[1] याहवेहले मोशालाई बोलाउनुभयो, र समागम पालबाट तिनीसित कुरा गर्नुभयो। उहाँले भन्नुभयो,
[2] “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कसैले याहवेहका निम्ति पशु भेटीको रूपमा ल्याउँदा तिमीहरूको भेटी गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट ल्याउनू।
[3] “ ‘यदि त्यस बथानबाट होमबलि हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले त्यो समागम पालको प्रवेशद्वारमा ल्याओस्, र त्यो याहवेहका निम्ति ग्रहणयोग्य हुनेछ।
[4] त्यसले त्यस होमबलिको शिरमाथि आफ्नो हात राखोस्; र त्यो त्यसको प्रायश्चितका लागि त्यसको पक्षमा ग्रहणयोग्य हुनेछ।
[5] त्यसले त्यस बाछालाई याहवेहको सामु मारोस्। अनि हारूनका पुजारी छोराहरूले रगत ल्याएर त्यसलाई समागम पालको प्रवेशद्वारमा वेदीको सबैतिर भित्तामा छर्कून्।
[6] त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारोस्।
[7] पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्।
[8] त्यसपछि हारूनका पुजारी छोराहरूले टाउको र बोसोसमेत ती टुक्राहरूलाई वेदीमा जलिरहेका दाउरामाथि मिलाऊन्।
[9] त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
[10] “ ‘यदि त्यसको होमबलि भेडाबाख्राहरूबाट हो भने त्यसले निष्खोट नर पशु चढाओस्।
[11] त्यसले वेदीको उत्तरपट्टि याहवेहको सामु त्यसलाई मारोस्; अनि हारूनका पुजारी छोराहरूले त्यसको रगत वेदीका सबै भित्ताहरूमा छर्कून्।
[12] त्यस मानिसले यसलाई टुक्रा-टुक्रा पारोस्। अनि पुजारीले तिनीहरूलाई शिर र बोसोसमेत वेदीमाथि जलिरहेको दाउरामाथि मिलाओस्।
[13] त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै ल्याएर वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
[14] “ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्।
[15] पुजारीले त्यसलाई वेदीमा ल्याएर शिर निमोठेर वेदीमाथि जलाओस्; र त्यसका रगत वेदीका किनारमा निथारियोस्।
[16] त्यसले आन्द्राभुँडी र त्यसभित्र भएका सबै फोहर निकालेर वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्।
[17] त्यसले त्यसलाई नटुक्राइकन पखेटाको बीचमा चिरोस्। अनि पुजारीले त्यसलाई वेदीमाथि बलिरहेको दाउरामाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।