Skip to content
Opens in a new window
Listen to this chapter • 7:25

[1] जब दक्षिणमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू अतारीम जाने बाटो भएर आउँदैछन् भन्‍ने सुने, तब तिनले इस्राएलीहरूमाथि आक्रमण गरेर केही मानिसहरूलाई पक्रेर बन्दी बनाए।

[2] तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्‍ट पारिदिनेछौँ।”

[3] याहवेहले इस्राएलीहरूको बिन्ती सुन्‍नुभयो। अनि ती कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले एदोमीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट पारिदिए। अनि त्यस ठाउँको नाम होर्मा राखियो।

[4] तिनीहरूले होर पर्वतबाट लाल समुद्रतिरको बाटो भएर एदोमको प्रान्तलाई फेरो मार्दै यात्रा सुरु गरे। तर बाटोमा इस्राएली मानिसहरू अधैर्य भए।

[5] तिनीहरूले परमेश्‍वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्‍क भइसक्यौँ!”

[6] तब याहवेहले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे; र धेरै इस्राएलीहरू मरे।

[7] ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए।

[8] याहवेहले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।”

[9] यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो।

[10] इस्राएलीहरू अगि बढ्दै गए, र ओबोतमा छाउनी हाले।

[11] त्यसपछि तिनीहरू ओबोतबाट हिँडे। अनि मोआबको सामु पूर्वतिरको सूर्य उदय हुने ठाउँतिर उजाडस्थानमा भएको इये-अबारीममा छाउनी हाले।

[12] त्यहाँबाट तिनीहरू अगि बढ्दै गए। अनि जेरेदको बेँसीमा छाउनी हाले।

[13] तिनीहरू त्यहाँबाट पनि हिँडे। अनि एमोरीहरूको प्रान्तसम्म फैलिएको उजाडस्थानस्थित अर्नोनको किनारमा छाउनी हाले। अर्नोनचाहिँ मोआब र एमोरीहरूको बीचमा मोआबको सिमानामा पर्दछ।

[14] त्यसैकारण याहवेहका युद्धहरूको पुस्तकमा यसो लेखिएको छ: “सूपामा भएको याहेब सहर, अर्नोनका बेँसीहरू

[15] र बेँसीका भिरालाहरू, जो आरको सहरतिर लाग्दछन् र मोआबको सिमानासम्म पुगेका छन्।”

[16] त्यहाँबाट तिनीहरू बेअरको त्यस इनारसम्म अगि बढे, जहाँ याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई एकसाथ भेला गर्, र म तिनीहरूलाई पानी दिनेछु।”

[17] तब इस्राएलीहरूले यो गीत गाए: “ए इनार, फुटेर निस्की! यसको विषयमा गीत गा,

[18] जसलाई राजकुमारहरूले खनेका थिए, जसलाई कुलिन व्यक्तिहरूले खनेका थिए, जसलाई ती कुलिन व्यक्तिहरूका राजदण्ड र लहुरोले खनेका थिए।” त्यसपछि तिनीहरू उजाडस्थानबाट मत्तानातर्फ अगि बढे,

[19] अनि मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बामोतमा आइपुगे।

[20] अनि बामोतबाट मोआबको बेँसी पिसगाको टाकुरामा आइपुगे, जहाँबाट उजाडभूमि देख्न सकिन्छ।

[21] इस्राएलले एमोरीहरूका राजा सीहोनकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए:

[22] “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीतिर फर्कनेछैनौँ अर्थात् कुनै इनारबाट पानी पिउनेछैनौँ। हामी तपाईंको सिमानाबाट भएर पार नभएसम्म राजाको मूलबाटो भएर यात्रा गर्नेछौँ।”

[23] तर सीहोनले आफ्नो सिमानाबाट भएर इस्राएलीहरूलाई छिरेर जान दिएनन्। तिनले आफ्नो सारा सेनालाई जम्मा गरे। अनि उजाडस्थानमा इस्राएलीहरूका विरुद्धमा मोर्चा बाँधे। जब तिनी यहस सहरमा आइपुगे, तब तिनीहरूले इस्राएलीहरूसँग युद्ध गरे।

[24] तर इस्राएलीहरूले राजालाई तरवारले मारे। अनि अर्नोनदेखि यब्बोकसम्म तिनको देश कब्जा गरे। तैपनि अम्मोनीहरूको सिमानासम्म मात्र कब्जा गरे; किनभने अम्मोनीहरूको सिमाना बलियो किल्‍ला भएको थियो।

[25] इस्राएलले एमोरीहरूका सबै सहरहरू कब्जा गरे, र ती सहरहरूमा बसोबास गरे। हेश्बोन र त्यसका छेउछाउका सबै बस्तीहरूमा समेत बसोबास गर्न थाले।

[26] हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको सहर थियो, जसले मोआबका अगिल्‍ला राजाको विरुद्धमा युद्ध गरेर तिनको सम्पूर्ण देश अर्नोनसम्मै लिएका थिए।

[27] त्यसैकारण कविहरूले यसो भन्छन्: “हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्; सीहोनको सहर पुनर्स्थापित होस्।

[28] “हेश्बोनबाट आगो निस्केर गयो; सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। यसले मोआबको आर सहरलाई भस्म पार्‍यो। अर्नोनका शिखरमा बस्‍नेहरूलाई भस्म पार्‍यो।

[29] ए मोआब, धिक्‍कार छ तँलाई! ए कमोशका मानिसहरू नष्‍ट पारिएका छौ! कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ, र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर एमोरीहरूको राजा सीहोनलाई दिएको छ।

[30] “तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ; हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्‍ट पारिएको छ। हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ, जुनचाहिँ मेदेबासम्म फैलिएको छ।”

[31] यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गरे।

[32] मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए।

[33] त्यसपछि तिनीहरू फर्केर बाशानतिरको बाटो भएर उक्ले। अनि बाशानका राजा ओग इस्राएलीहरूसँग युद्ध गर्न आफ्ना सारा सेना लिएर एद्रई सहरमा मोर्चा बाँधेर निस्के।

[34] याहवेहले मोशालाई भन्‍नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”

[35] यसकारण इस्राएलीहरूले राजालाई, तिनका छोराहरू र सारा सेनाहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल एकैसाथ मारे। अनि तिनीहरूको देशलाई कब्जा गरे।

गन्ती — Chapters