Skip to content
Opens in a new window
Listen to this chapter • 18:31

[1] याहवेह यसो भन्‍नुहुन्छ: “हेर, बेबिलोन र लेब-कमाईका मानिसहरूका विरुद्धमा म एक विनाश गर्ने आत्मालाई उक्साउनेछु।

[2] म बेबिलोनलाई निफन्‍न र त्यस देशलाई नष्‍ट गर्नलाई विदेशीहरू पठाउनेछु; त्यसको विपत्तिको दिनमा शत्रुहरूले चारैतिरबाट त्यसको विरोध गर्नेछन्।

[3] धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्, न त त्यो आफ्नो कवच लगाएर खडा होस्। तिनीहरूका जवानहरूलाई बाँकी नराख; तिनीहरूका सेनाहरूलाई पूर्ण रूपले सर्वनाश गर।

[4] तिनीहरू बेबिलोनका सडकहरूमा घाइते भएर लड्नेछन्, र तिनीहरू बेबिलोनमै मारिनेछन्।

[5] किनकि इस्राएल र यहूदा तिनीहरूका परमेश्‍वर, सेनाहरूका याहवेहद्वारा त्यागिएका छैनन्; यद्यपि बेबिलोनीहरूको देश इस्राएलका पवित्र परमेश्‍वरको सामु अपराधले भरिएको छ।

[6] “बेबिलोनबाट भाग! आ-आफ्नो प्राण बचाउनलाई भाग! त्यसका पापहरूको कारण तिमीहरू नाश नहोओ। यो त याहवेहले बदला लिने समय हो; उहाँले त्यसलाई उचित दण्ड दिनुहुनेछ।

[7] बेबिलोन याहवेहको हातमा एउटा सुनको कचौरा थियो; त्यसले सारा पृथ्वीलाई मतायो। राष्ट्रहरूले त्यसको मद्य पिएका छन्; यसकारण अहिले तिनीहरू पागल भएका छन्।

[8] बेबिलोन एक्‍कासि पतन हुनेछ र टुक्रिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको कष्‍टका निम्ति मलम ल्याओ; सायद त्यो निको हुन्छे कि!

[9] “हामी बेबिलोनलाई निको पार्नेथियौँ, तर त्यो निको हुन सक्दैन; त्यसलाई छोडिदियौँ र हामी आ-आफ्नो देशमा जाऔँ; किनकि त्यसको दण्ड आकाशसम्म पुगेको छ, त्यो स्वर्गसम्मै चुलिएको छ।

[10] “याहवेहले हामीलाई निर्दोष ठहराउनुभएको छ; आओ, हामी सियोनमा जाऔँ, र याहवेह हाम्रा परमेश्‍वरको काम बयान गरौँ।

[11] “धनुकाँडहरू तीखा पार! ढालहरू उठाओ! याहवेहले मादीका राजाहरूलाई उक्साउनुभएको छ; किनकि उहाँको उद्देश्य बेबिलोनलाई नष्‍ट गर्नु हो। याहवेहले बदला लिनुहुनेछ; उहाँको मन्दिर नष्‍ट गर्नेहरूलाई बदला लिनुहुनेछ।

[12] बेबिलोनका पर्खालहरूको विरुद्धमा झण्डा उठाओ! पहरा-चौकी बलियो बनाओ; पहरेदारहरूलाई खटाओ, ढुकेर आक्रमण गर्नेहरूलाई तयार गर! याहवेहले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ; अनि बेबिलोनका मानिसहरूको विरुद्धमा उहाँले आफ्नो उर्दी पूरा गर्नुहुनेछ।

[13] तँ बेबिलोन, जो धेरै नदीहरूको नजिक बस्छेस् र धेरै धनसम्पत्तिको भण्डारले पूर्ण भएकी छेस्, तर तेरो अन्त्य आएको छ। तेरो विनाशको समय आएको छ।

[14] सेनाहरूका याहवेहले आफ्नै नामको शपथ खानुभएको छ: म निश्‍चय नै बेबिलोनलाई आक्रमण गर्न सलहको बथानझैँ सेनाहरूको भीडले भरिदिनेछु; अनि तिनीहरूले तँमाथि विजयी भएर जयजयकार गर्नेछन्।

[15] “याहवेहले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।

[16] जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ, अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।

[17] “हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन।

[18] ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।

[19] उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न; किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ, जसमा उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो।

[20] “तँ मेरो युद्धको मुङ्ग्रो, मेरो लडाइँका निम्ति हतियार होस्; तँद्वारा म राष्ट्रहरूलाई चकनाचुर पार्छु; र तँद्वारा नै म राज्यहरूलाई नष्‍ट गर्छु।

[21] तँद्वारा म घोडा र घोडसवारहरूलाई टुक्रा-टुक्रा पार्छु; तँद्वारा म रथहरू र रथ-सवारहरूलाई चकनाचुर पार्छु।

[22] तँद्वारा म पुरुषहरू र स्त्रीहरूलाई चकनाचुर पार्छु। तँद्वारा म वृद्ध मानिस र जवानलाई चकनाचुर पार्छु। तँद्वारा म जवान केटाहरू र कन्या केटीहरूलाई चकनाचुर पार्छु।

[23] तँद्वारा म गोठाला र भेडाबाख्राको बगाललाई चकनाचुर पार्छु; तँद्वारा म किसान र गोरुहरूलाई चकनाचुर पार्छु। तँद्वारा म राज्यपालहरू र अधिकारीहरूलाई चकनाचुर पार्छु।

[24] “तेरो आँखाको सामु म बेबिलोन र बेबिलोनमा बस्‍ने सबै मानिसहरूलाई सियोनमा तिनीहरूले गरेका सबै खराबीको निम्ति दण्ड दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

[25] “हे, विनाशकारी पर्वत, म तेरो विरुद्धमा छु; तैँले सारा पृथ्वीलाई नष्‍ट गर्छस्,” याहवेह घोषणा गर्नुहुन्छ। “म तेरो विरुद्धमा मेरो हात पसार्नेछु, तँलाई भिरबाट तल गुडाइदिनेछु; अनि तँलाई एउटा डढेको उजाड पहाड तुल्याउनेछु।

[26] तँबाट कुनाको निम्ति कुनै ढुङ्गा लिइनेछैन, न त जगको निम्ति कुनै ढुङ्गा लिइनेछ; किनकि तँ सदाको निम्ति उजाड रहनेछस्,” याहवेह घोषणा गर्नुहुन्छ।

[27] “देशमा एउटा झण्डा उठाओ! राष्ट्रहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा लडाइँको निम्ति राष्ट्रहरूलाई तयार पार; यी राज्यहरूलाई त्यसको विरुद्धमा आक्रमण गर्नलाई बोलाओ: अरारात, मिन्‍नी र अश्कनजलाई बोलाओ। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर; सलहको बथानझैँ घोडाहरूलाई पठाओ।

[28] त्यसको विरुद्धमा युद्ध गर्नलाई राष्ट्रहरूलाई तयार गर! मादीका राजाहरूलाई, तिनीहरूका राज्यपालहरूलाई र तिनीहरूका सबै अधिकारीहरूलाई, र तिनीहरूले शासन गर्ने देशहरूलाई तयार गर।

[29] देश थरथर काम्छ र छटपटिन्छ; किनकि बेबिलोनको विरुद्धमा याहवेहको उद्देश्य अटल छ! बेबिलोनको देशलाई उजाड पार्नलाई, त्यहाँ कोही पनि नबसून्।

[30] बेबिलोनका सेनाहरूले युद्ध गर्न बन्द गरेका छन्; तिनीहरू आफ्ना किल्‍लाहरूमा रहन्छन्। तिनीहरूको बल शिथिल भएको छ; तिनीहरू दुर्बल भएका छन्। त्यसका वासस्थानहरूमा आगो लगाइएका छन्; त्यसका मूलढोकाका गजबारहरू भत्काइएका छन्।

[31] एक हुलाकी अर्को हुलाकीको पछि दौडन्छ; एक सन्देशवाहक अर्को सन्देशवाहकको पछि दौडन्छ। बेबिलोनको राजालाई यो खबर दिन उसको सम्पूर्ण सहर कब्जा गरिएका छन्;

[32] अनि नदीका घाटहरूलाई कब्जा गरिएका छन्; धापहरूमा आगो लगाइएका छन्; अनि योद्धाहरू त्रसित भएका छन्।”

[33] सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “बेबिलोनकी छोरी दाइँ गर्ने समयमा कुल्चिएको खलाझैँ भएकी छे; त्यसको कटनी गर्ने समय चाँडै आउँदैछ।”

[34] “बेबिलोनको राजा नबूकदनेसरले हामीलाई निलेको छ; त्यसले हामीलाई अलमलमा पारिदिएको छ। त्यसले हामीलाई रित्तो भाँडाजस्तै बनाइदिएको छ। त्यसले हामीलाई अजिङ्गरले झैँ निलेको छ, र त्यसले हाम्रो स्वादिष्‍ठ भोजनले आफ्नो पेट भरेको छ; त्यसपछि हामीलाई बान्ता गरेर फ्याँकिदिएको छ।

[35] सियोनका बासिन्दाहरूले भन्छन्, हामी र हाम्रा छोराछोरीहरूमाथि जस्तो अत्याचार परेको छ, त्यस्तै बेबिलोनमाथि पनि परोस्”। यरूशलेमले भन्छ, “हाम्रो रगत बगाएको बदला बेबिलोनमा बस्‍ने मानिसहरूमाथि परोस्”।

[36] यसकारण याहवेह भन्‍नुहुन्छ: “हेर, म तेरो पक्ष लिनेछु, र तेरो बदला लिनेछु; म त्यसको समुद्र सुकाइदिनेछु; अनि त्यसको पानीका मुहानहरू सुकाइदिनेछु।

[37] बेबिलोन भग्नावशेषको थुप्रो हुनेछ; स्यालहरूको ओडार हुनेछ; त्रास र गिल्‍लाको पात्र, कोही पनि नबस्‍ने एउटा उजाड ठाउँ हुनेछ।

[38] त्यसका मानिसहरू सबै सिंहझैँ गर्जन्छन्। तिनीहरू सिंहका डमरुझैँ ङुर्र-ङुर्र गर्छन्।

[39] तर जब तिनीहरू उत्तेजित हुन्छन्, म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र तिनीहरूलाई मताउनेछु, ताकि तिनीहरू हाँस्दै चिच्याउनेछन्; अनि सदाको निम्ति सुत्नेछन् र निन्द्राबाट कहिल्यै बिउँझनेछैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।

[40] “म तिनीहरूलाई काटिनका निम्ति लगिएका थुमाहरू, भेडाहरू र बाख्राहरूझैँ तल लैजानेछु।

[41] “शेशक कसरी कब्जा हुनेछ; सारा पृथ्वीको प्रशंसाको पात्र बेबिलोन कब्जा गरिनेछ! राष्ट्रहरूको बीचमा बेबिलोन एउटा भयानक दृश्य हुनेछ!

[42] बेबिलोनमाथि समुद्र उठ्नेछ; त्यसका गर्जने छालहरूले त्यसलाई छोपिदिनेछन्।

[43] त्यसका सहरहरू उजाड हुनेछन्, सुक्खा र मरुभूमिको देश, जहाँ कोही पनि नबस्‍ने देश, जुन देशबाट भएर कसैले पनि यात्रा गर्नेछैन।

[44] म बेबिलोनमा बेललाई दण्ड दिनेछु; अनि त्यसले जे निलेको छ, त्यो बान्ता गर्न लगाउनेछु। फेरि राष्ट्रहरू ताँती लगाएर आउनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ।

[45] “हे मेरा मानिसहरू हो! आफ्ना प्राण बचाउनलाई भाग! याहवेहको भयानक क्रोधदेखि भाग।

[46] जब देशमा हल्‍ला सुन्छौ, तब हतोत्साही नहोओ, अथवा नडराओ; यस वर्ष एउटा हल्‍ला र अर्को वर्ष अर्कै हल्‍ला आउँछ; देशमा अत्याचारको हल्‍ला र शासकको विरुद्धमा शासक भएको हल्‍ला।

[47] किनकि हेर, समय निश्‍चय नै आउनेछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु; तब त्यसको सम्पूर्ण देश अपमानित हुनेछ, र त्यसका मारिएकाहरू सबै त्यसकै भूमिमा ढलिरहनेछन्।

[48] तब स्वर्ग, पृथ्वी र तिनीहरूमा भएका सबै बेबिलोनको यस्तो स्थितिमा रमाउनेछन्; किनकि उत्तर दिशातिरबाट विनाशकर्ताहरूले त्यसलाई आक्रमण गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

[49] “बेबिलोनको कारण पृथ्वीभरि मानिसहरू मारिएझैँ, इस्राएलका मानिसहरूको हत्या गरिएको कारण बेबिलोनको पतन हुनैपर्छ।

[50] तिमीहरू, जो तरवारबाट उम्केछौ, ढिलो नगरी भागिहाल! टाढा देशबाट याहवेहलाई स्मरण गर; अनि यरूशलेमको बारेमा याद गर।”

[51] “हामी लज्जित भएका छौँ; किनकि हामी बदनामी भएका छौँ, र हाम्रा अनुहार शर्मले ढाकिएका छन्; किनकि विदेशीहरू हाम्रा याहवेहको भवनका पवित्र ठाउँहरूमा प्रवेश गरेका छन्।”

[52] “तर हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म त्यसका मूर्तिहरूलाई दण्ड दिनेछु, तब त्यसको देशभरि नै घाइतेहरूले सुस्केरा हाल्नेछन्।

[53] यदि बेबिलोनले आकाशसम्मै पुगेर आफ्ना अग्ला किल्‍लाहरूलाई बलियो पारे तापनि म त्यसको विरुद्धमा विनाश गर्नेहरू पठाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

[54] “बेबिलोनबाट चीत्कारको आवाज निस्कन्छ; बेबिलोनीहरूको देशबाट आएको ठूलो विनाशको आवाज।

[55] याहवेहले बेबिलोनलाई नाश गर्नुहुनेछ; उहाँले त्यसको ठूलो होहल्‍लालाई बन्द गराउनुहुनेछ। शत्रुहरू समुद्रका विशाल छालहरूझैँ गर्जनेछन्; तिनीहरूका आवाजको गर्जन गुञ्जिनेछ।

[56] बेबिलोनको विरुद्धमा एउटा विनाशकर्ता आउनेछ; त्यसका योद्धाहरू कब्जा गरिनेछन्; अनि तिनीहरूका धनुकाँडहरू भाँचिनेछन्। किनकि याहवेह उचित प्रतिफल दिनुहुने परमेश्‍वर हुनुहुन्छ; उहाँले पूर्ण रूपमा दण्ड दिनुहुनेछ।

[57] म तिनीहरूका अधिकारीहरू, बुद्धिमान् मानिसहरूलाई मताइदिनेछु; त्यसका राज्यपालहरू, अधिकारीहरू र योद्धाहरू समेतलाई मताइदिनेछु; तिनीहरू सदाको निम्ति निदाउनेछन् र कहिल्यै पनि उठ्नेछैनन्,” राजा घोषणा गर्नुहुन्छ, “जसको नाम सेनाहरूका याहवेह हो।”

[58] सेनाहरूका याहवेह भन्‍नुहुन्छ: “बेबिलोनको चौडा पर्खाल समतल बनाइनेछ; अनि त्यसका अग्ला मूलढोकाहरूमा आगो लगाइनेछन्; मानिसहरू व्यर्थैमा थाकेर शिथिल हुन्छन्, र राष्ट्रको परिश्रमचाहिँ ज्वालाको निम्ति इन्धन मात्र हुनेछन्।”

[59] यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा महसेयाहका नाति, नेरियाहका छोरा प्रमुख अधिकारी सरायाहलाई, राजासित बेबिलोनमा जाँदा यर्मियाले तिनलाई दिएको सन्देश यही हो।

[60] बेबिलोनमाथि आउने सबै विपत्तिहरूको बारेमा यर्मियाले एउटा चर्मपत्रमा लेखेका थिए—बेबिलोनको विषयमा सबै कुराहरू लेखे।

[61] यर्मियाले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ, तब तिमीले यी सबै वचनहरू अवश्य चर्को आवाजमा मानिसहरूलाई पढेर सुनाउनू।

[62] त्यसपछि यसो भन, ‘हे याहवेह, तपाईंले यस ठाउँलाई नाश गर्नेछु भन्‍नुभएको छ। यसमा न मानिस, न त पशु बसोबास गर्नेछ; यो सदाको निम्ति उजाड हुनेछ।’

[63] जब तिमीले यो चर्मपत्र पढिसक्छौ, तब यसमा एउटा ढुङ्गा बाँध र यसलाई यूफ्रेटिस नदीमा फालिदेऊ।

[64] तब यसो भन, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिको कारण यसरी नै बेबिलोन कहिल्यै नउठ्ने गरी डुब्नेछ। अनि त्यसका मानिसहरूको पतन हुनेछ।’ ” यर्मियाको सन्देश यहीँ समाप्‍त हुन्छ।

यर्मिया — Chapters