Skip to content
Opens in a new window
Listen to this chapter • 2:50

[1] “ ‘कसैले याहवेहका निम्ति अन्‍नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्।

[2] अनि त्यसलाई हारूनका पुजारी छोराहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पिठो र तेल सबै धूपसित लिएर त्यसलाई सम्झनास्वरूप वेदीमा जलाउनेछ। यो अग्निबलि हो—याहवेहलाई मनपर्ने बास्‍ना।

[3] अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।

[4] “ ‘तिमीहरूले चुलोमा पकाएको अन्‍नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्।

[5] यदि तिमीहरूका अन्‍नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्।

[6] त्यसलाई टुक्रा-टुक्रा पारेर त्यसमाथि तेल खन्याउनू; त्यो अन्‍नबलि हो।

[7] तिमीहरूका अन्‍नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्।

[8] यी कुराहरूले बनिएको अन्‍नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ।

[9] त्यस पुजारीले अन्‍नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्‍नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्।

[10] अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।

[11] “ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्‍नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू।

[12] तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्‍नाको रूपमा नचढाउनू।

[13] तिमीहरूका सबै अन्‍नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्‍वरको करारको नुनलाई तिमीहरूका अन्‍नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू।

[14] “ ‘याहवेहका निम्ति अगौटे फलहरूको अन्‍नबलि चढाउने इच्छा भएमा आफ्ना अगौटे फलहरूका अन्‍नबलिका निम्ति पिँधेका र आगोमा पिल्स्याएका ताजा अन्‍नका बालाहरू चढाउनू।

[15] त्यसमा तेल हाल्नू र धूप राख्नू; यो अन्‍नबलि हो।

[16] पिँधेको अन्‍न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्।

लेवी — Chapters