[1] याहवेहले मोशा र हारूनलाई भन्नुभयो,
[2] “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘यदि कुनै मानिसको शरीरबाट धातु बग्छ भने त्यो धातु अशुद्ध हो।
[3] चाहे त्यो त्यसको शरीरबाट बहिरह्यो अथवा थामिए तापनि त्यसले उसलाई अशुद्ध बनाउँछ। त्यसको धातुस्रावले त्यसलाई यसरी अशुद्ध बनाउँछ:
[4] “ ‘धातुस्राव बगेको मानिस सुतेको ओछ्यान अशुद्ध हुनेछ। अनि त्यो मानिस बस्ने हरेक थोक अशुद्ध हुनेछ।
[5] जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
[6] धातुस्राव भएको मानिस बसेको कुनै पनि ठाउँमा जो बस्छ, त्यसले आफ्ना लुगाहरू धोओस्। पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
[7] “ ‘धातुस्राव बग्ने मानिसलाई जसले छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
[8] “ ‘यदि धातुस्राव बग्ने मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
[9] “ ‘त्यो मानिस सवार हुँदा बसेको प्रत्येक चीज अशुद्ध हुनेछ।
[10] अनि जसले त्यसको मुन्तिर भएको जुनसुकै कुरालाई पनि छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
[11] “ ‘धातुस्राव बग्ने मानिसले आफ्नो हात पानीले नधोई कुनै मानिसलाई छोयो भने त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
[12] “ ‘त्यस मानिसले माटोको कुनै भाँडा छोयो भने त्यो फुटाइयोस्। अनि काठको भाँडा हो भने त्यसलाई पानीले पखालियोस्।
[13] “ ‘कुनै मानिस धातुस्रावबाट शुद्ध पारियो भने त्यसले आफ्नो शुद्धीकरणका लागि सात दिन गनोस्। त्यसले आफ्ना लुगा धोओस् र ताजा पानीले नुहाओस्, तब त्यो शुद्ध हुनेछ।
[14] आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा आओस्, र ती पुजारीलाई देओस्।
[15] पुजारीले तिनीहरूलाई चढाओस्। एउटालाई पाप शुद्धीकरण बलिका लागि र अर्को होमबलिका लागि। यस प्रकार पुजारीले त्यस मानिसको धातुस्रावको कारण याहवेहको सामु प्रायश्चित गर्नेछ।
[16] “ ‘कुनै मानिसको वीर्य आफैँ निस्क्यो भने त्यसले आफ्नो सम्पूर्ण शरीर पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
[17] कुनै लुगा अथवा छालामा वीर्य लागेको छ भने त्यसलाई पानीले धोइयोस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
[18] कुनै पुरुषले स्त्रीसित सम्भोग गरेपछि दुवैले पानीले नुहाऊन्। अनि तिनीहरू साँझसम्म अशुद्ध रहनेछन्।
[19] “ ‘कुनै स्त्रीको नियमित रजस्वला भएको छ भने त्यसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। अनि त्यसलाई छुने जो कोही पनि साँझसम्म अशुद्ध रहनेछ।
[20] “ ‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ।
[21] जसले त्यसको ओछ्यान छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
[22] जसले त्यो बसेको चीज छुन्छ, त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
[23] त्यो बसेको ओछ्यान होस् अथवा कुनै पनि वस्तु होस्, त्यसलाई कसैले छोयो भने त्यो साँझसम्म अशुद्ध रहनेछ।
[24] “ ‘यदि कुनै पुरुषले साँच्चै त्यससित सम्भोग गर्यो, र त्यसको रजस्वलाको रगतले त्यसलाई छोयो भने त्यो सात दिनसम्म अशुद्ध रहनेछ। त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ।
[25] “ ‘यदि कुनै स्त्रीको आफ्नो रजस्वलाको समयबाहेक अर्को समयमा धेरै दिनसम्म रगत बगिरह्यो अथवा आफ्नो रजस्वला नथामिएर रगत बगिरह्यो भने त्यसको रजस्वलाको समयमा झैँ रगत बगिरहुन्जेल त्यो अशुद्ध हुनेछे।
[26] त्यसको रक्तस्राव भएको समयमा त्यसको रजस्वलाको समयमा झैँ त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ। अनि त्यसको रजस्वलाको समयमा झैँ त्यो जे-जेमाथि बस्छे, त्यो पनि अशुद्ध हुनेछ।
[27] जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
[28] “ ‘आफ्नो रक्तस्राव बन्द भएपछि त्यसले सात दिन गनोस्। अनि त्यसपछि त्यो शुद्ध हुनेछे।
[29] आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर ती भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस्।
[30] पुजारीले तीमध्ये एउटालाई पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा बलिदान गरोस्। यसरी पुजारीले त्यसका निम्ति त्यसको स्रावका अशुद्धिको लागि याहवेहको सामु प्रायश्चित गर्नेछ।
[31] “ ‘तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध तुल्याउने कुराहरूदेखि अलग्गै राख्नू; ताकि तिनीहरूबीच भएको मेरो वासस्थानलाई अपवित्र तुल्याइएको कारण तिनीहरू आफ्ना अशुद्धतामा मर्नेछैनन्।’ ”
[32] कुनै मानिसको धातुस्रावको निम्ति वीर्य स्खलन भएको कारण कोही अशुद्ध भएको निम्ति,
[33] मासिक रजस्वलामा भएकी स्त्रीका निम्ति, र कुनै पुरुषको वीर्य स्खलन अथवा स्त्रीका रक्तस्रावको निम्ति र विधिपूर्वक अशुद्ध रहेकी स्त्रीसित सम्भोग गर्ने पुरुषका निम्ति नियमहरू यिनै हुन्।