Skip to content
Opens in a new window
Listen to this chapter • 5:58

[1] “ ‘दोषबलिका नियमहरू यिनै हुन्, जो अति पवित्र छ:

[2] दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्।

[3] त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो,

[4] कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ।

[5] पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो।

[6] पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ।

[7] “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्‍चित गर्छ, त्यो त्यसैको हो।

[8] कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ।

[9] चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्‍नबलि त्यसलाई चढाउने पुजारीको हो।

[10] जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्‍नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो।

[11] “ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्:

[12] “ ‘यदि यसलाई धन्यवाद दिनलाई चढाएको हो भने त्यसले आफ्नो धन्यवाद बलिको साथमा अखमिरी, जैतुन तेल मिसाएर पकाइएको बाक्लो रोटी, अखमिरी, तेल दलेर बनाइएको पातलो रोटी र मसिनो पिठो राम्रो गरी मुछेर तेल मिसाएको फुरौला चढाओस्।

[13] त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर मिसाएको बाबरको रोटी भेटी चढाओस्।

[14] त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो।

[15] धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्।

[16] “ ‘तर यदि त्यसको भेटी भाकलको अथवा स्वेच्छा-भेटी हो भने त्यो बलिदान यसलाई चढाइएकै दिन खाइयोस्। तर केही उब्रियो भने भोलिपल्ट खान सकिन्छ।

[17] तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्।

[18] यदि कसैले मेलबलिको मासु उब्रेको तेस्रो दिनमा खायो भने त्यो ग्रहणयोग्य हुनेछैन। त्यो अशुद्ध भएकोले त्यसलाई चढाउनेले त्यो चढाएको मान्यता पाउनेछैन। यसलाई खाने व्यक्ति दोषी ठहरिनेछ।

[19] “ ‘विधिपूर्वक अशुद्ध कुरालाई छोएको मासु खान हुँदैन, त्यो जलाइयोस्। अरू मासुचाहिँ विधिपूर्वक शुद्ध भएकाहरूले खान सक्छन्।

[20] तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।

[21] यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ”

[22] याहवेहले मोशालाई भन्‍नुभयो,

[23] “इस्राएलीहरूलाई यसो भन्: ‘कुनै गाईबस्तु, भेडा अथवा बोकाको बोसो नखानू।

[24] प्राकृतिक रूपमा मरेको अथवा वन पशुहरूद्वारा मारिएको पशु भेट्टाइयो भने त्यसको बोसोलाई अरू काममा लगाउन सकिन्छ। तर तिमीहरूले चाहिँ त्यो खाँदै नखानू।

[25] जुन पशुबाट याहवेहका निम्ति अग्निबलि चढाइएको छ, त्यसको बोसो खाने व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।

[26] तिमीहरू जहाँ बसे तापनि चराचुरुङ्गी अथवा पशुको रगत नखानू।

[27] जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ”

[28] याहवेहले मोशालाई भन्‍नुभयो,

[29] “इस्राएलीहरूलाई यसो भन्: ‘जसले याहवेहका निम्ति मेलबलि ल्याउँछ, त्यसले यसको केही भाग याहवेहका निम्ति आफ्नो बलिदानस्वरूप ल्याओस्।

[30] त्यसले याहवेहका निम्ति अग्निबलिको भेटी आफ्नै हातले ल्याओस्। त्यसले बोसो ह्‍याकुलोसितै ल्याओस्; अनि त्यस ह्‍याकुलोलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालिओस्।

[31] पुजारीले बोसो वेदीमाथि जलाओस्; तर ह्‍याकुलोचाहिँ हारून र त्यसका छोराहरूको हुनेछ।

[32] दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू।

[33] हारूनको जुन छोराले मेलबलिको रगत र बोसो चढाउँछ, त्यो दाहिने फिलाको हकदार हुनेछ।

[34] मैले इस्राएलीहरूको मेलबलिबाट विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र चढाएको फिला लिएर ती हारून पुजारी र त्यसका छोराहरूलाई इस्राएलीहरूबाट नियमित भागस्वरूप दिएको छु।’ ”

[35] याहवेहकहाँ अग्निबलिको भेटीको भाग यही हो, जुन पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई प्रस्तुत गरिएको दिन तिनीहरूका निम्ति भाग लगाइएको थियो।

[36] तिनीहरू अभिषेक भएको दिन याहवेहले इस्राएलीहरूलाई पुस्तौँसम्म आफ्नो नियमित भाग तिनीहरूलाई दिनू भनी आज्ञा दिनुभयो।

[37] यसकारण होमबलि, अन्‍नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्,

[38] जुन याहवेहले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो; त्यही दिन सीनैको मरुभूमिमा याहवेहले इस्राएलीहरूलाई उहाँका निम्ति भेटी ल्याउने आज्ञा गर्नुभएको थियो।

लेवी — Chapters