Skip to content
Opens in a new window
Listen to this chapter • 4:20

[1] जब यर्मियाले मानिसहरूलाई याहवेह तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नू भनेर पठाउनुभएको प्रत्येक कुराहरू तिनले भनिसिद्ध्याए,

[2] तब होशायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसहरूले यर्मियालाई यसो भने, “तिमीले झूट बोलिरहेका छौ! याहवेह हाम्रा परमेश्‍वरले तिमीलाई ‘तिमीहरू इजिप्टमा बसोबास गर्नलाई जाँदै नजानू’ भनेर भन्‍न पठाउनुभएको होइन;

[3] तर बेबिलोनीहरूले हामीलाई मारून् अथवा हामीलाई कैद गरेर बेबिलोनमा लैजाऊन् भनी नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा बेबिलोनीहरूको हातमा हामीलाई सुम्पिदिन उस्काउँदैछ।”

[4] यसकारण कारेहका छोरा योहानान, सेनाका सबै अधिकारीहरू र सबै मानिसहरूले यहूदाको देशमै बस्‍नू भन्‍ने परमेश्‍वरको आज्ञापालन गरेनन्।

[5] त्यसको सट्टा यहूदाका बाँकी रहेका सबै मानिसहरू, जो अरू देशमा तितरबितर भएका थिए; अनि अहिले यहूदामा बस्‍नलाई फर्केर आएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र सेनाका सबै अधिकारीहरूले आफूसितै लगे।

[6] राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति अहीकामका छोरा गदल्याहको जिम्मामा छोडेकाहरू—पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरू, यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकसमेत सबै मानिसहरूसँगै तिनीहरूले लगे।

[7] यसरी तिनीहरू याहवेहको आज्ञा उल्‍लङ्घन गर्दै इजिप्टमा प्रवेश गरे, र तहपनेससम्म पुगे।

[8] तहपनेसमा याहवेहको वचन यर्मियाकहाँ आयो:

[9] “यहूदीहरूले हेरिरहेका बेला, तैँले आफूसँग केही ठूला ढुङ्गाहरू लिनू, र तहपनेसमा भएको फारोको राजमहलको प्रवेशद्वारको बाटोमा छापेका इँटामुनिको माटोमा ती ढुङ्गालाई गाडिदिनू।

[10] त्यसपछि तिनीहरूलाई यसो भन्‍नू, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई ल्याउनेछु र यस ठाउँमा पठाउनेछु; अनि म त्यसको सिंहासन मैले गाडेका यी ढुङ्गाहरूमाथि खडा गर्नेछु। त्यसले आफ्नो राजकीय मण्डप यसमाथि फैलाउनेछ।

[11] तब त्यो आउनेछ र त्यसले इजिप्टमाथि आक्रमण गर्नेछ; अनि मृत्युको निम्ति छुट्याइएकाहरूमा मृत्यु नै आउनेछ, कैदको निम्ति छुट्याइएकाहरू कैदमा नै जानेछन्, र तरवारका निम्ति छुट्याइएकाहरू तरवारले काटिनेछन्।

[12] त्यसले इजिप्टका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ, र तिनीहरूका मन्दिरहरू जलाइदिनेछ; अनि तिनीहरूका देवताहरूलाई कैद गरेर लैजानेछ। जसरी गोठालाले आफ्नो लुगालाई सफा गर्न जुम्रा निकालेर फ्याँक्छ, त्यसरी नै त्यसले इजिप्टलाई निकालेर सफा गरेर सुरक्षितसाथ बाटो लाग्नेछ।

[13] त्यहाँ इजिप्टमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरूलाई ढालिदिनेछ; अनि इजिप्टका देवताहरूका मन्दिरहरूलाई आगोले भस्म पारिदिनेछ।’ ”

यर्मिया — Chapters