Skip to content
Opens in a new window
Listen to this chapter • 4:12

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ:

[3] “ ‘तिमीहरूको दक्षिण भागतिर एदोमको सिमानादेखि जीनको उजाडस्थानको केही भागसम्म पर्नेछ। तिमीहरूको दक्षिणी सिमाना पूर्वपट्टि भएको मृत सागरको अन्तिमदेखि सुरु भएर,

[4] अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ,

[5] जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ।

[6] तिमीहरूका पश्‍चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्‍चिमपट्टिको सिमाना यही हुनेछ।

[7] तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ,

[8] र होर पर्वतबाट लेबो-हमातसम्म हुनेछ। अनि तिमीहरूको सिमाना सदादसम्म जानेछ,

[9] र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ।

[10] तिमीहरूको पूर्वपट्टिको सिमाना हसर-एनानबाट सुरु भएर सपामसम्म हुनेछ।

[11] त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म पुग्नेछ।

[12] त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ। “ ‘तिमीहरूका देशको चारैतिरका सिमानाहरू यी नै हुनेछन्।’ ”

[13] मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ।

[14] किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्।

[15] यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।”

[16] याहवेहले मोशालाई भन्‍नुभयो,

[17] “तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू।

[18] अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू।

[19] “ती अगुवाहरूका नाम यिनै हुन्: “यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब;

[20] शिमियोनको कुलबाट अम्मीहूदका छोरा शेमूएल;

[21] बेन्यामीनको कुलबाट किसलोनका छोरा एलीदाद;

[22] दानको कुलबाट योग्लीका छोरा बुक्‍की अगुवा थिए;

[23] योसेफका छोरा मनश्शेको कुलबाट एपोदका छोरा हन्‍नीएल अगुवा थिए;

[24] योसेफका छोरा एफ्राइमको कुलबाट शिप्‍तानका छोरा कमूएल अगुवा थिए;

[25] जबूलूनको कुलबाट पर्नाककोका छोरा एलीशापान अगुवा थिए;

[26] इस्साखारको कुलबाट अज्जानका छोरा पल्तिएल अगुवा थिए;

[27] आशेरको कुलबाट शलोमीका छोरा अहीदूद अगुवा थिए;

[28] नप्‍तालीको कुलबाट अम्मीहूदका छोरा पदहेल अगुवा थिए।”

[29] याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्।

गन्ती — Chapters