Skip to content
Opens in a new window
Listen to this chapter • 7:10

[1] योशियाहका छोरा, यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:

[2] याहवेहले मलाई यसो भन्‍नुभयो: “छालाको डोरी र एउटा जुवा बना, र तेरो काँधमा राख्।

[3] त्यसपछि एदोम, मोआब, टायर, अम्मोन र सीदोनका राजाहरूका राजदूतहरू, जो यरूशलेममा यहूदाको राजा सिदकियाहलाई भेट्न आएका छन्, ती राजदूतहरूद्वारा राजाकहाँ समाचार पठा।

[4] तिनीहरूका राजाहरूका निम्ति यो सन्देश दिएर भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका मालिकहरूलाई यो सन्देश भन्‍नू:

[5] मैले आफ्नो महाशक्ति र बलवान् हातले पृथ्वी र त्यसमा भएका मानिसहरू र पशुप्राणीहरू बनाएँ; जसलाई इच्छा लाग्छ त्यसैलाई म यो दिन्छु।

[6] अब म तिमीहरूका सबै देशहरू मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; म जङ्गली जनावरहरूलाई पनि त्यसको अधीनमा राखिदिनेछु।

[7] त्यस देशको पतनको समय नआइपुगेसम्म सबै जातिहरूले त्यसका छोरा र नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै राष्ट्रहरू र महान् राजाहरूले त्यसलाई आफ्नो अधीनमा पार्नेछन्।

[8] “ ‘ “तर यदि कुनै राष्ट्र अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्दैन अथवा त्यसको जुवामुनि निहुरिन चाहँदैन भने म त्यस राष्ट्रलाई नबूकदनेसरकै हातबाट नाश नभएसम्म, तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।

[9] यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्‍नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’

[10] तिनीहरू झूटो अगमवाणी गर्छन्, जसले गर्दा तिमीहरूलाई आफ्नो देशबाट टाढा लैजाने काम मात्र गर्नेछ; म तिमीहरूलाई देशबाट निकालिदिनेछु र तिमीहरू नष्‍ट हुनेछौ।

[11] तर यदि कुनै राष्ट्रले बेबिलोनको राजाको जुवामुनि निहुरेर त्यसको सेवा गर्छ भने म त्यस राष्ट्रलाई त्यसको आफ्नै देशमा खेती गर्न र बस्‍न दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।” ’ ”

[12] मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्।

[13] किन याहवेहले बेबिलोनको राजाको सेवा नगर्ने जातिहरूका निम्ति दिनुभएको चेतावनीझैँ, तँ र तेरा मानिसहरू तरवार, अनिकाल र विपत्तिद्वारा मर्न चाहन्छौ?

[14] तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, जसले तिमीहरूलाई, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ’ भन्दछन्; किनकि तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।

[15] याहवेह घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। यसकारण म तिमीहरू र तिमीहरूलाई अगमवाणी गर्ने अगमवक्ताहरू दुवैलाई देशबाट निकालिदिनेछु र तिमीहरू नाश हुनेछौ।’ ”

[16] तब मैले पुजारीहरू र यी सबै मानिसहरूलाई भनेँ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘अब चाँडै नै याहवेहको भवनका सामग्रीहरू बेबिलोनबाट फर्काएर ल्याइनेछ,’ भनेर अगमवाणी गर्ने अगमवक्ताहरूको कुरा नसुन। तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।

[17] तिनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू जीवित रहनेछौ। किन यो सहरलाई नष्‍ट हुन दिने?

[18] यदि तिनीहरू साँच्‍चै नै अगमवक्ताहरू हुन् र तिनीहरूसँग याहवेहको वचन छ भने याहवेहको भवनमा रहेका र यहूदाका राजाका महलमा र यरूशलेममा रहेका सामानहरू बेबिलोनमा नलगियोस् भनी तिनीहरूले सेनाहरूका याहवेहसँग बिन्ती गरून्।

[19] किनकि यस सहरमा छोडिएका स्तम्भहरू, काँसाको विशाल खड्कुँलो, गुड्ने गाडाहरू र अरू सामग्रीहरूको विषयमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ,

[20] जुन कुराहरू बेबिलोनका राजा नबूकदनेसरले यहोयाकीमका छोरा, यहूदाका राजा यहोयाकीनलाई यहूदा र यरूशलेमका मुख्य मनिसहरूसहित, यरूशलेमबाट बेबिलोनमा कैद गरेर लैजाँदा ती सामानहरू लगेका थिएनन्—

[21] हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

[22] ‘ती सामानहरू बेबिलोनमा लगिनेछन्; अनि म तिनीहरूका निम्ति केही नगरेसम्म ती त्यहीँ रहनेछन्,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘त्यसपछि म तिनीहरूलाई यरूशलेममा फर्काएर ल्याउनेछु र तिनीहरूलाई यस ठाउँमा पुनर्स्थापित गर्नेछु।’ ”

यर्मिया — Chapters