Skip to content
Opens in a new window
Listen to this chapter • 6:29

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “हारून र त्यसका छोराहरूलाई इस्राएलीहरूले मलाई अर्पण गरेका पवित्र बलिहरूप्रति आदरपूर्वक व्यवहार गर्न भन्‍नू। अनि तिनीहरूले मेरो नाम अपवित्र नतुल्याऊन्। म नै याहवेह हुँ।

[3] “तिनीहरूलाई भन्: ‘पुस्तौँ-पुस्तासम्मका लागि यदि तिमीहरूका सन्तानमा कोही अशुद्ध छ, र पनि त्यो इस्राएलीहरूले याहवेहकहाँ चढाएका पवित्र भेटीहरूको नजिक आउँछ भने त्यस मानिसलाई मेरो उपस्थितिबाट अलग गर्नुपर्छ। म नै याहवेह हुँ।

[4] “ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ,

[5] अथवा त्यसले आफूलाई अशुद्ध पार्ने कुनै घस्रने जीवजन्तु छोयो भने अथवा त्यसलाई अशुद्ध पार्ने जस्तोसुकै अशुद्धता भएको कुनै मानिसलाई छोयो भने तापनि त्यो अशुद्ध हुनेछ।

[6] जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्।

[7] घाम डुबेपछि त्यो शुद्ध हुनेछ। अनि त्यसले पवित्र भेटीहरू खान सक्छ; किनकि ती त्यसकै भोजन हो।

[8] त्यसले मरेर भेट्टाइएको कुनै कुरा अथवा पशुले फहराएको केही खाएर त्यसबाट अशुद्ध नहोस्। म नै याहवेह हुँ।

[9] “ ‘पुजारीहरूले मेरो सेवा यस प्रकारले गरून् कि तिनीहरूले यसलाई घृणा गरेको कारण तिनीहरू दोषी भएर नमरून्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।

[10] “ ‘पुजारीको परिवार बाहिरको मानिस कसैले पनि पवित्र भेटीहरू नखाओस्; न त पुजारीको पाहुना अथवा ज्यालादारी मजदुरले त्यो खाओस्।

[11] तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्।

[12] यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्।

[13] तर यदि कुनै पुजारीकी छोरी विधवा भएकी अथवा त्यागिएकी छ, र त्यो सन्तानविहीन छे, र त्यो आफ्नो बुबाको घरमा बसेकी छे भने त्यसले आफ्ना बुबाको भोजन खान सक्छे। तरै पनि अधिकार नपाएको कुनै व्यक्तिले भने त्यसबाट केही खान सक्दैन।

[14] “ ‘यदि कसैले भूलले पवित्र भेटी खाएमा त्यसले पुजारीलाई ती भेटीहरूका हर्जाना देओस्, र त्यसमाथि त्यसको मूल्यको पाँचौँ भाग थपेर देओस्।

[15] इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरू पुजारीहरूले अपवित्र नपारून्।

[16] तिनीहरूलाई खान दिएर अनि अपवित्र पारेर दण्ड भोग्नुपर्ने दोष तिनीहरूमाथि नल्याओस्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”

[17] याहवेहले मोशालाई भन्‍नुभयो,

[18] “हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कोही, अर्थात् कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने परदेशीले भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक भेटीस्वरूप याहवेहका निम्ति होमबलिका लागि कुनै भेटी चढाउँछ भने,

[19] तिमीहरूले गाईबस्तुबाट, भेडा अथवा बाख्राबाट निष्खोट पाठा तिमीहरूको पक्षमा त्यो ग्रहणयोग्य होस् भनेर चढाउनू।

[20] खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन।

[21] यदि कसैले आफ्नो विशेष भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक मेलबलिस्वरूप याहवेहकहाँ बथान अथवा बगालबाट ल्याउँछ भने ग्रहणयोग्य हुनलाई त्यो पूर्ण र खोटरहित होस्।

[22] याहवेहकहाँ आँखा नेदेख्ने, चोट लागेको अथवा अङ्ग-भङ्ग भएको, छालारोगी, कुहिएको, घाउ भएको अथवा आलो घाउ भएकाहरू नचढाउनू। यस्ता कुनैलाई पनि याहवेहकहाँ आगोद्वारा चढाइने बलिदानस्वरूप वेदीमाथि नराख्नू।

[23] तरै पनि तिमीहरूले स्वेच्छापूर्वक भेटीस्वरूप अङ्ग-भङ्ग भएको र चोट लागेको गोरु अथवा भेडा चढाउन सक्छौ। तर भाकल पूरा गर्ने विषयमा त्यो ग्रहण हुनेछैन।

[24] तिमीहरूले याहवेहकहाँ अण्डकोषमा चोट लागेको, थेप्चिएको, च्यात्तिएको अथवा काटिएको पशु चढाउनुहुँदैन। तिमीहरूले आफ्नै देशमा यस्तो गर्नुहुँदैन।

[25] अनि तिमीहरूले यस्ता पशुहरू परदेशीको हातबाट ग्रहण गरेर तिनीहरूलाई आफ्ना परमेश्‍वरको भोजनस्वरूप नचढाउनू। ती तिमीहरूका पक्षमा ग्रहण गरिनेछैनन्; किनकि ती कुरूप र दोषसहित छन्।’ ”

[26] याहवेहले मोशालाई भन्‍नुभयो,

[27] “एउटा बाछा, थुमा अथवा बाख्रा जन्मँदा, त्यो त्यसकी आमासित सात दिनसम्म रहनुपर्छ। आठौँ दिनदेखि उसो त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको भेटीस्वरूप ग्रहण हुनेछ।

[28] गाई अथवा भेडा र तिनीहरूका बच्‍चाहरू, दुवैलाई एकै दिन नमार्नू!

[29] “तिमीहरूले आफ्ना धन्यवादको भेटी याहवेहका निम्ति बलिदान गर्दा त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुने गरी बलि चढाओ।

[30] त्यो त्यही दिन खाइहाल्नू; त्यसको कुनै पनि कुरा बिहानसम्म नराख्नू। म नै याहवेह हुँ।

[31] “मेरा आज्ञाहरू पालन गर्नू, र त्यसअनुसार चल्नू। म नै याहवेह हुँ।

[32] मेरो पवित्र नामलाई अपवित्र नतुल्याउनू। म पवित्र छु भनी इस्राएलीहरूले स्वीकार गर्नैपर्छ। तिमीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।

[33] अनि तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म नै हुँ; म नै याहवेह हुँ।”

लेवी — Chapters