Skip to content
Opens in a new window
Listen to this chapter • 6:28

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्‍वर पवित्र छु।

[3] “ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथ दिनहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

[4] “ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

[5] “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्।

[6] त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्‍यो भने त्यो जलाइयोस्।

[7] यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन।

[8] त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्।

[9] “ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू।

[10] तिमीहरू आफ्नो दाखबारीमा दोस्रोपल्ट नजानू, अथवा झरेका अङ्‌गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

[11] “ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू।

[12] “ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्‍वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ।

[13] “ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू।

[14] “ ‘तिमीहरूले सुन्‍न नसक्नेलाई नसराप्नू, अथवा दृष्‍टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म नै याहवेह हुँ।

[15] “ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू।

[16] “ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।

[17] “ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।

[18] “ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।

[19] “ ‘मेरा उर्दीहरू पालन गर्नू। “ ‘बेग्ला-बेग्लै जातिका पशुहरूलाई मेल नगराउनू। “ ‘आफ्नो जमिनमा दुई किसिमका बिउहरू नलगाउनू। “ ‘दुई किसिमका सामग्रीहरूले बनिएको वस्त्र नलगाउनू।

[20] “ ‘मगनी भएकी, तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्‍यो भने तिनीहरूलाई सजाय दिइयोस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन। किनभने त्यो फुक्‍का भएकी थिइन।

[21] तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्।

[22] त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्‍चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ।

[23] “ ‘जब तिमीहरू त्यस देशमा प्रवेश गर्छौ, तब त्यहाँ कुनै किसिमका फलको रूख रोपेपछि त्यसको फललाई खान नहुने ठान्‍नू। तीन वर्षसम्म तिमीहरूले त्यसलाई खान नहुने ठान्‍नू; त्यो खानुहुँदैन।

[24] चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ।

[25] तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

[26] “ ‘कुनै मासु रगत भएको अवस्थामा नखानू। “ ‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू।

[27] “ ‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू।

[28] “ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।

[29] “ ‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्‍टताले भरिनेछ।

[30] “ ‘मेरा शब्बाथ दिनहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।

[31] “ ‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

[32] “ ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। म नै याहवेह हुँ।

[33] “ ‘जब कुनै परदेशी तिमीहरूको देशमा तिमीहरूसित बसोबास गर्छ, तब त्यससित नराम्रो व्यवहार नगर्नू।

[34] तिमीहरूसित बस्‍ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

[35] “ ‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू।

[36] ठिक तराजु, ठिक ढक, ठिक एपा र ठिक हिन चलाउनू। तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

[37] “ ‘तिमीहरूले मेरा सबै उर्दी र मेरा सबै व्यवस्थाहरू मान्‍नू; र ती पालन गर्नू। म नै याहवेह हुँ।’ ”

लेवी — Chapters