[1] याहवेहले मलाई यसो भन्नुभयो: “जा, गएर एउटा सुतीको पटुका किन् र त्यसलाई आफ्नो कम्मरमा बाँध्, तर त्यसलाई पानीले भिज्न नदे।”
[2] यसकारण याहवेहले हुकुम गर्नुभएझैँ मैले एउटा सुतीको पटुका किनेँ र आफ्नो कम्मरमा बाँधेँ।
[3] तब याहवेहको वचन दोस्रोपल्ट मकहाँ आयो:
[4] “तैँले किनेको तेरो कम्मरमा बाँधिराखेको पटुका लिएर अब परात नदीमा जा, र त्यसलाई त्यहाँ चट्टानको एउटा दुलोमा लुकाइराख्।”
[5] यसकारण याहवेहले मलाई भन्नुभएझैँ म परातमा गएँ, र त्यस पटुकालाई चट्टानमा लुकाएँ।
[6] केही दिनपछि याहवेहले मलाई भन्नुभयो, “परातमा जा, र मैले तँलाई लुकाउन लगाएको पटुका त्यहाँबाट लिएर आइज।”
[7] यसकारण म परातमा गएँ, र मैले पटुकालाई लुकाइराखेको ठाउँबाट खनेर निकालेँ, तर त्यो पटुका मक्किएर कामै नलाग्ने भएको पाएँ।
[8] तब याहवेहको वचन मकहाँ आयो:
[9] “याहवेह यसो भन्नुहुन्छ: ‘ठिक यसरी नै म यहूदाको र यरूशलेमको घमण्डलाई नष्ट गर्नेछु।
[10] यी दुष्ट मानिसहरू, जसले मेरा वचन सुन्न इन्कार गर्छन्; तिनीहरू आफ्ना हृदयलाई कठोर पार्दै अरू देवी-देवताको पूजा गर्न र सेवा गर्न जान्छन्। यस्ता मानिसहरू यही पटुकाजस्तै पूर्ण रूपले केही कामको हुँदैनन्!
[11] किनकि मानिसले पटुका कम्मरमा बाँधेझैँ, मैले इस्राएलको र यहूदाको सम्पूर्ण घरानालाई मेरो ख्याति, प्रशंसा र सम्मानको निम्ति प्रजा हुनेछन् भनी मैले तिनीहरूलाई आफ्नो कम्मरमा बाँधेँ, तर तिनीहरूले मेरो आज्ञापालन गरेनन्,’ याहवेह घोषणा गर्नुहुन्छ।
[12] “यसकारण तिनीहरूलाई भन्: ‘याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हरेक मशक दाखमद्यले भरिएको हुनुपर्छ।’ अनि तिनीहरूले यदि तँलाई, ‘प्रत्येक मशक दाखमद्यले भरिनुपर्छ भन्ने कुरा के हामीलाई थाहा छैन?’ भनी भनेछन् भने,
[13] तब तिनीहरूलाई यसरी भन्, ‘याहवेह यसो भन्नुहुन्छ: दावीदको सिंहासनमा बस्ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरू सबैलाई र यस देशका बासिन्दाहरू सबैलाई म दाखमद्यले मताइदिनेछु।
[14] म तिनीहरूलाई आमाबुबाहरू र छोराछोरीहरू समेतलाई एक-अर्काको विरुद्धमा जुधाइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। मलाई दया, माया, कृपा अथवा कुनै पनि कुराले तिनीहरूलाई सर्वनाश गर्नबाट रोक्न सक्दैन।’ ”
[15] सुन, र ध्यान देओ, अहङ्कारी नहोओ; किनकि याहवेहले बोल्नुभएको छ।
[16] परमेश्वरले अन्धकार ल्याउन अगि, अँध्यारो डाँडाहरूमा तिमीहरूका खुट्टाहरू ठेस खानुभन्दा अगि, याहवेह तिमीहरूका परमेश्वरलाई महिमा देओ। तिमीहरू उज्यालोको आशा गर्दछौ, तर उहाँले ज्योतिलाई घोर अन्धकारमा बदली दिनुहुनेछ; अनि त्यसलाई गहिरो अन्धकार तुल्याइदिनुहुनेछ।
[17] तर तिमीहरूले अझै पनि सुन्न इन्कार गर्यौ भने, तिमीहरूको घमण्डको कारणले म गुप्तमा रुनेछु; आँखामा आँसुको धारा बगाउँदै, म धुरुधुरु रुनेछु; किनकि याहवेहको बगाल कैदी भएर लगिनेछ।
[18] राजा र राजमातालाई भन्: “तपाईंहरूका सिंहासनबाट ओर्लनुहोस्; किनकि तपाईंहरूका गौरवशाली मुकुटहरू तपाईंहरूका शिरबाट खस्नेछन्।”
[19] दक्षिणमा भएका सहरहरू घेरामा पर्नेछन्; अनि तिनीहरूलाई सहायता गर्ने कोही हुनेछैनन्। समस्त यहूदालाई निर्वासनमा लगिनेछ, तिनीहरू पूर्ण रूपले कैदी भएर लगिनेछन्।
[20] आफ्ना आँखा उठाएर उत्तर दिशाबाट आइरहेका शत्रुहरूलाई हेर्! तँलाई सुम्पिदिएको बगालहरू कहाँ छन्, त्यो बगाल, जसमा तैँले घमण्ड गर्थिस्?
[21] तैँले विशेष मित्रझैँ मानेकोलाई नै, याहवेहले तँमाथि शासक नियुक्त गरिदिनुहुँदा अब तँ के भन्नेछस्? के यसो हुँदा तँ प्रसुती वेदनामा परेकी स्त्रीझैँ पीडाले तड्पिने छैनस् र?
[22] अनि यदि तैँले “मलाई किन यस्तो भयो?” भनेर आफैँलाई सोधिस् भने, यो त तेरै पापको कारणले गर्दा तेरो फरिया च्यातिएको छ; अनि तेरो शरीरसँग दुर्व्यवहार गरिएको छ।
[23] के कूशी मानिसले आफ्नो छाला अथवा चितुवाले आफ्नो थोप्ला बदली गर्न सक्छ? तेरो दुष्ट काम गर्ने बानी भएको हुँदा तैँले असल काम गर्न सक्नेछैनस्।
[24] “मरुभूमिको बतासले उडाइदिएको भुसजस्तै म तँलाई छरपस्ट पारिदिनेछु।
[25] तेरो भाग यही हो, मैले आदेश दिएको तेरो हिस्सा,” याहवेहले घोषणा गर्नुहुन्छ; “किनकि तैँले मलाई बिर्सेर झूटा देवी-देवताहरूमाथि भरोसा गरेको छस्।
[26] म तेरो फरिया उचालेर तेरो मुखमा पुर्याइदिनेछु, ताकि तेरो लाज देखियोस्—
[27] तैँले गरेको व्यभिचार र तेरो कामुकताको हिनहिनाइ, र तेरो शर्मलाग्दो वेश्यावृत्ति! मैले अग्ला डाँडाहरूमा र मैदानहरूमा तेरा घिनलाग्दा वेश्यावृत्तिहरू देखेको छु। हे यरूशलेम, तँलाई धिक्कार छ! तँ कहिलेसम्म यसरी अशुद्ध भइरहनेछस्?”