Skip to content
Opens in a new window
Listen to this chapter • 4:41

[1] त्यही वर्षको पाँचौँ महिनामा, यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षको सुरुवातमा गिबोनमा बस्‍ने अज्जूरको छोरा हनन्याह अगमवक्ताले याहवेहको भवनमा पुजारीहरू र मानिसहरूका उपस्थितिमा मलाई भने,

[2] “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।

[3] बेबिलोनको राजा नबूकदनेसरले यस ठाउँबाट निकालेर बेबिलोनमा लगेका याहवेहको भवनका सबै सामग्रीहरू दुई वर्षभित्र नै म फर्काएर ल्याउनेछु।

[4] यहोयाकीमका छोरा यहूदाको राजा यहोयाकीन र यहूदाबाट निकालिएर बेबिलोनमा लगिएका अरू सबै मानिसहरूलाई पनि म यस ठाउँमा फर्काएर ल्याउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।’ ”

[5] तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई याहवेहको भवनमा उभिरहेका पुजारीहरू र सबै मानिसहरूको सामु जवाफ दिए।

[6] तिनले भने, “आमेन! याहवेहले त्यसै गरून्! याहवेहको भवनका सबै सामग्रीहरू र निर्वासनमा लगिएका सबैलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याउने भनेर, तिमीले गरेको अगमवाणीका वचनहरू याहवेहले पूरा गरिदेऊन्।

[7] तापनि सुन, तिमी र सबै मानिसहरूले सुन्‍ने गरी म केही कुरा भन्‍न चाहन्छु सुन:

[8] सुरुदेखि नै तिमी र मभन्दा अगिका अगमवक्ताहरूले धेरै देशहरू र ठूला राज्यहरूको विरुद्धमा लडाइँ, विपत्ति र रूढीको अगमवाणी गर्थे।

[9] तर याहवेहको शान्तिको अगमवाणी गर्ने अगमवक्तालाई साँच्‍चै याहवेहले नै पठाउनुभएको हो भनेर तब मात्र चिनिन्छ, जब त्यसले भनेको अगमवाणीहरू पूरा हुन्छ।”

[10] तब अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर त्यसलाई भाँचिदिए;

[11] अनि तिनले सबै मानिसहरूको सामु भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यसै गरी म दुई वर्षभित्र सबै राष्ट्रहरूका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु।’ ” त्यसपछि अगमवक्ता यर्मियाचाहिँ आफ्नो बाटो लागे।

[12] अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिएपछि यर्मियाकहाँ याहवेहको वचन आयो:

[13] “जा, र हनन्याहलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले काठको जुवा भाँचिस्, तर त्यसको ठाउँमा फलामको जुवा पाउनेछस्।’

[14] सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘बेबिलोनको राजा नबूकदनेसरको सेवा गरून् भनेर म यी सबै राष्ट्रहरूका काँधमा फलामको जुवा राखिदिनेछु; अनि तिनीहरूले नबूकदनेसरको सेवा गर्नेछन्। म त्यसलाई जङ्गली जनावरहरूमाथि पनि अधिकार गर्नलाई दिनेछु।’ ”

[15] तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन, हनन्याह! याहवेहले तिमीलाई पठाउनुभएको थिएन, तर पनि तिमीले यस राष्ट्रलाई झूटो अगमवाणीका कुराहरूमा विश्‍वास गर्न लगायौ।

[16] यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई पृथ्वीबाट हटाउन लागेको छु। तँ यही वर्ष नै मर्नेछस्; किनभने तैँले याहवेहको विरुद्धमा विद्रोहको प्रचार गरिस्।’ ”

[17] अनि त्यही वर्षको सातौँ महिनामा अगमवक्ता हनन्याहको मृत्यु भयो।

यर्मिया — Chapters