याहवेह हाम्रा परमेश्वरमा इस्राएलको निम्ति उद्धार छ।
[24] हाम्रो जवान अवस्थाबाट नै लाजमर्दो देवी-देवताहरूले हाम्रा पितापुर्खाहरूका परिश्रमका फलहरू— अर्थात्, भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू; अनि तिनीहरूका छोराछोरीहरू सबै कुरा निलिदिएको छ।
[25] हामी आफ्नो लाजमा घोप्टो परौँ; अनि हाम्रा अपमानले हामीलाई ढाकोस्। हामीले याहवेह हाम्रा परमेश्वरको विरुद्धमा हामी र हाम्रा पितापुर्खाहरू दुवैले पाप गरेका छौँ; हाम्रो जवानी अवस्थादेखि आजको दिनसम्म हामीले याहवेह हाम्रा परमेश्वरको आज्ञापालन गरेका छैनौँ।”