Skip to content
Opens in a new window
Listen to this chapter • 5:35

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशको बारेमा जासुसी गर्नलाई केही मानिसहरू पठा। इस्राएलीहरूका पुर्खाहरूका हरेक कुलबाट एक-एक जना अगुवा पठा।”

[3] यसकारण याहवेहको आज्ञाअनुसार मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका अगुवाहरू थिए।

[4] तिनीहरूका नाम यिनै हुन्: रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;

[5] शिमियोनको कुलबाट होरीका छोरा शापात;

[6] यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब;

[7] इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;

[8] एफ्राइमको कुलबाट नूनका छोरा होशे;

[9] बेन्यामीनको कुलबाट रफूका छोरा पल्ती;

[10] जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;

[11] योसेफको एउटा कुल अर्थात् मनश्शेको कुलबाट सूसीका छोरा गद्दी;

[12] दानको कुलबाट गमल्‍लीका छोरा अम्मीएलओ;

[13] आशेरको कुलबाट मिखाएलका छोरा सतूर;

[14] नप्‍तालीको कुलबाट वोप्सीका छोरा नहबी;

[15] गादको कुलबाट माकीकका छोरा गूएल।

[16] मोशाले कनान देशको जासुस गर्न पठाएका मानिसहरूका नाम यिनै हुन्। (मोशाले नूनका छोरा होशियालाई यहोशू नाम दिए।)

[17] मोशाले तिनीहरूलाई कनान देशको बारेमा जासुस गर्न पठाउँदा तिनीहरूलाई भने, “दक्षिणतिर हुँदै अगि बढेर पहाडी मुलुकमा जानू।

[18] त्यो देश कस्तो रहेछ, र त्यहाँ बस्‍ने मानिसहरू बलिया छन् कि कमजोर; थोरै छन् कि धेरै छन्, हेर।

[19] तिनीहरू बस्‍ने देश कस्तो प्रकारको छ? त्यो असल छ कि खराब छ? तिनीहरू बसेका सहरहरू कस्ता प्रकारका छन्? ती पर्खालविनाका छन् कि बलियो किल्‍ला भएका छन्, हेर।

[20] त्यो देशको माटो कस्तो छ? त्यहाँको माटो मलिलो छ कि रुखो छ? त्यहाँ रूखपातहरू छन् कि छैनन्? तिमीहरूले त्यस देशका केही फलफूलहरू ल्याउनलाई सक्दो कोसिस गर।” (त्यो समयचाहिँ अङ्‌गुरको पहिलो फसलको समय थियो।)

[21] यसकारण तिनीहरू उक्लेर गए। अनि जीनको मरुभूमिबाट लेबो हमाततिरको रहोबसम्म त्यस देशको बारेमा जाजुसी गरे।

[22] तिनीहरू दक्षिणतिर हुँदैगए। अनि अनाकीहरूका सन्तानहरू; अहीमन, शेशै र तल्मै बस्‍ने ठाउँ हेब्रोनमा आइपुगे। (हेब्रोनचाहिँ इजिप्टमा भएको सोअनभन्दा सात वर्ष अगाडि निर्माण गरिएको थियो।)

[23] जब तिनीहरू एश्कोलको बेँसीमा आइपुगे। अनि तिनीहरूले अङ्‌गुरको एउटा मात्र झुप्पा भएको एउटा हाँगा काटे। तिनीहरूमध्ये दुई जनाले त्यसलाई एउटा घोचामा झुन्ड्याएर बोके। साथै, तिनीहरूले केही अनार र नेभाराका फलहरू पनि ल्याए।

[24] इस्राएलीहरूले अङ्‌गुरको झुप्पा काटेको कारण त्यस ठाउँलाई एश्कोलको बेँसी भनिन्थ्यो।

[25] चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के।

[26] कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए।

[27] तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्‍चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो।

[28] तर त्यस देशमा बस्‍ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ।

[29] अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”

[30] त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्‍चय नै विजय हासिल गर्न सक्छौँ।”

[31] तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।”

[32] तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्।

[33] हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्‍टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्‍कै हामीलाई त्यस्तै ठान्छन्।”

गन्ती — Chapters