Skip to content
Opens in a new window
Listen to this chapter • 2:19

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “इस्राएलीसँग कुरा गर्, र तिनीहरूका पुर्ख्यौली कुलका प्रत्येक अगुवाबाट एक-एक गरी तिनीहरूबाट बाह्र वटा लहुराहरू लिनू। प्रत्येक मानिसको नाम त्यसको लहुरोमा लेख्नू।

[3] लेवीको लहुरोमा चाहिँ हारूनको नाम लेख्नू। किनकि प्रत्येक पुर्ख्यौली कुलको अगुवाको निम्ति एक-एक वटा लहुरो हुनुपर्छ।

[4] लहुराहरूलाई भेट हुने पालमा साक्षी पाटीको सन्दुकको सामु राखिदिनू, जहाँ म तँसँग भेट गर्छु।

[5] म जुन मानिसको लहुरोलाई रोज्नेछु, त्यसमा कोपिला लाग्नेछ। अनि तेरो विरुद्धमा इस्राएलीहरूले गर्ने सधैँको गनगनबाट म तँलाई मुक्त गर्नेछु।”

[6] यसकारण मोशाले इस्राएलीहरूसँग कुरा गरे। अनि तिनीहरूका अगुवाहरूले तिनीहरूका प्रत्येक पुर्ख्यौली कुलबाट एक-एक गरी बाह्र वटा लहुराहरू तिनलाई दिए। तीमध्ये हारूनको पनि एउटा लहुरो थियो।

[7] मोशाले ती लहुराहरू साक्षी पाटीको सन्दुकको पालमा याहवेहको सामु राखिदिए।

[8] भोलिपल्ट मोशा पालभित्र पसे। लेवीको घरानालाई प्रतिनिधित्व गर्ने हारूनको लहुरोमा टुसा पलाएको मात्र थिएन, तर त्यसमा कोपिला लागेर फूल पनि फुलेर हाडे-बदामसमेत फलेको देखे।

[9] त्यसपछि मोशाले ती लहुराहरू याहवेहको उपस्थितिबाट सबै इस्राएलीहरूकहाँ ल्याए। तिनीहरूले ती लहुराहरू हेरे। अनि हरेक अगुवाहरूले आ-आफ्नो लहुरो लिए।

[10] त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो विद्रोहीहरूको चिन्हको रूपमा रहोस् भनी पालमा साक्षी पाटीको सन्दुकको सामु लगेर राखिदे। यसले मेरो विरुद्धमा तिनीहरूको गनगन समाप्‍त गरिदिनेछ। यसकारण तिनीहरू मर्नेछैनन्।”

[11] याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार तिनले गरे।

[12] इस्राएली मानिसहरूले मोशालाई भने, “हामी मर्नेछौँ! हामी नष्‍ट भयौँ; हामी नष्‍ट भयौँ!

[13] याहवेहको समागम पालको नजिक आउने जो कोही पनि मर्नेछ। के हामी सबै जना नष्‍ट होऔँ त?”

गन्ती — Chapters