[1] जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्न हुनुहुन्छ भन्ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे।
[2] जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्वरका आत्मा बालाममाथि आउनुभयो।
[3] अनि तिनले आफ्नो सन्देश भन्न थाले: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी जसको आँखाले स्पष्ट गरी देख्छ;
[4] उसको अगमवाणी, जसले परमेश्वरको वचन सुन्छ, जसले सर्वशक्तिमान्बाट दर्शन देख्छ, जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्ला रहन्छन्:
[5] “हे याकोब, तेरा पालहरू, हे इस्राएल, तेरा पवित्र वासस्थानहरू कति सुन्दर छन्!
[6] “टाढासम्म फैलिएका बेँसीहरूझैँ, नदीको छेउमा भएका बगैँचाहरूझैँ, याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, पानीको छेउमा भएका देवदारुहरूझैँ।
[7] तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; तिनीहरूको राज्य उच्च पारिनेछ।
[8] “परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्।
[9] तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!”
[10] त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीनपल्ट आशिष् दिनुभयो।
[11] अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।”
[12] बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ,
[13] ‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्नुभएको कुरा मात्र भन्नुपर्छ भनेर भनेको थिइनँ र?’
[14] अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”
[15] तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्ट गरी देख्छ;
[16] उसको अगमवाणी, जसले परमेश्वरले भन्नुभएको वचन सुन्छ, जससँग सर्वशक्तिमान् परमेश्वरको ज्ञान छ; जसले सर्वोच्चबाट दर्शन देख्छ: जसले झुकेर दण्डवत् गर्छ, र जसका आँखा खुल्ला रहन्छन्:
[17] “म उहाँलाई देख्छु, तर अहिले होइन; म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकोबबाट एउटा तारा निस्कनेछ; इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। अनि त्यसले मोआबका निधारहरू र शेतका सबै मानिसहरूका टाउको कुच्याउनेछ।
[18] एदोम पराजित हुनेछ; त्यसको शत्रु सेइर पराजित हुनेछ। तर इस्राएलचाहिँ बलियो हुँदै जानेछ।
[19] याकोबबाट एउटा शासक निस्कनेछ। अनि त्यसले सहरका बाँचेकाहरूलाई नाश गर्नेछ।”
[20] तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने: “अमालेक राष्ट्रहरूमा पहिलो थियो, तर तिनीहरूको अन्त्य पूर्ण रूपमा विनाश हुनेछ।”
[21] तब तिनले केनीहरूलाई देखेर आफ्नो सन्देश भने: “तेरो बस्ने स्थान सुरक्षित छ; तेरो गुँड चट्टानमा बसालिएको छ;
[22] तरै पनि जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजान्छन् तिमी केनीहरू नष्ट हुनेछौ।”
[23] तब बालामले सन्देश गरे: “हाय! परमेश्वरले यसो गर्नुहुँदा को जीवित रहन सक्छ?
[24] जहाजहरू कित्तीम किनारबाट आउनेछन्; तिनीहरूले अश्शूर र एबेरलाई दमन गर्नेछन्। तर तिनीहरू पनि नष्ट हुनेछन्।”
[25] त्यसपछि बालाम उठे, र आफ्नो घरतिर फर्के। अनि बालाक पनि आफ्नो बाटो लागे।