Skip to content
Opens in a new window
Listen to this chapter • 3:57

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्।

[3] समागम पालमा गवाही पर्दाको बाहिर हारूनले साँझदेखि बिहानसम्मै लगातार याहवेहको सामु बत्तीहरूको रेखदेख गरिरहोस्। यो भावी पुस्ताका लागि सदा रहिरहने विधि हुनुपर्छ।

[4] याहवेहको सामु निखुर सुनको पानसमा बत्तीहरूको रेखदेख लगातार भइरहनुपर्छ।

[5] “प्रत्येक रोटीको लागि एपाको दश भागको दुई भाग प्रयोग गरेर मसिनो पिठोको बाह्र वटा रोटीहरू पकाउनू।

[6] तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू।

[7] याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू।

[8] यी रोटीलाई इस्राएलीहरूको पक्षबाट सदाको करारस्वरूप याहवेहका सामु हरेक शब्बाथ दिनमा नियमित रूपले राख्नू।

[9] त्यो हारून र त्यसका छोराहरूका निम्ति हुनेछ, तिनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्। किनभने यो याहवेहका निम्ति आगोद्वारा चढाइएको बलिबाट तिनीहरूका नियमित अति पवित्र भाग हो।”

[10] अब एउटी इस्राएली आमा र इजिप्टियन बुबाको छोरा इस्राएलीहरूको बीचमा गयो। अनि त्यस इस्राएली स्त्रीको छोरा र इस्राएलीहरू बीचको छाउनीमा झगडा सुरु भयो।

[11] इस्राएली स्त्रीको छोराले सरापेर याहवेहको निन्दा गर्‍यो। त्यसकारण तिनीहरूले त्यसलाई मोशाकहाँ ल्याए। (त्यसकी आमाको नाम शलोमीत थियो, जो दान कुलको दिब्रीकी छोरी थिइन्।)

[12] याहवेहको इच्छा स्पष्‍ट नभएसम्म तिनीहरूले त्यसलाई थुनामा राखे।

[13] तब याहवेहले मोशालाई भन्‍नुभयो:

[14] “यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लैजानू। त्यसले बोलेका सुन्‍नेहरू सबैले त्यसको शिरमाथि हात राखून्। अनि सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्।

[15] इस्राएलीहरूलाई भन्: ‘यदि कसैले परमेश्‍वरलाई सराप्छ भने त्यो पापको जिम्मेवार ठहरिनेछ।

[16] यदि कसैले याहवेहको नामको निन्दा गर्छ भने त्यो मारियोस्। सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्। चाहे परदेशी होस् वा स्वदेशमा जन्मेको होस्। कसैले याहवेहको नामको निन्दा गर्‍यो भने त्यो मारियोस्।

[17] “ ‘यदि कसैले मानिसको हत्या गर्‍यो भने त्यो मारिनुपर्छ।

[18] जसले कसैको पशुलाई मार्छ भने त्यसले हर्जाना तिर्नुपर्छ—प्राणको साटो प्राण।

[19] यदि कसैले आफ्नो छिमेकीलाई चोट पार्‍यो भने त्यसले उसलाई जे गरेको छ, त्यसलाई पनि त्यसै गरियोस्।

[20] हाड भाँचिदिएको सट्टा हाड; आँखाको सट्टा आँखा; दाँतको सट्टा दाँत। जसरी त्यसले अरूलाई चोट पारेको छ, त्यसरी नै त्यस मानिसलाई पनि चोट पारिनुपर्छ।

[21] जसले कुनै पशु मार्छ, त्यसले हर्जाना तिर्नुपर्छ; तर जसले मानिस मार्छ, त्यो मारिनैपर्छ।

[22] परदेशी वा स्वदेशी मानिसका निम्ति तिमीहरूको एउटै कानुन हुनुपर्छ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

[23] त्यसपछि मोशाले इस्राएलीहरूसित कुरा गरे, र तिनीहरूले त्यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लगे, र ढुङ्गाले हिर्काए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे।

लेवी — Chapters