Skip to content
Opens in a new window
Listen to this chapter • 5:49

[1] जब इम्मेरका छोरा पुजारी पशहूर याहवेहको भवनका मुख्य अधिकारी थिए, तब यर्मियाले यी कुराहरू अगमवाणी गरिरहेका सुने;

[2] तिनले अगमवक्ता यर्मियालाई पिटे र ठिँगुरोमा हालेर याहवेहको मन्दिरमा बेन्यामीनको माथिल्‍लो मूलढोकामा राख्न लगाए।

[3] भोलिपल्ट बिहान, जब पशहूरले तिनलाई ठिँगुरोबाट निकाले, तब यर्मियाले तिनलाई भने, “याहवेहले तिम्रो नाम पशहूर होइन, तर मागोर-मिसाबीब राख्नुभएको छ।

[4] किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई तेरै निम्ति र तेरा सबै साथीहरूका निम्ति त्रसित तुल्याउनेछु। तेरा आफ्नै आँखाले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका तरवारले मारेको देख्नेछस्। म समस्त यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई बेबिलोनमा लैजानेछन् र तरवारले मार्नेछन्।

[5] म यरूशलेम सहरको सबै धनसम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु, अर्थात् यस सहरका सबै फसल, सहरका सबै बहुमूल्य चीजहरू र यहूदाका राजाहरूका सबै भण्डारहरू शत्रुहरूलाई सुम्पिदिनेछु। तिनीहरूले सबै कुराहरूलाई लुटका मालसामानहरूजस्तै बेबिलोनमा लिएर जानेछन्।

[6] अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै परिवारचाहिँ देशबाट निकालिएर बेबिलोनको कैदमा जानेछौ। तँ र तेरा सबै साथीहरू मर्नेछौ र त्यहीँ गाडिनेछौ, जसलाई तैँले झूटो अगमवाणी गरेको थिइस्।’ ”

[7] हे याहवेह, तपाईंले मलाई धोका दिनुभयो, र म धोकामा परेँ; तपाईंले मलाई जित्नुभयो, किनकि तपाईं मभन्दा बलियो हुनुहुन्छ। दिनभरि नै म हाँसोको पात्र बनेको छु; सबैले मलाई गिल्‍ला गर्छन्।

[8] जब-जब म बोल्छु, तब-तब हिंसा र विनाश हुनेछ भनी घोषणा गर्दै चिच्याउँछु। यसकारण दिनभरि नै याहवेहको वचनले मेरा निम्ति अपमान ल्याएको छ।

[9] तर यदि मैले, “म उहाँको वचन भन्दिनँ अथवा उहाँको नाममा अबदेखि बोल्दिनँ” भनी भन्छु भने, उहाँको वचन मेरो हृदयमा आगोजस्तै, अथवा मेरा हड्डीहरूभित्र बन्द गरेको आगोजस्तै हुन्छ। मैले वचनलाई भित्र रोकिराखेको कारण थकित भएको छु; वास्तवमा म यो थाम्नै सक्दिनँ।

[10] धेरैले कानेखुसी गरेको म सुन्दछु, “त्रास चारैतिर छ! त्यसको निन्दा गरौँ! त्यसको विरुद्धमा खबर गरौँ!” मेरा सबै मित्रहरू यसो भन्दै मेरो पतन पर्खिरहेका छन्, “सायद त्यसले धोका खानेछ; तब हामी ऊमाथि विजयी हुनेछौँ, र हामी त्यसमाथि आफ्नो बदला लिनेछौँ।”

[11] तर याहवेह मसँग एक शक्तिशाली योद्धाझैँ हुनुहुन्छ; यसकारण मलाई सताउनेहरूले ठेस खाएर लड्नेछन्। तिनीहरू असफल हुनेछन् र अति लाजमा पर्नेछन्; तिनीहरूका अपमान कहिल्यै पनि बिर्सिइनेछैन।

[12] हे सेनाहरूका याहवेह, तपाईं धर्मी जनहरूलाई जाँच्नुहुन्छ; अनि हृदय र अन्तस्करण जान्‍नुहुन्छ, तपाईंले तिनीहरूमाथि लिनुहुने बदला हेर्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।

[13] याहवेहको स्तुति गाओ! याहवेहको प्रशंसा गर! उहाँले गरिब मानिसहरूका प्राणलाई दुष्‍टहरूका हातबाट छुटाउनुभएको छ।

[14] म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिनुभएको दिन आशिषित नहोस्!

[15] त्यो मानिस श्रापित होस्, जसले मेरो बुबाकहाँ यो खबर ल्यायो, जसले तिनलाई “तपाईंको एउटा बालक, अर्थात् छोरा जन्मेको छ!” भन्‍ने खबरले अति खुशी तुल्यायो।

[16] त्यो मानिस याहवेहले दया नगरी नष्‍ट गरिदिनुभएका ती सहरहरूजस्तै होस्। त्यस मानिसले बिहान विलाप र दिउँसो लडाइँको सोर सुनोस्।

[17] किनकि त्यसले मलाई गर्भमा छँदै मारेन, नत्रता मेरी आमाको गर्भ नै मेरो चिहान हुनेथियो; अनि म सधैँका निम्ति उहाँकै कोखमा रहने थिएँ।

[18] सङ्कष्‍ट र दुःख देख्न र अन्त्यमा शर्ममा परेर मर्नलाई म किन गर्भबाट बाहिर आएँ?

यर्मिया — Chapters