Skip to content
Opens in a new window
Listen to this chapter • 12:43

[1] “धिक्‍कार ती गोठालाहरूलाई, जसले मेरा खर्कका भेडाहरूलाई नाश गर्दैछन् र छरपस्ट पार्दैछन्!” याहवेह घोषणा गर्नुहुन्छ।

[2] यसकारण याहवेह इस्राएलका परमेश्‍वर आफ्ना भेडाहरूको हेरचाह गर्ने गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपस्ट पारेर टाढा धपाइदिएका कारण र तिनीहरूको हेरचाह नगरेको कारण, तिमीहरूले गरेको दुष्‍ट कामका निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” याहवेह भन्‍नुहुन्छ।

[3] “मैले तिनीहरूलाई धपाइदिएका सबै देशहरूबाट मेरा बगालका बाँचेकाहरूलाई म आफैँ भेला गर्नेछु र तिनीहरूलाई तिनीहरूकै खर्कमा फर्काएर ल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र संख्यामा वृद्धि हुँदै जानेछन्।

[4] म तिनीहरूमाथि गोठालाहरू राखिदिनेछु, जसले तिनीहरूको हेरचाह गर्नेछन्; अनि तिनीहरू फेरि डराउनेछैनन् र त्रसित हुनेछैनन्, न त कोही हराउनेछन्,” याहवेह भन्‍नुहुन्छ।

[5] याहवेह यसो भन्‍नुहुन्छ, “हेर, ती दिनहरू निश्‍चित रूपमा आउँदैछन्, जब म दावीदको निम्ति एउटा धर्मी हाँगा खडा गर्नेछु; यस्तो राजा, जसले बुद्धिमान् भएर राज्य गर्नेछ; अनि देशमा जे न्याय र धार्मिक छ, त्यसले त्यही गर्नेछ।

[6] त्यस राजाको समयमा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षासाथ बास गर्नेछ। त्यो त्यही नाम हो, जसद्वारा उहाँलाई बोलाइनेछ: याहवेह हाम्रा धार्मिक उद्धारकर्ता।”

[7] “यसकारण अब यस्ता दिनहरू आउँदैछन्,” भनी याहवेह भन्‍नुहुन्छ, “अब उसो मानिसहरूले यसो भन्‍नेछैनन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’

[8] तर तिनीहरूले भन्‍नेछन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै देशहरूबाट निकालेर ल्याउनुभयो।’ ”

[9] अगमवक्ताहरूको विषयमा: मेरो हृदय मभित्रै टुटेको छ; मेरा सबै हड्डीहरू काप्छन्। याहवेह र उहाँको पवित्र वचनको कारणले मात्तिएको म एउटा मतवालाजस्तै भएको छु, दाखमद्यले लट्ठ मातेको मानिसजस्तै छु।

[10] सारा देश व्यभिचारीहरूले भरिएको छ; श्रापको कारण देशका मानिसहरू शोक गर्दैछन्; अनि उजाडस्थानका खर्कहरू सुकेका छन्। तिनीहरूका अगमवक्ताहरू दुष्‍ट मार्ग पछ्याउँछन्, र तिनीहरूको शक्ति अन्यायको लागि प्रयोग गर्छन्।

[11] “अगमवक्ता र पुजारी दुवै ईश्‍वरहीन छन्; मेरो मन्दिरमा पनि म तिनीहरूको दुष्‍टता भेट्टाउँछु,” याहवेह घोषणा गर्नुहुन्छ।

[12] “यसकारण तिनीहरूका बाटाहरू चिप्ला हुनेछन्; तिनीहरू अँध्यारोमा बाहिर फ्याँकिनेछन्, र तिनीहरू त्यसैमा ठेस खाएर लड्नेछन्। तिनीहरूले दण्ड पाउने वर्षमा, म तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

[13] “सामरियाका अगमवक्ताहरूबीच मैले यी घिनलाग्दा कामहरू देखेँ: तिनीहरूले बाल-देवताको नाममा अगमवाणी गरे, र मेरो जाति इस्राएललाई गलत बाटोमा बहकाए।

[14] अनि यरूशलेमका अगमवक्ताहरूका बीच मैले केही भयानक कुराहरू देखेँ: तिनीहरू व्यभिचार गर्छन् र झूटलाई पछ्याउँछन्। तिनीहरूले दुष्‍ट काम गर्ने मानिसहरूलाई प्रोत्साहित गर्छन्, ताकि कोही पनि तिनीहरूको दुष्‍टताबाट नफर्कून्। मेरा निम्ति तिनीहरू सबै सदोमजस्ता छन्; यरूशलेमका मानिसहरू गमोराका मानिसहरूजस्ता छन्।”

[15] यसकारण अगमवक्ताहरूको बारेमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म तिनीहरूलाई तितो भोजन खान लगाउनेछु, र विषालु पानी पिउन दिनेछु; किनभने यरूशलेमका अगमवक्ताहरूले देशभरि नै भक्तिहीनता फैलाएका छन्।”

[16] सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “अगमवक्ताहरूले तिमीहरूलाई अगमवाणी गरेका कुराहरूमा ध्यान नदेओ; तिनीहरूले तिमीहरूलाई झूटो आशाले भरिदिन्छन्। तिनीहरूले याहवेहको मुखबाट होइन, तर आफ्नो मनबाट दर्शनहरू बताउँछन्।

[17] मलाई घृणा गर्ने मानिसहरूलाई तिनीहरू यसो भनिरहन्छन्; ‘याहवेह भन्‍नुहुन्छ, तिमीहरूलाई शान्ति हुनेछ।’ अनि अटेरी गरेर आफ्नै हृदयका हठीपनको पछि लाग्नेहरूलाई तिनीहरू भन्छन्, ‘तिमीहरूलाई कुनै पनि हानि हुनेछैन।’

[18] तर अगमवक्ताहरूमध्ये कोचाहिँ हेर्नलाई अथवा उहाँको वचन सुन्‍न भनी याहवेहको सभामा खडा भएको छ? उहाँको वचन कसले ध्यान दिएर सुनेको छ?

[19] हेर, याहवेहको क्रोध आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; त्यो दुष्‍टहरूका टाउकामाथि बतासको भुमरीको झोक्‍काझैँ बजारिनेछ।

[20] याहवेहको रिस उहाँको हृदयका उद्देश्यहरू पूर्ण रूपमा पूरा नभएसम्म उहाँको रिस शान्त हुनेछैन। आउने न्यायका दिनहरूमा तिमीहरूले यो कुरा छर्लङ्ग बुझ्नेछौ।

[21] मैले यी अगमवक्ताहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरू आफ्नै सन्देश लिएर दौडिएका छन्; मैले तिनीहरूलाई कुनै सन्देश दिएको छैनँ, तापनि तिनीहरूले मेरो नाममा अगमवाणी गरेका छन्।

[22] तर यदि तिनीहरू मेरो सभामा खडा भएका भए, र तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन घोषणा गरेका भए; तिनीहरूले तिनीहरूलाई आफ्ना दुष्‍ट चालहरूबाट र तिनीहरूका दुष्‍ट कामहरूबाट फर्काउनेथिए।”

[23] याहवेह घोषणा गर्नुहुन्छ, “के म नजिकमा मात्र रहने परमेश्‍वर हुँ र, अनि टाढाको परमेश्‍वरचाहिँ होइन र?”

[24] याहवेह घोषणा गर्नुहुन्छ, “कसले आफूलाई गुप्‍त ठाउँहरूमा लुकाउन सक्छ, जहाँ म तिमीहरूलाई देख्न सक्दिनँ? के म स्वर्ग र पृथ्वी दुवै ठाउँमा देख्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ।

[25] “मेरो नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूले भनेको कुरा मैले सुनेको छु। तिनीहरू भन्दछन्, ‘मैले सपना देखेको छु! मैले सपना देखेको छु!’

[26] यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्?

[27] ती अगमवक्ताहरू सोच्दछन्, कि तिनीहरूले एक-आपसमा भनेका सपनाहरूले गर्दा, मेरा मानिसहरूले मेरो नाम बिर्सनेछन्, जसरी तिनीहरूका पितापुर्खाहरूले बाल-देवतालाई पूजा गरेर मेरो नाम बिर्सेका थिए।

[28] सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्‍वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्‍नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ।

[29] “के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?”

[30] याहवेह घोषणा गर्नुहुन्छ, “यसकारण म ती झूटा अगमवक्ताहरूको विरुद्धमा छु, जसले एक-अर्काबाट वचनहरू चोर्छन्, र मबाट आएको वचन हो भन्दै घोषणा गर्छन्।”

[31] याहवेह घोषणा गर्नुहुन्छ, “हो, म ती अगमवक्ताहरूको विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, तर पनि भन्दछन्, ‘याहवेह घोषणा गर्नुहुन्छ।’

[32] हेर, म झूटो सपनाको अगमवाणी गर्ने अगमवक्ताहरूको विरुद्धमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूले तिनीहरूका झूटा अगमवाणीहरू भन्दछन् र आफ्ना अहङ्कारी झूटा कुराहरूद्वारा मेरा मानिसहरूलाई बहकाइदिन्छन्। तर मैले तिनीहरूलाई पठाएको अथवा नियुक्त गरेकै होइनँ। तिनीहरूले यी मानिसहरूलाई कुनै फाइदा पुर्‍याउँदैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।

[33] “जब यी मानिसहरू अथवा अगमवक्ताहरू अथवा पुजारीहरूले ‘याहवेहको सन्देश के छ?’ भनी तँलाई सोध्दछन्, तब तिनीहरूलाई भन् ‘कस्तो सन्देश? म तिमीहरूलाई त्यागिदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।’

[34] यदि कुनै अगमवक्ता अथवा पुजारी अथवा कसैले ‘याहवेहको सन्देश यही हो’ भनी दाबी गर्छ भने म त्यो मानिस र त्यसको परिवारलाई दण्ड दिनेछु।

[35] तिमीहरूमध्ये हरेकले आफ्ना साथीहरू वा अरू इस्राएलीहरू वा एक-अर्कालाई यसरी सोधिरहने गर्छौ: ‘याहवेहको जवाफ के छ? अथवा याहवेहले के बोल्नुभएको छ?’

[36] तर तिमीहरूले फेरि ‘यो याहवेहको सन्देश हो’ भनेर उल्‍लेख नगर्नू; किनभने हरेक मानिसको आफ्नै कुरा उसको ईश्‍वरवाणी हुन्छ। यसरी तिमीहरूले जीवित परमेश्‍वर, सेनाहरूका याहवेह हाम्रा परमेश्‍वरको वचनलाई बङ्ग्याउँछौ।

[37] तिमीहरूले अगमवक्तालाई यसो भन्‍नू, ‘तिमीहरूलाई याहवेहको जवाफ के छ? अथवा याहवेहले के भन्‍नुभएको छ?’

[38] यद्यपि तिमीहरूले याहवेहको सन्देश यही हो भनेर दाबी गरे तापनि याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले यो याहवेहको सन्देश हो,’ भनेर दाबी नगर्नू भनेर मैले तिमीहरूलाई भने तापनि तिमीहरूले ‘यो याहवेहको सन्देश हो’ भनी दाबी गर्‍यौ।

[39] यसकारण, निश्‍चय नै म तिमीहरूलाई बिर्सनेछु, र मैले तिमीहरू र तिमीहरूका पितापुर्खालाई दिएको सहरको साथसाथै, मैले तिमीहरूलाई मेरो उपस्थितिबाट पनि बाहिर निकालिदिनेछु।

[40] म तिमीहरूमाथि अनन्तसम्म रहने यस्तो लाज र अनन्तको बदनामी ल्याउनेछु, कि त्यो कहिल्यै बिर्सिइनेछैन।”

यर्मिया — Chapters