Skip to content
Opens in a new window
Listen to this chapter • 3:12

[1] यहूदाका राजा यहोयाकीमको छोरा, यहोयाकीन र अधिकारीहरू, यहूदाका कारिगरहरू र शिल्पकारहरूलाई, बेबिलोनको राजा नबूकदनेसरले यरूशलेमबाट बेबिलोनको निर्वासनमा लगेपछि याहवेहले मलाई याहवेहको मन्दिरको सामु राखिएका दुई डाला नेभाराहरू देखाउनुभयो।

[2] एउटा डालोमा पहिले पाकेका खूब असल नेभाराहरू थिए; अर्को डालोमा चाहिँ अति नराम्रा नेभाराहरू थिए। ती खानै नसकिने अति खराब थिए।

[3] तब याहवेहले मलाई सोध्नुभयो, “यर्मिया, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म नेभाराहरू देख्दैछु। राम्रा नेभाराहरू अति राम्रा छन्, तर नराम्राहरूचाहिँ खानै नसकिने खराब छन्।”

[4] त्यसपछि याहवेहको वचन मकहाँ आयो:

[5] “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म यहूदाका मानिसहरूलाई यी असल नेभाराहरूजस्ता ठान्छु, जसलाई मैले यस ठाउँबाट बेबिलोनीहरूको देशमा निर्वासनमा पठाएको थिएँ।

[6] तिनीहरूको भलाइका निम्ति म मेरो दृष्‍टि तिनीहरूमाथि लगाउनेछु, र म तिनीहरूलाई यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ।

[7] म तिनीहरूलाई म नै याहवेह हुँ भनी जान्‍ने हृदय दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु; किनभने तिनीहरू आफ्ना सम्पूर्ण हृदयले मतिर फर्कनेछन्।

[8] “ ‘याहवेह घोषणा गर्नुहुन्छ, तर ती खानै नसकिने धेरै खराब नराम्रा नेभाराहरूजस्तै, म यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमबाट बाँचेकाहरूसँग ती नेभाराहरूलाई जस्तै व्यवहार गर्नेछु, चाहे तिनीहरू यस देशमा रहून्, अथवा इजिप्टमै रहून्।

[9] म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणित र अपमानित तुल्याउनेछु। मैले तिनीहरूलाई निकालेर जहाँ-जहाँ खेदे तापनि तिनीहरूलाई निन्दा, श्राप र गिल्‍लाको पात्र तुल्याउनेछु।

[10] मैले तिनीहरू र तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशबाट तिनीहरू पूरै नाश नभएसम्म म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र महामारी पठाउनेछु।’ ”

यर्मिया — Chapters