Skip to content
Opens in a new window
Listen to this chapter • 4:36

[1] आठौँ दिनमा मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका प्रधानहरूलाई बोलाए।

[2] तिनले हारूनलाई भने, “आफ्नो पाप शुद्धीकरण बलिका निम्ति एउटा निष्खोट बाछा र होमबलिका निम्ति एउटा निष्खोट भेडा ल्याऊनू। अनि तिनीहरूलाई याहवेहको सामु प्रस्तुत गर्नू।

[3] त्यसपछि इस्राएलीहरूलाई भन्‍नू: ‘पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका, होमबलिका निम्ति एउटा बाछा र एउटा थुमा ल्याउनू—दुवै एक वर्ष र निष्खोट भएको।

[4] अनि मेलबलिका निम्ति एउटा गोरु र एउटा भेडा जैतुन तेलसँग मिसाएको अन्‍नबलिको साथमा याहवेहको सामु बलिदान गर्न ल्याउनू; किनकि आज याहवेह तिमीहरूकहाँ देखा पर्नुहुनेछ।’ ”

[5] तिनीहरूले मोशाले आज्ञा गरेका चीजहरू समागम पालको सामु लगे। अनि सारा समुदाय नजिक आएर याहवेहको सामु उभिए।

[6] तब मोशाले भने, “याहवेहको महिमा तिमीहरूकहाँ देखा परोस् भनेर तिमीहरूले के गर्नुपर्छ भनी याहवेहले आज्ञा दिनुभएको यही हो।”

[7] मोशाले हारूनलाई भने, “वेदीमा आउनुहोस्, र आफ्नो पाप शुद्धीकरण बलि र होमबलि चढाउनुहोस्। अनि आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्; जुन भेटी मानिसहरूका निम्ति हो, त्यसलाई चढाउनुहोस्। अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्।”

[8] यसकारण हारून वेदीको छेउमा आए, र आफ्नै निम्ति पाप शुद्धीकरण बलिस्वरूप बाछालाई मारे।

[9] हारूनका छोराहरूले उनीकहाँ रगत ल्याए। तिनले आफ्नो औँला रगतमा चोपेर त्यसलाई वेदीका सिङहरूमा लगाए। उब्रेको रगत तिनले वेदीको फेदमा खन्याइदिए।

[10] वेदीमाथि तिनले पाप शुद्धीकरण बलिबाट बोसो, मिर्गौलाहरू र कलेजोको आवरण, याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ जलाए।

[11] मासु र छाला तिनले छाउनीबाहिर आगोमा जलाए।

[12] तब हारूनले होमबलिको लागि पशु मारे। अनि उनका छोराहरूले तिनीकहाँ रगत ल्याइदिए। तिनले त्यसलाई वेदीका चारैतिर छर्के।

[13] हारूनका छोराहरूले तिनलाई होमबलिको टुक्राहरूका साथमा टाउकोसमेत दिए। तिनले ती वेदीमाथि जलाइदिए।

[14] तिनले भित्री भागहरू र खुट्टाहरू धोएर वेदीमाथि भएको होमबलिको टुप्पोमा राखेर जलाइदिए।

[15] त्यसपछि हारूनले मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पाप शुद्धीकरण बलिको बोका मारे; अनि पहिलेको जस्तै पाप शुद्धीकरण बलिका लागि त्यो चढाए।

[16] तिनले होमबलि ल्याएर विधिपूर्वक त्यो चढाए।

[17] त्यसपछि तिनले अन्‍नबलि पनि ल्याए। त्यसबाट एक मुठी लिएर बिहानको होमबलिसँगै त्यसलाई पनि वेदीमाथि चढाए।

[18] तिनले मानिसहरूका निम्ति मेलबलिस्वरूप गोरु र भेडालाई मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए। अनि तिनले त्यसलाई वेदीका चारैतिर भित्ताहरूमा छर्के।

[19] तर गोरु र भेडाका बोसोका भागहरू, बोसे पुच्छर, बोसोको पत्र, मिर्गौलाहरू र कलेजोको आवरण;

[20] तिनीहरूले ह्‍याकुलाहरूमाथि राखे। अनि त्यसपछि हारूनले बोसोलाई वेदीमाथि जलाइदिए।

[21] हारूनले ह्‍याकुलाहरू र दाहिने फिला मोशाले आज्ञा दिएझैँ विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।

[22] तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशिष् दिए। यसरी पाप शुद्धीकरण बलि, होमबलि र मेलबलि चढाएर तिनी तल ओर्ले।

[23] त्यसपछि मोशा र हारून समागम पालभित्र गए। जब तिनीहरू बाहिर निस्के, तब तिनीहरूले मानिसहरूलाई आशिष् दिए। तब याहवेहको महिमा सबै मानिसहरूकहाँ देखा पर्‍यो।

[24] याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे।

लेवी — Chapters