[1] इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्नुभयो,
[2] “सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्।
[3] तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ।
[4] हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।”
[5] तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्: “रूबेनको कुलबाट शदेऊरको छोरा एलिसूर;
[6] शिमियोनको कुलबाट सूरीशद्दैको छोरा शलूमीएल;
[7] यहूदाको कुलबाट अम्मीनादाबको छोरा नहशोन;
[8] इस्साखारको कुलबाट सूआरको छोरा नथनिएल;
[9] जबूलूनको कुलबाट हेलोनको छोरा एलिआब;
[10] योसेफका छोराहरूबाट: अर्थात् एफ्राइमको कुलबाट अम्मीहूदको छोरा एलिशामा; मनश्शेको कुलबाट पदासूरको छोरा गमलिएल;
[11] बेन्यामीनको कुलबाट गिदोनीको छोरा अबीदान;
[12] दानको कुलबाट अम्मीशद्दैको छोरा अहीएजेर;
[13] आशेरको कुलबाट ओक्रानको छोरा पगीएल;
[14] गादको कुलबाट देउएलको छोरो एल्यासाप;
[15] नप्तालीको कुलबाट एनानको छोरा अहीरा।”
[16] यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए।
[17] माथि नाम उल्लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए;
[18] र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए।
[19] याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले सीनैको उजाडस्थानमा तिनीहरूको जनगणना गरे:
[20] इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो।
[21] रूबेनको कुलको संख्या 46,500 थियो।
[22] शिमियोनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[23] शिमियोन कुलको संख्या 59,300 थियो।
[24] गादको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[25] गाद कुलको संख्या 45,650 थियो।
[26] यहूदाको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[27] यहूदा कुलको संख्या 74,600 थियो।
[28] इस्साखारको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[29] इस्साखारको कुलको संख्या 74,600 थियो।
[30] जबूलूनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[31] जबूलून कुलको संख्या 57,400 थियो।
[32] योसेफका छोराहरूबाट: एफ्राइमका कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[33] एफ्राइम कुलको 40,500 थियो।
[34] मनश्शेको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[35] मनश्शे कुलको संख्या 32,200 थियो।
[36] बेन्यामीनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[37] बेन्यामीन कुलको संख्या 35,400 थियो।
[38] दानको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[39] दान कुलको संख्या 62,700 थियो।
[40] आशेरको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[41] आशेर कुलको संख्या 41,500 थियो।
[42] नप्तालीको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
[43] नप्ताली कुलको संख्या 53,400 थियो।
[44] मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरू हरेकले आफ्ना परिवारको प्रतिनिधित्व गरी गन्ती गरेका पुरुषहरू यिनै थिए।
[45] बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो।
[46] तिनीहरूका जम्मा संख्या 6,03,550 थियो।
[47] लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन।
[48] याहवेहले मोशालाई भन्नुभएको थियो:
[49] “तैँले लेवीहरूको कुललाई गन्ती नगर्नू अर्थात् गणनामा अरू इस्राएलीहरूसँग सामेल नगर्नू।
[50] त्यसको सट्टामा लेवीहरूको कुललाई साक्षी पाटीको समागम पालको जिम्मेवारी दिनू; अर्थात् त्यसमा भएका सबै सरसामानहरू र हरेक कुराहरूमाथि जिम्मावाल नियुक्त गर्नू। तिनीहरूले समागम पाल र त्यसका सबै सरसामानहरू बोकून्; तिनीहरूले त्यसको रेखदेख गरून्, र त्यसको चारैतिर छाउनी हालेर बसून्।
[51] जब समागम पाललाई सार्नुपर्ने हुन्छ, तब लेवीहरूले त्यसलाई तल झारून्, र त्यो समागम पाल नयाँ ठाउँमा खडा गर्दा लेवीहरूले नै खडा गरून्। यदि कुनै व्यक्ति त्यसको नजिक गयो भने त्यो मारिनेछ।
[52] इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्।
[53] तर लेवीहरूले चाहिँ इस्राएली समुदायमाथि मेरो क्रोध नपरोस् भनेर समागम पालको साक्षी पाटीको वरिपरि आफ्ना पालहरू खडा गरून्। लेवीहरूचाहिँ समागम पालको साक्षी पाटीको हेरचाहका लागि जिम्मेवार रहनेछन्।”
[54] इस्राएलीहरूले यी सबै कुराहरू याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै गरे।