[1] याहवेहले मोशालाई भन्नुभयो,
[2] “इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”
[3] यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ।
[4] इस्राएलीहरूका प्रत्येक कुलबाट एक-एक हजार मानिसहरूलाई लडाइँ गर्न पठाओ।”
[5] यसकारण इस्राएली वंशबाट प्रत्येक बाह्र कुलबाट एक हजारको हिसाबले लडाइँका निम्ति सुसज्जित पारिएका बाह्र हजार मानिसहरू खटाइए।
[6] मोशाले तिनीहरूलाई प्रत्येक कुलबाट एक-एक हजारलाई लडाइँमा पठाए। तिनीहरूसँग पुजारी एलाजारका छोरा पीनहास पनि थिए। पीनहासले आफूसँग पवित्रस्थानका सामग्रीहरू र सङ्केत दिनका लागि तुरहीहरू लगे।
[7] याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यानीहरूका विरुद्धमा लडाइँ गरे, र सबै पुरुषहरूलाई मारे।
[8] तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे।
[9] इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए।
[10] तिनीहरूले मिद्यानीहरू बसोबास गरेका सबै सहरहरू र छाउनीहरूलाई जलाइदिए।
[11] तिनीहरूले लुटेका र कब्जा गरेका सबै मालसामानहरू, मानिसहरू र पशुहरू सबै लगे।
[12] अनि कैदीहरू, कब्जा गरेका र लुटेका मालसामानहरूलाई मोशा, पुजारी एलाजार र इस्राएली समुदायकहाँ ल्याए। त्यस बेला तिनीहरूको छाउनी यरीहोदेखि पारि यर्दन नदीको किनार मोआबको मैदानमा थियो।
[13] मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए।
[14] लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए।
[15] मोशाले तिनीहरूलाई सोधे, “के तिमीहरूले सबै स्त्रीहरूलाई जीवितै रहन दियौ?”
[16] यी तिनीहरू नै थिए, जसले पोर पर्वतको घटनामा बालामको सल्लाह सुनेर इस्राएलीहरूलाई याहवेहको विरुद्धमा तर्केर जान उक्साएका थिए। यसैकारण याहवेहका मानिसहरूलाई विपत्तिले प्रहार गरेको थियो।
[17] अब सबै केटाहरूलाई र पुरुषहरूसँग सहवास गरेका हरेक स्त्रीहरूलाई पनि मार।
[18] तर कुनै मानिससँग सहवास नभएका हरेक कन्याहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जीवित राख।
[19] यदि जजसले मानिसलाई मारेको छ, अर्थात् मारिएको कसैलाई छोएको छ भने तिमीहरू छाउनीबाहिर सात दिनसम्म बस्नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैँलाई र तिमीहरूका कैदीहरूलाई शुद्ध पार्नुपर्छ।
[20] तिमीहरूले लगाएका हरेक वस्त्र र छालाले अथवा बाख्राको रौँले अथवा काठले बनिएका हरेक कुरालाई शुद्ध पार।
[21] त्यसपछि पुजारी एलाजारले लडाइँमा जाने सेनाहरूलाई भने, “याहवेहले मोशालाई दिनुभएको नियमअनुसार यो आवश्यक छ:
[22] सुन, चाँदी, काँसो, फलाम, टिन, सिसा,
[23] र आगोले नष्ट नहुने सबै कुरालाई आगोभित्र हालेर निकाल्नू र त्यो शुद्ध हुनेछ। तर त्यसलाई शुद्ध पार्ने पानीले पनि शुद्ध पारिनुपर्छ। अनि आगोले नष्ट हुने जुनसुकै थोकलाई चाहिँ पानीद्वारा शुद्ध पार्नू।
[24] सातौँ दिनमा आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र आउन सक्नेछौ।”
[25] याहवेहले मोशालाई भन्नुभयो,
[26] “तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू।
[27] लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू।
[28] लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू।
[29] तिनीहरूबाट उठेको सलामीको आधा भागबाट याहवेहको भेटीको रूपमा पुजारी एलाजारलाई दिनू।
[30] इस्राएलीहरूको आधा भागबाट मानिसहरू, गाईबस्तु, गधा, भेडा, बाख्रा अथवा अरू सबै पशुहरू, त्यसको प्रत्येक पचासबाट एउटा गरेर अलग गर्नू। ती अलग गरिएका कुराहरू याहवेहको समागम पालको रेख-देखको जिम्मामा रहेका लेवीहरूलाई दिनू।”
[31] यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशा र पुजारी एलाजारले गरे।
[32] सेनाहरूले लुटेका सामानहरूमा बाँकी रहेका कुराहरू यही थियो: 6,75,000 भेडाहरू,
[33] 72,000 गाईबस्तु,
[34] 61,000 गधाहरू,
[35] र कुनै मानिससँग सहवास नगरेका 32,000 स्त्रीहरू।
[36] लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: 3,37,500 भेडाहरू,
[37] जसमा याहवेहका निम्ति सलामीचाहिँ 675 भेडाहरू थिए;
[38] 36,000 गाईबस्तुहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 72 वटा थिए;
[39] 30,500 गधाहरू थिए, जसमा याहवेहका निम्ति सलामीचाहिँ 61 वटा थिए;
[40] 16,000 मानिसहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 32 वटा थिए।
[41] मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए।
[42] मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा,
[43] अर्थात् समुदायको आधा भागचाहिँ 3,37,500 भेडा थिए;
[44] 36,000 गाईबस्तु,
[45] 30,500 गधा,
[46] र 16,000 मानिस थिए।
[47] इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए।
[48] त्यसपछि सेनाहरूका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू मोशाकहाँ गए।
[49] अनि तिनीहरूले मोशालाई भने, “तपाईंका सेवकहरूले हाम्रो जिम्मामा रहेका सेनाहरूलाई गनेका छन्। अनि एक जना पनि हराएको छैन।
[50] यसकारण हामी प्रत्येकले पाएका सुनका चीजहरू अर्थात् बाला, चुरा, छाप-औँठी, कुण्डल र सिक्रीमाला याहवेहको सामु हामीले आफ्ना प्रायश्चितको लागि याहवेहका निम्ति भेटीको रूपमा ल्याएका छौँ।”
[51] मोशा र पुजारी एलाजारले तिनीहरूबाट सुन अर्थात् सबै गहनाहरू स्वीकार गरे।
[52] मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल थियो।
[53] हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए।
[54] मोशा र पुजारी एलाजारले हजार-हजारका र सय-सयका सेनापतिहरूबाट सुन स्वीकार गरे। अनि त्यसलाई याहवेहको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको रूपमा भेट हुने पालभित्र ल्याए।