Skip to content
Opens in a new window
Listen to this chapter • 5:45

[1] बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाएका थिए; तिनले यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा राज्य गरे।

[2] तर न तिनले, न तिनका सेवकहरूले, न त देशका मानिसहरूले नै यर्मिया अगमवक्ताद्वारा बोलिएका याहवेहका वचनहरू पालन गरे।

[3] तापनि राजा सिदकियाहले शेलेम्याहका छोरा यहूकललाई, मासेयाहका छोरा पुजारी सपन्याहसँग यर्मिया अगमवक्ताकहाँ यो सन्देश पठाए, “कृपया, याहवेह हाम्रा परमेश्‍वरसँग हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस्।”

[4] त्यस बेला यर्मिया मानिसहरूका बीचमा आउजाउ गर्न स्वतन्त्र थिए; किनकि तिनलाई त्यस बेलासम्म झ्यालखानामा राखिएको थिएन।

[5] फारोको सेना इजिप्टबाट मोर्चा बाँधेर निस्किसकेको थियो, जब यरूशलेमलाई घेरिराखेका बेबिलोनीहरूले तिनीहरूको बारेमा सुने, तब तिनीहरू यरूशलेमबाट पछि हटेर गए।

[6] तब याहवेहको वचन यर्मिया अगमवक्ताकहाँ आयो:

[7] “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यहूदाको राजा, जसले तँलाई मसँग सल्‍लाह लिन पठाएको छ, त्यसलाई भन्, ‘तँलाई सघाउनको निम्ति मोर्चा बाँधेर निस्किसकेका फारोका सेना त्यसको आफ्नै देश इजिप्टमा फर्किजानेछ।

[8] तब बेबिलोनीहरू फर्कनेछन् र यस सहरलाई आक्रमण गर्नेछन्। तिनीहरूले यस सहरलाई कब्जा गर्नेछन् र आगोले जलाएर भस्म पार्नेछन्।’

[9] “याहवेह यसो भन्‍नुहुन्छ: ‘बेबिलोनीहरूले हामीलाई निश्‍चय छोडिदिनेछन्,’ भन्‍ने सोचेर तिमीहरू आफैँलाई धोका नदेओ। तिनीहरूले छोडेर जानेछैनन्!

[10] यदि तिमीहरूका विरुद्धमा आक्रमण गर्ने सम्पूर्ण बेबिलोनी सेनाहरूलाई परास्त गर्न तिमीहरू सफल भयौ भने तापनि तिनीहरूका पालहरूमा छोडिएका घाइते मानिसहरू बाहिर आएर यस सहरलाई जलाइदिनेछन्।”

[11] फारोका सेनाको कारण बेबिलोनी सेना यरूशलेमबाट हटेर गयो।

[12] तब यर्मिया बेन्यामीनको इलाकाका मानिसहरूबाट आफ्नो सम्पत्तिको भाग लिनलाई यरूशलेमबाट निस्के।

[13] तर जब तिनी बेन्यामीन मूलढोकामा पुगे, तब अङ्गरक्षकका सेनापति जसको नाम यिरियाह थियो, जो हनन्याहका नाति शेलेम्याहका छोरा थिए; उनले यर्मियालाई पक्रेर भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!”

[14] यर्मियाले जवाफ दिएर भने, “यो कुरा सत्य होइन! म भागेर बेबिलोनीहरूकहाँ गएको होइनँ।” तर यिरियाहले तिनको कुरा सुन्‍नै चाहेनन्। यसकारण उनले यर्मियालाई पक्रेर तिनलाई अधिकारीहरूकहाँ ल्याए।

[15] तिनीहरू यर्मियासँग रिसाएर तिनलाई पिटे, र तिनलाई सचिव जोनाथनको घरमा कैद गरेर राखे; किनकि त्यस घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।

[16] तिनीहरूले यर्मियालाई एउटा अँध्यारो बन्दी कोठामा राखिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे।

[17] तब सिदकियाह राजाले तिनलाई ल्याउन लगाए, र तिनलाई राजमहलमा ल्याए, जहाँ तिनलाई गुप्‍तमा सोधे, “के याहवेहबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “हजुर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।”

[18] तब यर्मियाले राजा सिदकियाहलाई भने, “मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा के अपराध गरेको छु, र तपाईंले मलाई झ्यालखानामा राख्नुभयो?

[19] तपाईंका ती अगमवक्ताहरू कहाँ छन्, जसले तपाईंलाई, ‘बेबिलोनका राजाले तिनका सेनासँग तपाईं अथवा यस देशको विरुद्धमा आक्रमण गर्नेछैन’ भनेर अगमवाणी गरेका थिए?

[20] तर अब हे मेरा मालिक राजा, दया गरी सुनिदिनुहोस्। मलाई मेरो बिन्ती तपाईंको अगि राख्न दिनुहोस्: मलाई सचिव जोनाथनको घरमा फर्काएर नपठाउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु।”

[21] तब राजा सिदकियाहको आदेशअनुसार यर्मिया पहरेदारको चोकमा राखिए; अनि सहरका सबै रोटी नसकुन्जेल बजारको पसलबाट दिनहुँ रोटी ल्याएर तिनलाई दिइन्थ्यो। यसरी यर्मिया पहरेदारको चोकमा रहन लागे।

यर्मिया — Chapters