[1] याहवेहले मोशालाई भन्नुभयो, “हारूनका पुजारी छोराहरूलाई यसो भन्: ‘आफ्ना मानिसहरूबाट कसैको मृत्यु हुँदा पुजारीले आफूलाई अशुद्ध नतुल्याओस्।
[2] तर आफ्नो साक्खै अर्थात् आफ्ना आमाबुबा, आफ्ना छोराछोरी, दाजुभाइ,
[3] अथवा आफ्नी साक्खै कन्या दिदीबहिनीका निम्ति त्यसले आफूलाई अशुद्ध तुल्याउन सक्छ।
[4] वैवाहिक सम्बन्धद्वारा भएका आफन्तहरूका निम्ति त्यसले आफूलाई अशुद्ध बनाएर त्यो अपवित्र नबनोस्।
[5] “ ‘पुजारीहरूले आफ्ना शिर र दाह्रीका किनार नखौरून्, र आफ्ना शरीरमा चोट नपारून्।
[6] आफ्ना परमेश्वरका निम्ति तिनीहरू पवित्र रहून्, र आफ्ना परमेश्वरको नाम अपवित्र नपारून्। किनकि तिनीहरूले याहवेहका निम्ति आगोद्वारा चढाइएको बलि, आफ्ना परमेश्वरको भोजन चढाउने गर्दछन्। यसकारण तिनीहरू पवित्र रहून्।
[7] “ ‘तिनीहरूले वेश्यावृत्तिको कारण अपवित्र भएकी अथवा पतिद्वारा त्यागिएकी स्त्रीहरूलाई विवाह नगरून्। किनकि पुजारीहरू आफ्ना परमेश्वरका निम्ति पवित्र हुन्।
[8] तिमीहरूले पुजारीहरूलाई पवित्र मान्नू। किनकि तिनीहरूले आफ्ना परमेश्वरको भोजन चढाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र रहून्। किनकि तिमीहरूलाई पवित्र पार्ने म याहवेह पवित्र छु।
[9] “ ‘यदि कुनै पुजारीकी छोरीले वेश्या भएर आफूलाई अपवित्र तुल्याउँछे भने त्यसले आफ्ना बुबालाई कलङ्कित पार्छे; त्यसलाई आगोमा जलाइयोस्।
[10] “ ‘आफ्ना दाजुभाइहरूमध्ये आफ्नो शिरमाथि अभिषेकको तेल खन्याइएको छ, र पुजारीका पोशाकहरू लगाउन नियुक्त भएको प्रधान पुजारीले आफ्नो केश खुला नछोडोस्, र आफ्ना लुगा नच्यातोस्।
[11] कुनै मुर्दा भएको ठाउँमा त्यो नपसोस्। त्यसले आफ्ना बुबाआमाकै निम्ति पनि आफूलाई अशुद्ध नपारोस्;
[12] न त त्यसले पवित्रस्थानलाई छोडोस्, अथवा त्यसलाई दूषित पारोस्। किनकि परमेश्वरको अभिषेकको तेलले त्यसलाई अर्पण गरिएको छ। म नै याहवेह हुँ।
[13] “ ‘त्यसले विवाह गर्ने स्त्री कन्या हुनुपर्छ।
[14] त्यसले विधवा, त्यागिएकी स्त्री अथवा वेश्यावृत्तिद्वारा कलङ्कित स्त्रीलाई विवाह गर्नुहुँदैन। तर केवल आफ्नै जातिबाटको कन्यालाई मात्र विवाह गर्नुपर्छ।
[15] त्यसले आफ्ना जातिबीच आफ्ना सन्तानलाई अपवित्र नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”
[16] याहवेहले मोशालाई भन्नुभयो,
[17] “हारूनलाई भन्: ‘भावी पुस्ताका निम्ति तेरो सन्तानबाट खोट भएको कुनै व्यक्ति पनि आफ्नो परमेश्वरको भोजन चढाउनलाई नजिक नआओस्।
[18] यस्ता खोट भएका कुनै मानिस पनि नजिक नआओस्: दृष्टिविहीन, लङ्गडा, रूप बिग्रेको वा कुरूप;
[19] अपाङ्ग खुट्टा वा हात भएको मानिस,
[20] कुप्रो वा पुड्को वा आँखामा खोट भएको, छालामा आलो घाउ भएको वा अण्डकोष बिग्रेको।
[21] पुजारी हारूनको सन्तानमा कुनै पनि खोट भएको व्यक्ति याहवेहलाई आगोद्वारा चढाइने बलि चढाउन नजिक नआओस्। त्यसमा खोट हुनाले आफ्नो परमेश्वरको भोजन चढाउन नजिक नआओस्।
[22] तर त्यसले आफ्नो परमेश्वरको महा-पवित्र र पवित्र दुवै भोजन खान सक्छ।
[23] त्यसमा खोट भएको हुनाले त्यो मेरो पवित्रस्थानलाई दूषित पार्नलाई पर्दानिर अथवा वेदीको नजिक नआओस्। तिनीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।’ ”
[24] यसकारण मोशाले हारून र उनका छोराहरूलाई अनि सारा इस्राएलीहरूलाई यी कुरा सुनाए।