Skip to content
Opens in a new window
Listen to this chapter • 6:24

[1] यो त्यो वचन हो, जो यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको समयमा याहवेहबाट यर्मियाकहाँ आयो:

[2] “रेकाबी परिवारकहाँ गएर तिनीहरूलाई याहवेहको भवनको एक छेउको कोठामा आउने निमन्त्रणा दे, र तिनीहरूलाई दाखमद्य पिउन दे।”

[3] यसकारण म हबसिन्याहका नाति, यर्मियाका छोरा याजन्याह, उनका दाजुभाइहरू, र उनका सबै छोराहरू—रेकाबीहरूका सम्पूर्ण परिवारलाई लिन गएँ।

[4] मैले तिनीहरूलाई याहवेहको भवनको कोठामा ल्याएँ, जुन कोठाचाहिँ यिग्दल्याहका छोरा परमेश्‍वरको अगमवक्ता हानानका छोराहरूको थियो, त्यहीँ कोठामा ल्याएँ। त्यो कोठाचाहिँ शल्‍लूमको छोरा मूलढोकाको पहरेदार मासेयाहको कोठामाथि अधिकारीहरूको कोठाको छेउमा थियो।

[5] त्यसपछि मैले रेकाबी परिवारका मानिसहरूको सामु दाखमद्यले भरिएका भाँडाहरू र केही कचौराहरू राखिदिएँ; अनि तिनीहरूलाई भनेँ, “केही दाखमद्य पिउनुहोस्।”

[6] तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउदैनौँ; किनकि रेकाबका छोरा, हाम्रा पुर्खा योनादाबले हामीलाई यो आज्ञा दिएका थिए: ‘तिमीहरू र तिमीहरूका सन्तान कसैले पनि कहिल्यै दाखमद्य नपिउनू।

[7] अनि तिमीहरूले घरहरू नबनाउनू, बिउ नछर्नू अथवा दाखबारी नलगाउनू। तिमीहरूसँग यी कुनै पनि कुराहरू कहिल्यै नहोस्, तर तिमीहरू सधैँ पालहरूमा बस्‍नू। तिमीहरू प्रवासी भएर बसेको यस देशमा लामो समयसम्म बाँच्नेछौ।’

[8] हामीले हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ। न हामी आफैँले, न हाम्रा पत्नीहरूले, न त हाम्रा छोराछोरीहरूले कहिल्यै मद्य पिएका छौँ,

[9] अथवा न त आफ्ना निम्ति बस्‍न घरहरू बनाएका छौँ, न आफ्ना दाखबारीहरू लगाएका छौँ, न त खेतबारी लगाएका छौँ, न अन्‍नहरू नै जम्मा गरेका छौँ।

[10] हामी पालहरूमा बसेका छौँ, र हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ।

[11] तर बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गर्दा ‘हामीले भन्यौँ, आओ, बेबिलोनी र अरामी सेनाहरूबाट उम्कन हामी यरूशलेममा जाऔँ।’ यसरी हामी यरूशलेममै बस्दैछौँ।”

[12] तब याहवेहको यो वचन यर्मियाकहाँ आयो:

[13] “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: गएर यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्, ‘के तिमीहरूले पाठ सिक्दैनौ र मेरा कुराहरू पालन गर्दैनौ?’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

[14] ‘रेकाबको छोरा योनादाबले आफ्ना छोराहरूलाई दाखमद्य नपिउनू भनी आदेश दियो, र तिनीहरूले त्यस आज्ञालाई पालन गरेका छन्। आजको दिनसम्म तिनीहरू दाखमद्य पिउँदैनन्; किनकि तिनीहरूले आफ्ना पुर्खाको आज्ञापालन गर्छन्। तर मैले तिमीहरूलाई बारम्बार भन्दै आएको छु, तापनि तिमीहरूले मेरा आज्ञापालन गरेका छैनौ।

[15] मैले घरी-घरी तिमीहरूकहाँ आफ्ना सेवक अगमवक्ताहरूलाई पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेकले तिमीहरूका दुष्‍ट चालहरूबाट फर्क! आफ्ना कामहरू सुधार! अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पछि नलाग। तब मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्‍नेछौ।” तर तिमीहरूले मेरो वचनमा ध्यानै दिएनौ, अथवा मेरो कुरालाई सुनेनौ।

[16] रेकाबको छोरा योनादाबका सन्तानहरूले आफ्ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञाहरू पालन गरेका छन्, तर यी मानिसहरूले मेरो वचन पालन गरेका छैनन्।’

[17] “यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेममा बस्‍ने सबैमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको सबै विपत्ति ल्याउँदैछु। मैले तिनीहरूसँग बोलेँ, तर तिनीहरूले ध्यानसँग सुनेनन्; मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफ पनि दिएनन्।’ ”

[18] तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञापालन गरेका छौ र उसका सबै निर्देशनअनुसार चलेका छौ; अनि उसले आज्ञा गरेका सबै कुरा गरेका छौ।’

[19] यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘रेकाबको छोरा योनादाबको सन्तानमा मेरो सेवा गर्ने मानिसको अभाव हुनेछैन।’ ”

यर्मिया — Chapters