[1] यरीहोको नजिक यर्दन नदीको किनार मोआबको मैदानमा याहवेहले मोशालाई भन्नुभयो,
[2] “इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू।
[3] तब तिनीहरूसँग बसोबास गर्न सहरहरू र तिनीहरूका गाईबस्तु, बगाल र पशुहरूका निम्ति खर्कहरू हुनेछन्।
[4] “तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट होस्।
[5] सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट, दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्।
[6] “तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटा नगरहरूचाहिँ शरणस्थलका नगरहरू हुनेछन्। त्यहाँ कुनै व्यक्तिलाई कसैले अनजानमा मार्यो भने भागेर बच्न सक्छ। तीबाहेक तिनीहरूलाई बयालीस वटा अरू नगरहरू दिनू।
[7] तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ।
[8] तिमीहरूले लेवीहरूलाई नगरहरू दिँदा इस्राएलीहरूले अधिकार गरेका जमिनबाट तिनीहरूका हरेक कुलको संख्याअनुसार होस्: धेरै हुने कुलबाट धेरै नगरहरू, र थोरै हुने कुलबाट थोरै नगरहरू लिएर लेवीहरूलाई दिनू।”
[9] त्यसपछि याहवेहले मोशालाई भन्नुभयो:
[10] “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन तरेर कनानमा पुग्नेछौ,
[11] तब तिमीहरूका शरण-नगरहरूका निम्ति केही सहरहरू छान्नू, जहाँ कुनै पनि व्यक्तिले कसैलाई अनजानमा मार्यो भने त्यो त्यहाँ भागेर जान सकोस्।
[12] ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्।
[13] तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्।
[14] तीन वटा यर्दन नदीको वारिपट्टि र तीन वटा कनानमा शरण-नगरको रूपमा दिनू।
[15] यी छ वटा सहरहरू इस्राएलीहरू र तिमीहरूसँग बस्ने विदेशीहरूका निम्ति शरणस्थलका ठाउँ हुनेछन्; ताकि कुनै व्यक्तिले कसैलाई अनजानमा मार्यो भने त्यहाँ भागेर जान सकोस्।
[16] “ ‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
[17] अर्थात् कसैको हातमा ढुङ्गा छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
[18] अर्थात् यदि कसैसँग काठको कुनै चीज छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा नै हो। त्यस हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
[19] रगतको बदला लिने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसले त्यस हत्यारालाई भेट्नेबित्तिकै मारोस्।
[20] यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्यो भने,
[21] अर्थात् शत्रुताको कारण त्यसले उसलाई हिर्कायो, र त्यो मर्यो भने त्यो मानिस हत्यारा हो। त्यसलाई मृत्युदण्ड दिनैपर्छ। रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्नेबित्तिकै मार्नैपर्छ।
[22] “ ‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्यो भने,
[23] अर्थात् दुश्मनी नभएको र हानि गर्न नचाहेको व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्यो भने,
[24] समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ।
[25] समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिनेको हातबाट छुटाएर, त्यो अगि जहाँ भागेको थियो, त्यसलाई त्यही शरण-नगरमा पठाओस्। त्यो ज्यानमारा पवित्र तेलले अभिषेक गरिएको प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यहीँ रहोस्।
[26] “ ‘तर यदि त्यो दोषी व्यक्ति कुनै समयमा आफू भागेर गएको शरण-नगरको सिमानादेखि बाहिर गयो भने,
[27] र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन।
[28] किनभने त्यो दोषी व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म आफ्नो शरण-नगरमा बस्नुपर्थ्यो। अनि प्रधान पुजारीको मृत्यु भएपछि मात्र त्यो आफ्नो घरमा फर्कन सक्थ्यो।
[29] “ ‘तिमीहरू जहाँ बसे तापनि तिमीहरू र तिमीहरूका भावी पुस्ताका निम्ति यो नियम लागू हुनेछ।
[30] “ ‘कुनै व्यक्तिले कसैको हत्या गर्यो भने त्यसलाई साक्षीहरूको गवाहीद्वारा मात्र मृत्युदण्ड दिनू। तर केवल एक जना साक्षीको गवाहीबाट कसैलाई मृत्युदण्ड नदिनू।
[31] “ ‘मृत्युदण्ड पाउन लायकको हत्याराको जीवनको छुटकाराको मोल स्वीकार नगर्नू। उसलाई मृत्युदण्ड दिनैपर्छ।
[32] “ ‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्न नपाओस्।
[33] “ ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्चित गर्न सकिँदैन।
[34] तिमीहरू बसेको र मैले बास गरेको देशलाई अशुद्ध नपार्नू। किनकि म याहवेह इस्राएलीहरूको बीचमा बास गर्दछु।’ ”