Skip to content
Opens in a new window
Listen to this chapter • 6:24

[1] बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।”

[2] बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।

[3] तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्‍नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए।

[4] परमेश्‍वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।”

[5] याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।”

[6] यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए:

[7] तब बालामले आफ्नो सन्देश सुरु गरे: “बालाकले मलाई अरामबाट यहाँ ल्याए; मोआबका राजाले पूर्वका पर्वतहरूबाट बोलाए। तिनले भने, ‘आउनुहोस्, र मेरा निम्ति याकोबलाई श्राप दिनुहोस्: आउनुहोस् र इस्राएललाई धिक्‍कार्नुहोस्।’

[8] परमेश्‍वरले जसलाई श्राप दिनुभएन, तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? याहवेहले जसलाई धिक्‍कार्नुभएन, मैले कसरी धिक्‍कारूँ?

[9] मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ; अग्ला ठाउँहरूबाट मैले तिनीहरूलाई देखेँ। मैले एउटा अलग्गै बस्‍ने जातिलाई देखेँ; तिनीहरूले आफूलाई अरू जातिहरूजस्ता ठान्दैनन्।

[10] याकोबको धुलोलाई कसले गन्‍न सक्छ, अथवा इस्राएलको चौथो भाग मात्रैलाई पनि कसले गन्‍न सक्छ? मेरो मृत्यु पनि धर्मी मानिसको मृत्युझैँ होस्! र मेरो जीवनको अन्त्य तिनीहरूको जस्तै होस्!”

[11] बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!”

[12] बालामले जवाफ दिए, “याहवेहले मेरो मुखमा जे दिनुभएको छ, के मैले त्यही बोल्नुपर्दैन र?”

[13] त्यसपछि बालाकले तिनलाई भने, “मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ। तपाईंले तिनीहरू सबैलाई होइन, तर तिनीहरूका छाउनीको बाहिरी भाग मात्र देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईंले मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्।”

[14] यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।

[15] बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।”

[16] याहवेहले बालामसँग भेट गर्नुभयो, र तिनको मुखमा सन्देश दिएर भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दे।”

[17] यसकारण तिनी बालाककहाँ गए। अनि उनलाई मोआबका अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए। बालाकले तिनलाई सोधे, “याहवेहले के भन्‍नुभयो?”

[18] तब बालामले यसरी आफ्नो सन्देश बोले: “ए बालाक उठ्, र सुन्; ए सिप्पोरका छोरा मेरा कुरा सुन्।

[19] परमेश्‍वर मानिसजस्तो हुनुहुन्‍न, उहाँले झूट बोल्नुहुन्‍न; उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्‍न, जसले आफ्नो मन बदली गर्नुहुन्छ। के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्‍न र? के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्‍न र?

[20] मैले आशिष् दिनू भन्‍ने आज्ञा पाएको छु; उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ।

[21] “याकोबमा कुनै दुष्‍टता देखिँदैन, इस्राएलमा कुनै विपत्ति देखिँदैन। याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहन्छ; राजाको विजय-ध्वनि तिनीहरूको बीचमा छ।

[22] परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकाल्नुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ।

[23] याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन। इस्राएलको विरुद्धमा कुनै टुनामुनाले काम गर्दैन। अब याकोबको विषयमा र इस्राएलको विषयमा यसो भनिनेछ, ‘परमेश्‍वरले के गर्नुभएको छ, त्यो हेर!’

[24] यो जाति सिंहनीझैँ उठ्छन्; तिनीहरूले आफूलाई सिंहझैँ उत्तेजित पार्दछन्, जसले आफ्नो शिकार नखाउन्जेल र आफ्नो शिकारको रगत नपिउन्जेल विश्राम लिदैनन्।”

[25] तब बालाक राजाले बालामलाई भने, “तिनीहरूलाई श्राप नदिनुहोस्, र तिनीहरूलाई आशिष् पनि नदिनुहोस्!”

[26] बालामले बालाकलाई जवाफ दिए, “याहवेहले मलाई जे भन्‍नुहुन्छ, त्यही कुरा भन्‍नुपर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”

[27] त्यसपछि बालाक राजाले बालामलाई भने, “आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तपाईंले तिनीहरूलाई मेरा निम्ति सरापेकोमा परमेश्‍वर खुशी हुनुहोला कि।”

[28] अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो।

[29] तब बालामले बालाकलाई भने, “मेरा लागि यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढेहरू र सात वटा भेडाहरू तयार पार्नुहोस्।”

[30] बालामले भनेजस्तै बालाकले गरे। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।

गन्ती — Chapters