Skip to content
Opens in a new window
Listen to this chapter • 7:40

[1] मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्।

[2] याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्‍न ठाउँअनुसारका विवरण यही हो:

[3] इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे।

[4] त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो।

[5] रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्‍कोतमा छाउनी हाले।

[6] सुक्‍कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले।

[7] तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले।

[8] तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले।

[9] तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले।

[10] तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले।

[11] लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले।

[12] सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले।

[13] दोफकाबाट हिँडेपछि तिनीहरूले आलूशमा छाउनी हाले।

[14] आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।

[15] रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले।

[16] तिनीहरू सीनैको उजाडस्थानबाट हिँडे, र किब्रोत-हत्तावामा छाउनी हाले।

[17] तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले।

[18] तिनीहरू हसेरोतबाट हिँडे, र रित्मामा छाउनी हाले।

[19] तिनीहरू रित्माबाट हिँडे, र रिम्मोन-पेरेसमा छाउनी हाले।

[20] तिनीहरू रिम्मोन-पेरेसबाट हिँडे, र लिब्नामा छाउनी हाले।

[21] तिनीहरू लिब्नाबाट हिँडे, र रिस्सामा छाउनी हाले।

[22] तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले।

[23] तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे।

[24] तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले।

[25] तिनीहरू हरादाबाट हिँडे, र मखेलोतमा छाउनी हाले।

[26] तिनीहरू मखेलोतबाट हिँडे, र तहतमा छाउनी हाले।

[27] तिनीहरू तहतबाट हिँडे, र तेरहमा छाउनी हाले।

[28] तिनीहरू तेरहबाट हिँडे, र मित्कामा छाउनी हाले।

[29] तिनीहरू मित्काबाट हिँडे, र हशमोनामा छाउनी हाले।

[30] तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले।

[31] तिनीहरू मसेरोतबाट हिँडे, र बेने-याकानमा छाउनी हाले।

[32] तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले।

[33] तिनीहरू होर-होगिदगादबाट हिँडे, र योतबातामा छाउनी हाले।

[34] तिनीहरू योतबाताबाट हिँडे, र अब्रोनामा छाउनी हाले।

[35] तिनीहरू अब्रोनाबाट हिँडे, र एस्योन-गेबेरमा छाउनी हाले।

[36] तिनीहरू एस्योन-गेबेरबाट हिँडे, र जीनको उजाडस्थानमा भएको कादेशमा छाउनी हाले।

[37] तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले।

[38] याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो।

[39] होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए।

[40] कनान देशको दक्षिणमा बस्‍ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने।

[41] तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले।

[42] तिनीहरू सलमोनाबाट हिँडे, र पूनोनमा छाउनी हाले।

[43] तिनीहरू पूनोनबाट हिँडे, र ओबोतमा छाउनी हाले।

[44] तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले।

[45] तिनीहरू इये-अबारीमबाट हिँडे, र दीबोन-गादमा छाउनी हाले।

[46] तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले।

[47] तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले।

[48] तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले।

[49] त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले।

[50] यरीहोको पारिपट्टि यर्दन नदीको नजिकै मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो,

[51] “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ,

[52] तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू।

[53] त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु।

[54] त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू।

[55] “ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्‍न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्‍नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्।

[56] अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ”

गन्ती — Chapters