Skip to content
Opens in a new window
Listen to this chapter • 15:29

[1] जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए।

[2] त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए।

[3] तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।

[4] याहवेहले मोशालाई भन्‍नुभयो,

[5] “ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।”

[6] यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।

[7] गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए।

[8] अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए।

[9] तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।

[10] जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।

[11] किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”

[12] पहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए।

[13] नहशोनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[14] धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;

[15] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एक वर्षको थुमा ल्याए;

[16] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[17] र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। योचाहिँ अम्मीनादाबका छोरा नहशोनको भेटी थियो।

[18] दोस्रो दिन इस्साखारका अगुवा सूआरका छोरा नथनिएलले आफ्ना भेटीहरू ल्याए।

[19] नथनिएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको छर्कने बाटा र थाल; त्यस बाटा र थाल दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[20] धूपले भरिएको दश शेकेल तौलको एउटा सुनको कचौरा;

[21] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा ल्याए;

[22] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका ल्याए;

[23] र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। सूआरको छोरा नथनिएलका भेटीहरू यिनै हुन्।

[24] तेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए।

[25] एलिआबको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[26] धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;

[27] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

[28] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[29] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। हेलोनका छोरा एलिआबको भेटी यही थियो।

[30] चौथो दिन रूबेनका मानिसहरूका अगुवा, शदेऊरका छोरा एलिसूरले आफ्नो भेटी ल्याए।

[31] एलिसूरको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[32] धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;

[33] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;

[34] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[35] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। शदेऊरका छोरा एलिसूरको भेटी यही थियो।

[36] पाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए।

[37] शलूमीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[38] धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

[39] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

[40] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[41] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। सूरीशद्दैका छोरा शलूमीएलले चढाएको भेटी यही थियो।

[42] छैटौँ दिन गादका मानिसहरूका अगुवा देउएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।

[43] एल्यासापको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[44] धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

[45] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

[46] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[47] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। देउएलका छोरा एल्यासापले ल्याएको भेटी यही थियो।

[48] सातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए।

[49] एलिशामाको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[50] धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

[51] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;

[52] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[53] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीहूदका छोरा एलिशामाको भेटी यही थियो।

[54] आठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।

[55] तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[56] धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

[57] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

[58] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[59] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।

[60] नवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।

[61] अबीदानको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[62] धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

[63] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

[64] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[65] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। गिदोनीको छोरा अबीदानको भेटी यही थियो।

[66] दशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए।

[67] अहीएजेरको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[68] धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

[69] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

[70] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[71] अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।

[72] एघाह्रौ दिन आशेरका मानिसहरूका अगुवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।

[73] पगीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

[74] धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा;

[75] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

[76] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[77] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। ओक्रानका छोरा पगीएलको भेटी यही थियो।

[78] बाह्रौँ दिनमा नप्‍तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।

[79] अहीराको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएकाको थिए;

[80] धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

[81] होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

[82] पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

[83] र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। एनानका छोरा अहीराको भेटी यही थियो।

[84] वेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो: चाँदीका बाह्र वटा थालहरू, चाँदीका बाह्र वटा छर्कने बाटाहरू र सुनका बाह्र वटा कचौराहरू थिए।

[85] पवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल थियो।

[86] धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो।

[87] होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्‍नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए।

[88] मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए। वेदीको अभिषेक भएपछि त्यसको समर्पणताका निम्ति आएका भेटीहरू यिनै हुन्।

[89] जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।

गन्ती — Chapters