[1] याहवेहले मोशालाई भन्नुभयो,
[2] “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
[3] तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ।
[4] तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्नू। अनि मेरा उर्दीहरू होशियारीसाथ पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
[5] मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। किनकि ती पालन गर्ने मानिस त्यसैद्वारा जिउनेछ; म नै याहवेह हुँ।
[6] “ ‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको नातेदारसँग सहवास नगर्नू; म नै याहवेह हुँ।
[7] “ ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
[8] “ ‘तैँले आफ्नो बुबाको पत्नीसित सहवास नगर्नू; त्यसो गर्नाले तैँले आफ्ना बुबाको अपमान गर्छस्।
[9] “ ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू।
[10] “ ‘आफ्नो छोराको छोरीसित अथवा आफ्नी छोरीकी छोरीसित सहवास नगर्नू; त्यसले तेरो अपमान हुनेछ।
[11] “ ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो।
[12] “ ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो।
[13] “ ‘आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्नू; किनकि त्यो तेरी आमाकी नजिकको नातेदार हो।
[14] “ ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो।
[15] “ ‘आफ्नी बुहारीसित सहवास नगर्नू। त्यो तेरो छोराकी पत्नी हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
[16] “ ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ।
[17] “ ‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित सहवास नगर्नू। त्यसका छोराकी छोरीसित अथवा त्यसकी छोरीकी छोरीसित सहवास नगर्नू; ती नजिकका नातेदार हुन्। त्यो त दुष्टता हो।
[18] “ ‘आफ्नी पत्नीको जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्नू।
[19] “ ‘कुनै स्त्रीको रजस्वलाको अशुद्धिमा त्यस स्त्रीकहाँ सहवासको लागि नजानू।
[20] “ ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू।
[21] “ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।
[22] “ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो।
[23] “ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्टता हो।
[24] “ ‘तिमीहरूले यी कुराहरूमध्ये कुनैमा पनि आफूलाई अपवित्र नतुल्याउनू। किनकि तिमीहरूको सामु म जुन जातिहरूलाई बाहिर धपाउँदैछु, तिनीहरू यस्तै किसिमले आफूलाई अपवित्र बनाए।
[25] त्यो देशसमेत अपवित्र भयो। यसकारण मैले तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिएँ। अनि त्यस देशले आफ्ना देशवासीहरूलाई ओकलेर फालिदियो।
[26] तर तिमीहरूले मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। स्वदेशमा जन्मेका अथवा तिमीहरूसित बस्ने परदेशीहरूले यस्ता घिनलाग्दा कुनै पनि काम नगर्नू।
[27] किनकि यी घिनलाग्दा काम तिमीहरूभन्दा अगि त्यस ठाउँमा बस्ने मानिसहरूले गरेका थिए, र देश अपवित्र भयो।
[28] अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ।
[29] “ ‘यदि कसैले यीमध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।
[30] मैले राखेका विधिहरू पूरा गर्नू। अनि तिमीहरू आउनुभन्दा पहिले गरिएका घिनलाग्दा रीतिको अनुसरण नगर्नू। तिमीहरूले त्यस्ता कुराहरूसित आफूलाई अपवित्र नतुल्याउनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ”