[1] याहवेहको यो वचन यर्मियाकहाँ त्यस बेला आयो, जब राजा सिदकियाहले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई यर्मियाकहाँ पठाएका थिए। तिनीहरूले भने:
[2] “बेबिलोनका राजा नबूकदनेसर हामीलाई आक्रमण गर्न आउँदैछन्; त्यसैले याहवेहसँग हाम्रा निम्ति सोधखोज गरिदिनुहोस्। सायद याहवेहले बितेका समयमा गरेझैँ, हाम्रा निम्ति अद्भुत कार्यहरू गर्नुहुनेछ, र नबूकदनेसर हामीबाट फिर्ता जानेछन्।”
[3] तर यर्मियाले तिनीहरूलाई जवाफ दिए, “सिदकियाहलाई भन,
[4] ‘याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका हातमा जुन हतियारहरू छन्, जसद्वारा पर्खालबाहिर तिमीहरूलाई घेरा हाल्ने बेबिलोनको राजा र बेबिलोनीहरूको विरुद्धमा तिमीहरू लडाइँ लड्छौ, ती हतियारहरूलाई तिमीहरूकै विरुद्धमा म फर्काउन लागेको छु। अब म तिनीहरूलाई यस सहरभित्र भेला गराउनेछु।
[5] मेरो आफ्नै पसारिएको हात र शक्तिशाली पाखुराले भयानक रिस र प्रचण्ड क्रोधमा तिमीहरूको विरुद्धमा लडाइँ गर्नेछु।
[6] म यस सहरमा बस्नेहरू: के मानिसहरू, के पशुहरू दुवैलाई प्रहार गर्नेछु; अनि तिनीहरू भयानक रूढीले मर्नेछन्।
[7] त्यसपछि याहवेह घोषणा गर्नुहुन्छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस सहरका सबै मानिसहरू, जो विपत्ति, तरवार र अनिकालबाट बाँच्नेछन्, म तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसर र तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिनेछु। शत्रुहरूले तिनीहरूलाई तरवारले मार्नेछन्। यी मानिसहरूले तिनीहरूलाई कुनै दया, माया र करुणा देखाउनेछैनन्।’
[8] “यी मानिसहरूलाई अझै भन्, ‘याहवेह यसो भन्नुहुन्छ: हेर, म तिमीहरूका निम्ति जीवनको बाटो र मृत्युको बाटो राख्दैछु।
[9] यस सहरमा बस्ने सबै तरवार, अनिकाल र विपत्तिद्वारा मर्नेछन्। तर यस सहरबाट बाहिर निस्कने र तिमीहरूलाई घेरेर बसिरहेका बेबिलोनीहरूकहाँ आत्मसमर्पण गर्ने सबै बाँच्नेछन्। तिनीहरू आफ्नो ज्यान जोगाएर भाग्न सक्छन्।
[10] मैले यस सहरलाई भलाइ होइन, तर हानि गर्ने निर्णय गरेको छु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले यसलाई आगोले भस्म गर्नेछ।’
[11] “यसबाहेक यहूदाको राजकीय घरानालाई यसो भन्, ‘याहवेहको वचन सुन!
[12] हे दावीदका घराना, याहवेह तिमीहरूलाई यसो भन्नुहुन्छ: “ ‘हरेक बिहान न्याय कायम गर; जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर्, नत्रता तैँले गरेको दुष्ट कामको कारण मेरो क्रोध आगोजस्तै दन्किनेछ; अनि त्यसलाई निभाउने कोही पनि हुनेछैन।
[13] हे यरूशलेम, म तेरो विरुद्धमा छु; तँ, जो यस बेँसीको उच्च चट्टानमा बस्छस्, याहवेह घोषणा गर्नुहुन्छ, तँ भन्छस् कि, “तेरो विरुद्धमा को आउनसक्छ र? हाम्रो शरणस्थानमा को प्रवेश गर्न सक्छ?”
[14] म तिमीहरूका कामहरूको फलअनुसार तिमीहरूलाई दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। म तिमीहरूका जङ्गलहरूमा आगो लगाइदिनेछु, जसले तिमीहरूका चारैतिरका सबै थोकलाई भस्म पारिदिनेछ।’ ”