Skip to content
Opens in a new window
Listen to this chapter • 3:05

[1] मोशाले एउटी कूशी स्त्रीसित विवाह गरेको कारण त्यस कूशी स्त्रीको बारेमा मिरियम र हारूनले मोशाको विरुद्धमा बोल्न थाले।

[2] तिनीहरूले भने, “के याहवेह मोशाद्वारा मात्र बोल्नुभएको छ र? के उहाँ हामीद्वारा पनि बोल्नुभएको छैन र?” अनि याहवेहले यो कुरा सुन्‍नुभयो।

[3] (मोशाचाहिँ अति नै नम्र मानिस थिए। पृथ्वीमा सबैभन्दा नम्र व्यक्ति थिए।)

[4] याहवेहले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीन जना बाहिर भेट हुने पालमा आओ।” यसकारण ती तीन जना बाहिर आए।

[5] त्यसपछि याहवेह बादलको खाँबोमा भएर ओर्ली आउनुभयो। उहाँ पालको प्रवेशद्वारमा उभिनुभयो। अनि उहाँले हारून र मिरियमलाई बोलाउनुभयो। जब तिनीहरू दुवै जना अगि आए,

[6] तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो वचन सुन: “यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने, म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ; अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ।

[7] तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; त्यो त मेरो सारा घरानामा विश्‍वासयोग्य छ।

[8] त्यससँग म आमने-सामने कुरा गर्छु, उखान-टुक्‍कामा होइन। तर स्पष्‍ट गरी बोल्दछु। त्यसले याहवेहको आकृतिलाई देख्दछ। त्यसो भए किन तिमीहरू मेरो सेवक मोशाको विरुद्धमा बोल्न डराएनौ?”

[9] याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो।

[10] जब पालमाथिबाट बादल हट्यो, तब मिरियमलाई कुष्‍ठरोग लागेर तिनको छाला हिउँजस्तै सेतो भयो। हारून तिनीतर्फ फर्के, र तिनलाई छालाको रोग भएको देखे।

[11] अनि हारूनले मोशासँग पुकार गरे, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पापको सजाय हामीलाई नदिनुहोस्।

[12] यिनलाई आमाको गर्भमा नै आधा मासु कुहिएर जन्मिएको शिशुजस्तो हुन नदिनुहोस्।”

[13] यसकारण मोशाले पुकार गरे, “हे याहवेह परमेश्‍वर, बिन्ती छ, यिनलाई निको पारिदिनुहोस्!”

[14] याहवेहले मोशालाई जवाफ दिनुभयो, “त्यसका पिताले त्यसको मुखमा थुकिदिएको मात्र भए के त्यो सात दिनसम्म कलङ्कित हुने थिइन? त्यसलाई सात दिनसम्म पालबाहिर राख्नू। त्यसपछि त्यसलाई फर्काएर ल्याउनू।”

[15] यसकारण मिरियमलाई सात दिनसम्म पालदेखि बाहिर एकान्तमा एकलै राखियो। अनि तिनलाई फर्काएर नल्याएसम्म मानिसहरू अगि बढेनन्।

[16] त्यसपछि मानिसहरूले हसेरोतलाई छोडे। अनि पारानको मरुभूमिमा छाउनी हालेर बसे।

गन्ती — Chapters