Skip to content
Opens in a new window
Listen to this chapter • 8:51

[1] याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाका राजाको महलमा तल जा, र त्यहाँ यो वचन घोषणा गर्:

[2] ‘हे यहूदाका राजा, याहवेहको वचन सुन्, तँ दावीदको सिंहासनमा विराजमान हुने राजा, तँ, तेरा अधिकारीहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै मानिसहरूले सुन्।

[3] याहवेह यसो भन्‍नुहुन्छ: जे न्यायसङ्गत र उचित छ, त्यही गर। जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर। विदेशी, टुहुरा-टुहुरी, विधवामाथि कुनै हानि अथवा अन्याय र अत्याचार नगर; अनि यस ठाउँमा निर्दोष मानिसहरूको रगत नबगाओ।

[4] किनकि यदि तिमीहरूले यी आज्ञाहरू होसियारीसाथ पालन गर्‍यौ भने दावीदको सिंहासनमा बस्‍ने राजाहरू, रथहरू र घोडाहरूमा सवार भएर तिनीहरूका अधिकारीहरू र तिनीहरूका प्रजाहरूका साथमा यस राजमहलका मूलढोकाहरूबाट प्रवेश गर्नेछन्।

[5] तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने याहवेह घोषणा गर्नुहुन्छ, म आफ्नै शपथ खाएर भन्छु, यो महल ध्वस्त हुनेछ।’ ”

[6] किनकि यहूदाको राजमहलको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: “तँ मेरा निम्ति गिलादझैँ र लेबनानको टाकुराझैँ भए तापनि निश्‍चय नै म तँलाई बसोबास नभएको निर्जन सहरहरूजस्तै उजाड पार्नेछु।

[7] म तेरो विरुद्धमा विनाशकर्ताहरू पठाउनेछु, हरेकले आ-आफ्नो हतियार लिएर आउनेछन्; अनि तिनीहरूले तेरा असल देवदारुका काठका बीमहरू काट्नेछन् र तिनीहरूलाई आगोमा फ्याँकिदिनेछन्।

[8] “धेरै देशका मानिसहरू यस सहरबाट जानेछन् र आपसमा सोध्नेछन्, ‘यस महान् सहरलाई याहवेहले किन यस्तो डरलाग्दो व्यवहार गर्नुभएको होला?’

[9] अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्‍वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ”

[10] मरिगएको राजाको निम्ति अथवा गइसकेका निम्ति शोक नगर; बरु निर्वासनमा लगिएकाहरूका निम्ति विलाप गर; किनकि त्यो फेरि फर्केर कहिल्यै आउनेछैन, न त त्यसले आफ्नो जन्मभूमि फेरि देख्नेछ।

[11] किनकि याहवेह यसो भन्‍नुहुन्छ, योशियाहका छोरा शल्‍लूम, जो आफ्ना पितापछि यहूदाको राजा भएको थियो, तर ऊ यस ठाउँबाट गइसकेको छ: “त्यो कहिल्यै फर्केर आउनेछैन।

[12] शत्रुहरूले त्यसलाई कैद गरेर लगेकै ठाउँमा त्यो मर्नेछ; त्यसले यस देशलाई फेरि कहिल्यै देख्नेछैन।”

[13] “धिक्‍कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँछ, जसले आफ्ना माथिल्‍ला कोठाहरू अन्यायले बनाउँछ; आफ्ना देशवासीहरूलाई तिनीहरूका परिश्रमको ज्याला नदिई सितैँमा काममा लगाउँछ।

[14] त्यसले भन्छ, ‘म आफ्ना निम्ति माथिल्‍लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु।’ यसकारण त्यसले त्यस घरमा ठूला झ्यालहरू बनाउँछ, त्यसमा देवदारुका पल्‍लाहरू लगाउँछ; अनि त्यसलाई रातो रङ्गले रङ्गाउँछ।

[15] “के धेरै देवदारु बटुलेर महङ्गो घर बनाउँदैमा, तँ राजा हुन्छस् र? के तेरा पितासँग खाने र पिउने कुरो थिएन? जे उचित र न्यायसङ्गत थियो, त्यसले त्यही गर्‍यो। यसकारण त्यसलाई सबै कुरामा भलाइ नै भयो।

[16] त्यसले गरिब र खाँचोमा परेकाहरूको पक्ष लियो; अनि त्यसको सबै कुरामा राम्रो भयो। के मलाई चिन्‍नुको अर्थ त्यही नै होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।

[17] “तर तेरा आँखा र तेरा हृदय त बेइमानीसाथ कमाउनेतिर, निर्दोष मानिसहरूको रगत बहाउनेतिर; अनि अत्याचार र हिंसातिर लागेका छन्।”

[18] यसकारण योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्; ‘हाय, मेरा दाजु, हाय, मेरी बहिनी!’ भन्‍नेछैनन्। तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्: ‘हाय, मेरा मालिक, हाय, उहाँको गौरव!’ भन्‍नेछैनन्।

[19] त्यसको दफन गधाको जस्तै हुनेछ; त्यसलाई घिस्याउँदै लगेर यरूशलेमको मूलढोकाको बाहिर फ्याँकिदिनेछन्।”

[20] “उक्लेर लेबनानसम्म जा, र चर्कोगरी करा, तेरो सोर बाशानसम्मै सुनिओस्; अबारीमबाट करा, किनकि तेरा सबै मित्रहरू नष्‍ट भएका छन्।

[21] तैँले आफूलाई सुरक्षित महसुस गर्दा मैले तँलाई चेतावनी दिएँ, तर तैँले भनिस्, ‘म सुन्‍नेछैनँ!’ यो त तेरो जवानीदेखिकै चाल भएको छ; तैँले मेरो आज्ञापालन गरेकै छैनस्।

[22] हावाले तेरा सबै गोठालाहरूलाई उडाइदिनेछ; अनि तेरा मित्रहरू देशबाट कैदमा लगिनेछन्। तब तेरा सबै दुष्‍ट कामहरूको कारणले तँ लज्जित र अपमानित हुनेछस्।

[23] हे लेबनानमा बस्‍नेहरू, तिमीहरू, जो देवदारुका भवनहरू बनाएर बसेका छौ, तिमीहरूमाथि जब पीडा आइपर्ला, तब तिमीहरू पीडाले चीत्कार गर्नेछौ, त्यो पीडा सुत्केरीको प्रसव वेदनाजस्तै हुनेछ!”

[24] याहवेह घोषणा गर्नुहुन्छ, “म जीवित भएझैँ, हे यहूदाका राजा यहोयाकीमको छोरा यहोयाकीन, तँ यदि मेरा दाहिने हातको छाप-औँठी नै भए तापनि म तँलाई फुकालेर फ्याँकिदिनेछु।

[25] म तँलाई मार्न चाहने मानिसहरू, बेबिलोनको राजा नबूकदनेसर र बेबिलोनीहरूका हातमा तँलाई सुम्पिदिनेछु, जससँग तँ डराउँदछस्।

[26] म तँलाई र तँलाई जन्माउने तेरी आमालाई अर्को देशमा फ्याँकिदिनेछु, जहाँ तिमीहरू कोही पनि जन्मेका थिएनौ; अनि तिमीहरू दुवै आमा छोराछोरीहरू त्यहीँ नै मर्नेछौ।

[27] तिमीहरू जन्मभूमिमा फर्कन इच्छा गर्नेछौ, तर फर्केर यहाँ कहिल्यै आउनेछैनौ।”

[28] के यो मानिस यहोयाकीन तुच्छ ठानिएको एउटा घृणित, फुटेको माटोको भाँडो हो? त्यो र त्यसका छोराछोरीहरूलाई निकालेर, तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्?

[29] हे देश, हे देश, हे देश, याहवेहको वचन सुन्!

[30] याहवेह यसो भन्‍नुहुन्छ: “यस मानिसलाई निःसन्तान भनी दर्ता गर्, यस्तो मानिस, जो जीवनकालभरि सफल हुनेछैन; किनकि त्यसको कुनै पनि सन्तान सफल हुनेछैन र कोही पनि दावीदको सिंहासनमा बस्‍नेछैन, अथवा यहूदामा फेरि कसैले पनि शासन गर्नेछैन।”

यर्मिया — Chapters